भोजपुर । जिल्लामा परम्परागत रूपमा गरिँदै आएको चौरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको हो ।
चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय सङ्कटमा पर्दै गएको किसान बताउँछन् । दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको सङ्ख्यामा हुने चौरीगोठ अहिले आठ/दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रविन राईले बताउनुभयो । पछिल्लो समयमा चौँरीपालक कृषकको मुख्य समस्या चरन क्षेत्र बनेको उहाँको भनाइ छ ।
आम्दानीको राम्रो स्रोतका रूपमा रहे पनि विभिन्न समस्याका कारण बर्सेनि किसानको चाैरीपालनतर्फ आकर्षण घट्दै गएको उहाँको भनाइ छ । सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको किसान राईले बताउनुभयो । चौँरीलाई चरनका लागि प्रशस्त घाँसेमैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको उहाँको भनाइ छ ।
“चौरीको दूधबाट बन्ने सामग्रीको बजारमा राम्रो माग छ”, किसान राईले भन्नुभयो, “तर चौरीपालन गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ । किसानको मुख्य समस्या नै चरन क्षेत्र बनेको छ । चरन अभाव हुँदा व्यवसाय नै सङ्कटमा पर्ने अवस्था छ ।” यो व्यवसायबाट वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी हुने उहाँको भनाइ छ । “व्यावसायिक चौँरीपालनमा धेरै चुनौती छन्”, राईले भन्नुभयो, “लेकाली भेगमा पालन गर्नुपर्ने व्यवसाय भएकाले दुःखकष्ट धेरै सामना गर्नुपर्छ । आम्दानी राम्रो हुने भए पनि पछिल्लो समय धेरैले यो व्यवसाय छाडेको अवस्था छ ।”
चौँरीको दूधबाट उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने किसानको भनाइ छ । चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईले बताउनुभयो । नौनी घ्यू गोठबाट धार्नीको रु दुई हजार पाँच सयमा बिक्री हुँदै आएको गोठवालाहरूको भनाइ छ । छुर्पी प्रतिकेजी रु आठदेखि एक हजारसम्म बिक्री हुने गरेको छ । यहाँको मैयुङडाँडा, सिलिचुङ साउनेडाँडालगायत माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुने गरेको छ । चौँरीलाई किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम सुरु भएपछि गाउँघरका खेतबारीमा झर्ने गरेका छन् ।
चरन अभावमा बाउबाजेको पालाबाट गरी आएको चाैरीपालन व्यवसाय सङ्टकमा पर्दै गएको किसान विमल राईले बताउनुभयो । चरनका लागि एक दिनमा चौँरीले सरदरमा १२ देखि १५ किलोमिटर घुम्ने उहाँको भनाइ छ । सीमित ठाउँमा चराउँदा घाँस अभाव तथा सहज रूपमा घुम्न नपाउँदा चाँैरी नफस्टाउने उहाँले बताउनुभयो । चरन क्षेत्र अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपर्दा धेरैले व्यवसाय छाड्दै गएको राई बताउनुहुन्छ ।
पछिल्लो समय चौरीका लागि चाहिने पोषिलो घाँस मासिँदै गएको अवस्था छ । यसले पनि व्यवसायमा असर पुगेको छ । चौरीको चरन क्षेत्रको व्यवस्थापनमा पहल हुनुपर्ने यहाँका किसानको माग छ । चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्रको पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञहरूको भनाइ छ । पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा जन्मिएका बाछाबाछी चौँरी हुन् । चौँरी गाई तथा याकलाई रिसाहा जनावरका रूपमा पनि लिने गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच