काठमाडौं । सत्ताईसजना लेखकहरूको संयुक्त विचारसंग्रह ‘अबको बाटो’ लोकार्पण गरिएको छ । बेलायतमा बसेर नेपाली भाषा साहित्यमा सक्रिय भरतकुमार श्रेष्ठद्वारा सम्पादित अबको बाटोको प्रकाशन शिखा बुक्सले गरेको हो भने सम्पादनमा सहजीकरण दायित्व वाङ्मय प्रतिष्ठान र यसका अध्यक्ष रामप्रसाद पन्तले गर्नुभएको छ ।
प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक कार्यक्रमबीच अबको बाटोको लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले नेपालको भविष्यप्रति चिन्ता गर्दै सम्भावना देखाइएको यो कृति महत्वपूर्ण रहेको विचार प्रकट गर्नुभएको थियो ।
सत्ताइसजना लेखकहरूको संयुक्त विचारसंग्रह अबको बाटो सार्वजनिक भएको छ । भरतकुमार श्रेष्ठद्वारा सम्पादित अबको बाटोको प्रकाशन शिखा बुक्सले गरेको हो । नेपालको भविष्यप्रति चिन्ता गर्दै सम्भावना देखाइएको यो कृति महत्वपूर्ण छ ।
कृतिमाथि चारजना राजनीतिक व्यक्तित्वहरूले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालभित्र अनेक स्रोत र सम्भावना भए पनि तिनको सही उपयोग गर्न नसकिएको होला तर हामीले निरन्तर देशका विषयमा प्रशस्त चिन्तन र चिन्ता गरिरहेको बताउनुभयो । ‘देशको विकास गर्न पहिले प्रणालीमा स्थायित्व, सरकारको भरपर्दो समयावधि र राजनीतिक इच्छाशक्ति जरुरी छ । हामी सदा यसमा आशावादी छौं’, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा संघीय सांसद जीवन परियारले जनतामा पहिले विश्वास जगाउनुपर्ने, आमनागरिकलाई नेतृत्वप्रति सकारात्मक बनाउनुपर्ने, जनताका सामान्य आवश्यकतालाई स्वस्थ तरिकाले पूरा गर्न पहल गर्नुपर्ने बताउनुहुँदै इमानदारीपूर्वक विकास अभियान आजको आवश्यकता भएको स्पष्ट पार्नु भएको थियो ।
यस्तै, नेपाली कांग्रेस केन्द्रीय सदस्य बुद्धिजीवी विभागकी प्रमुख पूर्वसांसद डा.डिला संग्रौलाले निष्ठापूर्वक राजनीतिक नेतृत्व अग्रसर भएमा नेपालको र नेपालीहरूको भविष्य अत्यन्त उत्साहजनक हुने विचार राख्नुभएको थियो । कार्यक्रममा एमाले नेतृ तथा संविधानसभा सदस्य उषाकला राईले प्रचुर स्रोतसाधन रहे पनि योजनाबद्ध रूपमा र सही दृष्टिकोणकासाथ उपयोग हुन नसकेको हुनाले अनेक प्रश्नहरू उठेका भए पनि सबै समस्याको समाधान गर्ने सामथ्र्य नेपालीहरूसँग रहेको छ भन्दै हामीसँग विद्यमान स्रोतहरू सही परिचालनको आवश्यकता रहेको धारणा राख्नुभयो ।
लेखकहरूमध्येबाट डा.चन्द्रमणि अधिकारी र वरिष्ठ पत्रकार हिमालय टाइम्सका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहालले मन्तव्य प्रकट गर्नुभएको थियो । डा.अधिकारीको विचारमा नेपालको प्राथिमकता कृषि नै हो भने दाहालका विचारमा आवास प्रणाली परिवर्तन गरी नेपालको विकास भविष्यको थालनी हुनुपर्छ भन्ने थियो ।
शिखा बुक्सका कार्यकारी निर्देशक पुष्प पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको स्वागत मन्तव्य र भरतकुमार श्रेष्ठको सम्पादकीय मन्तव्य रहेको थियो । सो अवसरमा लेखक तथा अतिथिहरूलाई सम्मानितसमेत गरिएको थियो ।
कृतिमा प्राडा.जयराज आचार्य, प्रख्यात साहित्यकार कृष्ण धरावासी, लेखक जीवा लामिछाने, डा.प्रदीप लामिछाने, प्राडा.वीणा पौडेल, सुरक्षाविद् शिवजी श्रेष्ठ, प्रा.पुरुषोत्तम दाहाल, प्राडा.ढुण्डीराज पौडेल, प्रा.ज्ञानु अधिकारी, विजय हितान, साहित्यकार रामप्रसाद पन्त, श्यामसुन्दर श्रेष्ठ, प्राडा.सुरेन्द्र केसी, विश्वभक्त दुलाल, मनोज काफ्ले, महावीर पुन, डा.चन्द्रमणि अधिकारी, पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठ, डा.प्रकाश बुढाथोकी, रमेश नेपाल, प्राडा.विद्यानाथ कोइराला, डिलबहादुर पुर्जा पुन, गणेश थापा, डा.होमबहादुर बस्नेत, डा.मिलन ज्ञवाली, डा.नेत्र तिमल्सिना, भरतकुमार श्रेष्ठ विवशका विचारसहित पूर्वप्रधानन्यायधीश अनुपराज शर्माको शुभकामना छ ।