केही दिन पहिले संघीय संसद्मा ‘हिंसा’को सन्दर्भलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच वादविवाद भयो । माननीय योगेश भट्टराईले बोल्ने क्रममा ‘हिंसा’ शब्द प्रयोग गर्नुभएको सन्दर्भलाई लिएर माओवादीका सांसदहरूले त्यसको प्रतिवाद गरे । सभामुखले हिंसा शब्दको प्रयोग र परिभाषालाई लिएर यसबारे निक्र्यौल गर्दै गरौंला हाललाई सदनको काम कारबाही अगाडि बढाऔं भनेर कामकारबाही रोक्नु भएन सुचारु गर्नुभयो । प्रतिपक्षी माओवादी सांसदहरूको नियमापत्तिलाई पनि बोल्ने मौका दिएर अगाडि बढ्नुभयो भने बोलिरहनुभएका सांसद भट्टराईलाई बाँकी भनाइ टुंग्याउने समय दिनुभयो । हिंसा शब्दले भने त्यहाँ दोहोरीको रूप लियो । बोल्न नदिनु पनि हिंसा हो भन्ने निष्कर्ष भट्टराईको रहृयो भने शान्ति प्रक्रियाबाट टुंगोमा पुगेको यस विषयलाई हिंसा भन्न पाइँदैन भन्ने माओवादी सांसदहरूको मत रहेको थियो ।
हिंसा शब्दको भावुक परिभाष गर्ने हो भने योगेश भट्टराईले भनेको बोल्न नदिने अर्काको चित्त दुखाउने, हेप्ने जस्ता व्यवहार सबै हिंसा हुन् । यस्ता सामान्य हिंसाहरू हामीले हाम्रो दैनिक व्यवहार घरपरिवारमा पनि सधैं व्यहोरिरहेका हुन्छौं । नेपाली बृहत् शब्दकोशले पनि अरूलाई कुनै किसिमबाट पीडा दिने वा हानि पु¥याउने काम, अपकार वा निन्दालाई हिंसा भनेर परिभाषा गरेको छ । यसैगरी प्राणीहरूको ज्यान लिने वा काटमार गर्ने काम हत्या वध भनेर परिभाषा गरेको छ । यस अर्थमा हिंसा भनेको के हो वा के होइन भनेर तर्क गहिरिनुपर्ने अवस्था छैन । बाबुआमाले छोराछोरीलाई गरेको गाली, लोग्नेस्वास्नी वा दाजुभाइबीच भएको मतमतान्तर शिक्षकले विद्यार्थीलाई हप्काएको सन्दर्भ सबै हिंसाका रूपमा परिभाषित हुनसक्ने भए ।
त्यसकारण योगेश भट्टराईले भन्नुभएको बोल्न नदिनु पनि हिंसा हो भन्ने तर्क सही देखिन आउँछ । हामीले बुझ्ने गरेको हिंसा भनेको काटमार जस्ता जघन्य व्यवहारबाट रक्त प्रवाह भएको अवस्था भन्ने बुझिन्छ । माओवादी सशस्त्र विद्रोहका बेला हजारौं रक्तमुछेल घटना भएका थिए । दोहोरो भिडन्तमा त्यसो हुनुलाई स्वाभाविक मान्ने हो भने पनि कतिपय घटना त समातेर रूखमा वा भलिबलको पोलमा बाँधेर घाँटी रेटी-रेटी गराइएका थिए । द्वन्द्वले थप क्षति नहोस् भनेर एउटा निश्चित शान्ति प्रक्रियामा पुग्नुपर्ने अवस्था आएपछि सरकार र विद्रोही दुवै पक्षका ज्यादतीलाई थाती राखी अनमिनसमेत आएर त्यसको निरुपण गरिएको थियो ।
बाँकी निक्र्यौलपछि सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर गर्ने भनिएकोमा दुवै पक्षका अनेकौं कमजोरी देखिने भएकाले त्यसलाई अलमल गर्दागर्दै आठार वर्ष बिताइएको छ । बेलाबेलामा यसको चर्चा हुन छाडेको छैन तर रचनात्मक प्रयास पनि भएको छैन । संविधानसभाबाट संविधान बनाउने क्रममा पनि ‘जनयुद्ध’ भन्नुपर्छ भनेर माओवादी पार्टीले जोडदार माग र प्रयास गरेको थियो तर अरूले यसलाई स्वीकार गरेनन् । लामो समयको छलफल र रस्साकस्सीपछि माओवादीले ‘महान् जनयुद्ध’ भन्ने र अरूले ‘अराजक हिंसा’ भन्ने गरेको यस क्रन्तिलाई ‘सशस्त्र विद्रोह’ भन्ने भनेर सहमति भएको थियो । सोहीअनुसार अहिलेसम्म उक्त, क्रान्तिलाई ‘सशस्त्र विद्रोह’ भन्ने गरिएको छ ।
