कृषि लगानी दशकलाई साथ दिन आग्रह

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका पक्षमा इमान्दारीसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुक्तिनाथ कृषि कम्पनीको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले गाउँमै फर्किएर कृषिकर्म गर्न अभिप्रेरित गर्ने कार्य गरेकोमा कम्पनीको प्रशंसासमेत गर्नुभयो । कृषि क्षेत्रमा वार्षिक बजेट बढाउन आवश्यक छ भन्दै उहाँले कृषिको व्यावसायीकरणमा प्रविधि, पूर्वाधार, जनशक्ति तथा बजार प्रमुख भएकाले सो क्षेत्रमा व्यवस्थित र रणनीतिक लगानीमा जोड दिनुभयो । सरकारले घोषणा गरेको कृषिमा लगानी दशक सफल बनाउने दायित्व निजी क्षेत्रको समेत भएको मन्त्री अधिकारीले बताउनुभयो ।

उहाँले स्थानीय तहबाटै उत्पादन क्षेत्र घोषणा गर्ने, कृषिको रूपान्तरणका लागि प्रमुख बालीको पूर्वाधार छनोट गर्ने, कृषिमा लगानी दशक कार्यक्रम कार्यान्वयन कार्ययोजना तयार गर्ने र सोको कार्यान्वयनका लागि सार्वजनिक सहकारी र निजी लगानी केन्द्रित गर्नु अपरिहार्य रहेको बताउनुभयो ।

निजीस्तरबाट कृषिमा काम गर्ने कम्पनीहरूको भूमिका खासगरी कृषिको डिजिटलाइजेसन, कृषि उत्पादनको बजारीकरण, कृषि उपजको प्रशोधन र निर्यातमा ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री अधिकारीले लगानी दशकले वर्तमान शासकीय संरचनाका तीनवटै तह, कृषक, सहकारी, निजी क्षेत्र, विकास साझेदारको लगानी कृषि क्षेत्रको व्यावसायीकरणमा केन्द्रित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

रैथाने बाली संरक्षणमा पूर्वराष्ट्रपतिको जोड
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले रैथाने बिउ, बाली हराउँदै जान थालेको भन्दै संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । रैथाने एग्रो प्रोडक्ट्स नेपाल टोखा ४ ले प्रत्येक शनिबार दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो । रैथाने बिउ, बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने भएकाले सरोकार भएका निकायको ध्यान यसतर्फ जानुपर्ने उहाँको सुझाव थियो । चुरे क्षेत्र विनाशले तराईमा पानी कम भई खानेपानीकै अभाव भएकाले कृषिकर्मका लागि त झन् समस्या हुन थालेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो । चुरे संरक्षण नगरी सडकलगायत काम गर्दा नेपालमै राम्रो अन्न उत्पादन हुने तराई क्षेत्र उजाड बन्ने खतरा देखिन थालेको उहाँले बताउनुभयो ।

सो अवसरमा रैथाने एग्रो प्रोडक्ट्स नेपालका अध्यक्ष तिलक ढकालले उपभोक्ताले स्वस्थ एवं अर्गानिक उत्पादन पाऊन् भन्ने उद्देश्यले प्रत्येक शनिबार दरबारमार्गस्थित ओरियन क्याफेमा मेला आयोजना गर्ने गरिएको जानकारी गराउनुभएको थियो । साप्ताहिक रूपमा सञ्चालन हुने मेलामा रैथाने उत्पादनको बिक्रीवितरण हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *