काठमाडौं । नेपालमा खेर गइरहेको जैविक इन्धन (बायोमास) को ठूलो सम्भावना छ । यसको उचित व्यवस्थापन र सदुपयोग गर्न सकिएमा अर्थतन्त्रलाई महत्वपूर्ण रूपमा लाभ दिन सक्छ । तर, हाल नेपालमा अधिकांश बायोमास परम्परागत रूपमा भान्साको इन्धन र चौपायाको आहाराका रूपमा मात्र प्रयोग हुँदै आएको छ । नगरपालिकाको फोहोरलाई खुला ठाउँमा थुपार्ने र जलाउने प्रचलनले पारिस्थितिकीय प्रणालीलाई गम्भीर असर पारिरहेको छ । उप-प्राध्यापक सागर काफ्लेको नेतृत्वमा नेपाल, जर्मनी, नेदरल्याण्ड्स र अमेरिकाका अन्वेषकहरूले नेपालमा फोहोर बायोमासको सम्भावनालाई उजागर गर्दै त्यसलाई बहुमूल्य वस्तुमा परिणत गर्ने अवसर र चुनौतीहरूलाई प्रष्ट पारेका छन् ।
यो अध्ययन हालै ‘रिजनल इन्भाइरोमेन्टल चेन्ज’ जर्नलमा प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक र हाल अमेरिकाको अबर्न विश्वविद्यालयमा पिएचडी विद्यार्थी रहनुभएका काफ्ले भन्नुहुन्छ, ‘हाम्रो अध्ययनले नेपालमा कृषि, शहरी, पशुपालन, चराचुरुंगी र मानव गतिविधिबाट हरेक वर्ष करिब आठ करोड ९० लाख टन बायोमास निस्कने सम्भावना देखाएको छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘हामीले यस्तो बायोमास नेपालको जिल्ला, प्रदेश तथा भौगोलिक क्षेत्रगत तहमा सम्भावनाका चुनौतीको अध्ययन गरेका छौँ ।’
भौगोलिक क्षेत्रका आधारमा विशेषगरी तराई क्षेत्र, प्रादेशिक हिसाबमा कोशी प्रदेशमा र जिल्लाको तहमा मोरङमा बायोमासको अपार सम्भावना रहेको पनि अध्ययनले देखाएको छ । अध्ययनका सह-लेखक तथा अमेरिकाको अबर्न विश्वविद्यालयका प्रा.डा. सुशील अधिकारीले फोहोर जैविक पदार्थबाट इन्धन, पशु आहारा, मल तथा बायोचार उत्पादन गर्ने सम्भावनालाई प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, ‘बायोमासबाट उत्पादन हुने प्यालेट्स र ब्रिकेटले इँटाभट्टा र सिमेन्ट उद्योगमा कोइला प्रतिस्थापन गर्न सक्छ, जसले देशको कार्बन उत्सर्जनलाई ५२ प्रतिशतसम्म घटाउन र ऊर्जा खपतको १२ प्रतिशतसम्म पूरा गर्न मद्दत पुर्याउँछ ।’ अधिकारीले खेर गइरहेको बालीको अवशेषबाट फिड ब्लक बनाए पशुपालन उद्योगलाई पनि फाइदा पुर्याउन सकिने बताउनुभयो ।
साथै, बायोमासबाट उत्पादन गरिने बायोग्यासले आयातित एलपिजी ग्याँसको आवश्यकता घटाउन सक्ने र बायोग्याँसका साथ उत्पादन हुने पोषक तत्वयुक्त जैविक मलको प्रयोगले रासायनिक मलको प्रयोग कम गर्न सकिने पनि उहाँले बताउनुभयो । नेदरल्याण्डस्थित ग्रोनिङन विश्वविद्यालयका उप-प्राध्यापक डा. प्रजल प्रधानले अध्ययनका नीतिगत उपयोगिताबारेमा जोड दिँदै भन्नुभयो, ‘देशभरि बायोमासको सम्भावना र उपलब्धताका स्थानविशेष तथ्यांकहरूको अभावले योजनामा समस्या आएको छ । साथै, भौगोलिक जटिलताका कारण कच्चा पदार्थ र उत्पादनको ढुवानीमा चुनौतीहरू छन् ।’ उहाँले लगानी र बजारमा अस्थिरता, अपर्याप्त नीति र कमजोर अन्तरकार्यालय समन्वयले बायोमासमा आधारित उद्योगहरूलाई प्रवद्र्धन गर्न कठिनाइ भएको बताउनुभयो । साथै उहाँले नेपालमा जैविक फोहोरलाई सदुपयोग गर्न यी चुनौतीहरूलाई समाधान गर्नु अति आवश्यक रहेको बताउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच