काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्यपदक दिलाउनुभएको छ । पेरिस पारा ओलम्पिक २०२४ अन्तर्गत शुक्रबार राति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कांस्य जित्नुभएको हो । पारलम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।
शुक्रबार नै भएको पहिलो चरणको खेलमा उहाँले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउनुभएको थियो । तर, क्वार्टर फाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित हुनुभयो । पारा ओलम्पिक अपांगता भएका खेलाडीहरूले खेल्ने प्रतियोगिता हो ।
रिपाचेजको मौकाले जित
दोस्रो चरणमा पराजित भएका कारण उहाँले रिपाचेज (कांस्य पदकको ढोका)मा मौका पाउनुभएको थियो । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उहाँ कांस्यनजिक पुग्नुभएको थियो । अन्तिम आठमा पराजित भएपछि उहाँले रिपाचेजमा मौका पाउनुभएको थियो । जसमा पहिलो खेलमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उहाँ कांस्यनजिक पुग्नुभएको थियो । कांस्यको भिडन्तमा उहाँले सर्वियन खेलाडीलाई पराजित गरेसँगै इतिहास रच्न सफल हुनुभयो ।
‘पलेशाको उद्देश्य स्वर्ण जित्नु थियो । क्वार्टर फाइनलमा हारेपछि त्यो यात्रा रोकियो । तर, उहाँ हतोत्साहित हुनुभएन र तुरुन्तै कांस्य पदकको खेलको लागि केन्द्रित भइहाल्नुभयो, पलेशाका प्रशिक्षक कविराज नेगीले भन्नुभयो ।
गत चैतमा चीनको ताइयानमा भएको पारलम्पिकको एसियाली छनोट प्रतियोगितामा उहाँले स्वर्णपदक जित्दै पेरिस पारलम्पिकमा छनोट हुनुभएको थियो । छनोट चरण पार गर्दै पारलम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हो । उहाँ चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक विजेता हुनुहुन्छ ।
पदक जित्ने पहिलो नेपाली खेलाडी
नेपालले सन् २००४ को एथेन्ज पारलम्पिकदेखि पारलम्पिकमा सहभागिता जनाउन थालेको हो । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थाल्नुभएकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध हुनुभएको थियो । त्यसयता उहाँले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसक्नु भएको छ । पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालम्पिक गेम्सको टेष्ट इभेन्टमा पाँचौँ स्थान हासिल गर्नुभएको थियो । यसैगरी, सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गर्नुभएकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाउनुभएको थियो । पारलम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी हुनुभएको छ । नेपाली खेलकुदको ६ दशक लामो इतिहासमा कुनै पनि खेलाडीले ओलिम्पिकमा पदक जित्न सकेका थिएनन् । ‘पदक जित्ने आत्मविश्वास थियो । त्यसलाई पूरा गर्न सकेँ । यो देशको पदक हो’, पलेशाले भन्नुभयो ।
पदक मेरो लागि हैन, देशको लागि हो : पलेशा
पेरिस पारलम्पिक २०२४ मा कांस्य पदक जित्नुभएकी पलेशाले इतिहास रचेपश्चात् आफ्नो पदकलाई सम्पूर्ण राष्ट्र र नेपाली जनतालाई समर्पित गर्नुभएको छ । पदक जितेपश्चात् पलेशाले आफूलाई समर्थकले दिएको साथ, माया र देखाएको विश्वासका लागि धन्यवाद दिँदै खुसी साट्नुभएको छ ।
‘यो पदक मेरो लागि हैन, पूरा देशको लागि हो । सबै नेपालीको लागि हो । मिहिनेत गरेअनुसार राष्ट्रको लागि कांस्यपदक जित्न सफल भएका छौँ । हामी गर्वका साथ भन्न सक्छौँ कि पारलम्पिकमा हामीसँग पनि एउटा पदक छ । यो पदक मबाट आएकोमा म निकै खुसी छु’, उहाँले भन्नुभएको छ । उहाँले अगाडि भन्नुभएको छ, ‘सबैले धेरै अपेक्षा गर्नुभएको थियो कि मैले पदक ल्याउन सक्छु । पदक ल्याउन सक्ने क्षमता छ भनेर, म निकै खुसी छु कि उहाँहरूको आशा र समर्थनका बदलामा एउटा ठूलो उपहार दिन पाएको छु ।’
सानै टोली भए पनि एउटा कांस्य पदक जितेर नेपालको पारातेक्वान्दो टोलीले आफ्नो क्षमता देखाएको उहाँले बताउनुभयो । ‘हामी तीन खेलाडीको साथ सहभागी भएको थियौँ । जसमा पनि हामीले एउटा कांस्य पदक ल्याउन सफल भयौँ । यो हाम्रो लागि ठूलो उपलब्धि हो । यसले हामी सक्षम भएको दर्शाउँछ । लगानी गरेमा हामीले अझै धेरै पदक ल्याउन सक्छौँ भन्ने आशा छ,’ उहाँले भन्नुभएको छ ।
६५ लाख नगद पुरस्कार पाउने
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउनुहुने छ । व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल÷गृष्मकालीन/शीतकालीन/पारा/विशेष तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने नियमावलीमा उल्लेख छ । सोहीअनुसार पलेशाले ६५ लाख रुपैयाँ पुरस्कार पाउनुहुने छ । साथै, उहाँका प्रशिक्षकले पाँच लाख र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । राखेप नियमावली २०७९ अनुसार व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीले एक करोड ३० लाख र रजत जित्ने खेलाडीले ९७ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सांघाईको तोङजी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययनरत
पलेशा हाल चीनको सांघाईको तोङजी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययनरत हुनुहुन्छ । उहाँ काठमाडौंको बागबजारकी स्थायी बासिन्दा हुनुहुन्छ । उहाँको जन्मिँदै बायाँ हातको कुहिनामुनिको भाग थिएन । विद्यालयस्तरदेखि नै तेक्वान्दोमा आकर्षित हुनुभएकी २० वर्षीय पलेशाले सन् २०१६ देखि पारा तेक्वान्दो खेल थाल्नुभएको हो । त्यसपछि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुभएकी उहाँले दर्जनौँ अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ ।
पारलम्पिकमा नेपालका तीन खेलाडी
पेरिस पारलम्पिकमा नेपालका तीन खेलाडीले भाग लिएका छन् । त्यसमा बिहीबार तेक्वान्दोकै भरतसिंह महता पराजित भएर बाहिरिनुभएको थियो । उहाँ पहिलो खेलमै जापानका मित्सुया तानाकासँग १९-३ ले पराजित हुनुभएको थियो । पलेशा र भरत दुवैले बेलायतमा एक महिना विशेष प्रशिक्षण गरेर पेरिस जानुभएको हो । उहाँहरूको साथमा प्रशिक्षक कविराज नेगी लामा पनि जानुभएको थियो । पौडीका भीमबहादुर कुमालको खेल सेप्टेम्बर २ मा रहेको छ । उहाँले एस ९ क्याटगोरीको ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुहुने छ । तेक्वान्दोसहित नेपाली पारलम्पिक टोली सेप्टेम्बर ४ तारिख नेपाल आइपुग्ने छन् । पेरिस पारालम्पिकमा नेपालबाट पौडीका भीमबहादुर कुमालले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ ।
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बधाई
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले पारालम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ । राष्ट्रपति पौडेलले समाजिक सञ्जालमार्फत ऐतिहासिक कांस्य पदक विजेता गोवर्धनलाई बधाई दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कांस्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो ।’ यस्तै, प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिनुभएको हो । त्यस्तै, अन्य दलका नेता तथा विभिन्न व्यक्तित्वहरूले ऐतिहासिक जितका लागि पलेशालाई बधाई दिएका छन् । यस्तै, राष्ट्रिय अपांग महासंघ नेपालले पनि पलेशालाई बधाई दिएको छ । महासंघका महासचिव सुगम भट्टराईले एक विज्ञप्ति जारी गर्दै पलेशालाई बधाई तथा शुभकामना दिनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच