काठमाडौं । ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण-२०२४’ को उपाधि दिक्छेन तामाङ र मर्जेन तामाङले जित्नुभएको छ । युथ क्रियसनद्वारा आयोजित प्रतियोगितामा दश प्रतिस्पर्धीलाई उछिन्दै उहाँहरूले क्रमशः बालिका र बालकतर्फ ‘फेस अफ तामाङ किड्स’को शीर्ष उपाधि चुम्नुभएको हो ।
प्रतियोगिताअन्तर्गत बालिकातर्फको प्रतिस्पर्धामा साम्देन थिङ ‘फष्ट रनर अप’ र किन्जु डोमा तामाङ ‘सेकेण्ड रनर अप’ तथा बालकतर्फ आरोज तामाङ ‘फष्ट रनर अप’ र सिद्धान्त तामाङ ‘सेकेण्ड रनर अप’ हुनुभयो ।
प्रतियोगिताका सहभागीले करिब एक महिनासम्म रोजिन शाक्यको फेशन कोरियोग्राफी र नृत्य निर्देशक एमबी गुरुङबाट प्रशिक्षण लिएका थिए । प्रतियोगिताको फिनालेमा अमिता दोङ, सुयोग तामाङ र रञ्जिता तामाङ निर्णायक हुनुहुन्थ्यो ।
फिनालेमा पूर्वमन्त्री परशुराम तामाङ प्रमुख अतिथि र मिलन मोक्तान तथा पञ्चालाल घिसिङ विशेष अतिथि हुनुहुन्थयो । कार्यक्रममा तामाङ समुदायसँगै राष्ट्रिय आयामका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
युथ क्रिएसनका प्रमुख रवि लामा तामाङले बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता गरिएको बताउनुभयो ।