आधिकारिक रूपमै १७ हजार मानिस मारिएका, धेरै संख्यामा बेपत्ता भएका र ठूलो संख्यामा अन्धअपांग भएको उक्त विद्रोहमा हिंसा भएको छ कि हिंसाविनै त्यत्रो विद्रोह भएको थियो भनिरहनै पर्दैन तर अहिले पनि त्यही विषयलाई चर्काइरहने हो भने राजनीति र सामाजिक गतिविधिमा यसले कुनै नकारात्मक प्रभाव पार्दैन भन्ने होइन । पीडितहरूले पनि कुण्ठित भएर बस्नु र सहनु परिरहेको अवस्था छ । त्यो राज्य पक्षबाट पीडित होस् वा विद्रोही पक्षबाट पीडित होस् । राजनीतिक पार्टीहरू काममा लागून्, कुनै रचनात्मक र जनताले पनि फलानो पार्टीले कस्तो राम्रो काम गर्यो भनेर देखिने काम गरून् । शब्दको उल्झन् ठूलो कुरा होइन ।
हिंसा शब्दको अर्थ के हो र कसले सही तर्क गरेका छन् र कसले गलत अर्थमा यसको अपव्याख्या गरेका छन् भन्ने विषय जनताका लागि त्यति प्रभावकारी नहोला जति तिनका लागि राहतको व्यवस्था हुन्छ, तिनका गाउँमा बिजुली बल्छ, तिनका गाउँमा बाटो बन्छ, तिनले आफ्नो खेतमा पानी लगाउन नहर पैनीहरू सरकारले बनाइदिन्छ वा आफ्नो खेतीप्रणालीका लागि सरकारबाट मल, बिउ, किटनासक औषधि र कृषिउपकरण पाउँछन् । माननीयज्यूहरूले यसतर्फ सोच्नुपर्छ । संसद्मा तपाईंहरूले कोतर्फ औंलो उठाउनुभयो त्यसको समर्थन वा विरोधमा नेपाली जनता अल्मलिँदैनन् र त्यसलाई जनताले विकासका रूपमा हेर्दैनन् । जनयुद्ध भनियोस् वा जनविद्रोह भनियोस् वा सशस्त्र विद्रोह भनियोस् त्यो शब्दको उल्झन् हो । हिंसा भन्ने कि नभन्ने त्यो पनि उल्झन्मात्र हो ।
तर, माननीय योगेश भट्टराईलाई जनकारबाही गर्नेगरी भएको निर्णयले के अर्थ राख्छ त्यो अर्को अपरिभाषित सन्दर्भ हो । सशस्त्र विद्रोह भइरहेका दिनमा माओवादीहरू जब द्वन्द्वमा हुनुहुन्थ्यो त्यसबेलाको जस्तो जनअदालत, जनकारबाही, श्रमशिविर, भाटेकारबाही, पुरानो सत्ता, नयाँ सत्ता आजका दिनमा पनि विद्यमान हुनुपर्ने हो र ? त्यसो हो भने शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लक्ष प्राप्ति हुनसक्ला र ? त्यो विचारणीय छ । अर्कातिर हिंसा के हो र के होइन भनेर संघीय संसद्मा जुहारी चलिरहँदा पाँचथरको फलेबुङमा बारीमा भेटिएको बमलाई खेलौना ठानेर खेलाउँदा त्यो विष्फोट हुन गई दुईजना अबोध नानीहरूको दुःखद् निधन हुन पुगेको छ । एकै परिवारका दाजुबहिनी दिप्सन साँवा र प्रिन्सा सावाँको मृत्युको जवाफ अब सबैले खोज्नुपर्छ त्यो हिंसा हो कि होइन र त्यसको पृष्ठभूमिमा कुन सन्दर्भको विद्यमानता थियो भनेर ।
प्राचीन कालदेखि नै शिक्षाका लागि जनकपुरधाम उर्वर भूमि मानिन्छ । व्यास, पाणिनी, अष्टावक्रलगायत ऋषि र प्रसिद्ध कवि विद्यापतिको ज्ञान भूमिको रूपमा जनकपुर परिचित छ । राजर्षि जनकले विभिन्न ऋषिसँग शास्त्रार्थ गर्ने क्रममा जनकपुरधाममा जति ज्ञान प्राप्त गरे, त्यसलाई जनकदर्शन भनिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच