काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाहृय सूचक सकारात्मक रहेको भन्दै आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न सरकार तयार रहेको बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएको र सोही कारण पुँजी बजार, रियलस्टेट ऋण प्रवाह बढ्दै गएको बताउनुभयो । सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हाम्रो आर्थिक र वित्तीय सूचक सकारात्मक बन्दै गए पनि आमलगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ । तथापि केही समयअघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको छ ।’ आफूले चाहे जसरी अर्थतन्त्रको शिथिलता कम नभएको उल्लेख गर्दै सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको उहाँले बताउनुभयो ।
मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेकाले नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने दाबी गर्नुभयो । एक वर्षमा तीनजना अर्थमन्त्री फेरिने अवस्था अन्त्यका लागि वर्तमान सरकार आएकोे भन्दै उहाँले निजी क्षेत्रले पनि अब गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्ने बताउनुभयो । निजी क्षेत्र गुनासोभन्दा पनि सरकारलाई सहयोग गर्न लाग्नुपर्ने अर्थमन्त्रीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अब निजी क्षेत्र गुनासोबाट बाहिर आउनुपर्छ । सरकार तपाईंहरूका सबै गुनासो सुन्न र समाधान गर्न तयार छ, निजी क्षेत्र लगानी बढाएर उत्पादन तथा रोजगारीका क्षेत्रमा केन्द्रित हुनुपर्छ ।’ चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तुलनात्मक रूपमा लचिलो रहेको र अर्थतन्त्रका समस्या समाधान गर्न केन्द्रित रहेको पनि उहाँले बताउनुभयो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचक सहज बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाहृय क्षेत्र सहज हुँदै गएको छ । मुद्रास्फीति घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटोमोबाइल र पुँजी बजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ, चालु आर्थिक वर्षबाट नयाँ ढंगले अर्थतन्त्र चलायमान हुन्छ । हाम्रो प्रणालीमा के-के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रूपमा समाधान गर्दै जानेछौंँ ।’
तर, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयकमा भएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको बताउनुभएको छ । बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्न सक्ने उहाँको दाबी थियो । अध्यक्ष ढकालले भन्नुभयो, ‘बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थामा संस्थापक र ऋणी छुट्याउनुपर्ने भन्ने व्यवस्था संशोधनीय छ, अख्तियार र सतर्कता केन्द्रले निजी क्षेत्रको नियमन अनुगमन गर्ने व्यवस्था ल्याउँदा त्यसले थप समस्या पार्छ ।’ निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी चाँडो गरिनुपर्ने, भारतसँगका सीमा नाकामा हुने अवैध आयात तथा कारोबार रोकिनुपर्ने, भारतीय पर्यटकले नेपालमा बोक्न मिल्ने नगदसम्बन्धी व्यवस्था थप लचिलो बनाइनुपर्ने उहाँको सुझाव थियो । नेपाल उद्योग परिसंघ(सिएनआई) अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाहृय क्षेत्र सन्तुलनमा छ । बजारमा तरलता पर्याप्त छ, ब्याजदर पनि घटेको छ तर अहिले आयात र निर्यात घटेको छ । यसको अर्थ बजारमा माग बढ्न सकेको छैन भन्ने हो ।’ अर्थतन्त्र सुधारका लागि उत्पादन क्षेत्रमा सुधार गरी आन्तरिक माग बढ्नुपर्ने, सरकारको वार्षिक बजेट प्रभावकारी कार्यान्वयन हुनुपर्ने, लक्षित आर्थिक वृद्धिदर हासिल गर्न पुँजीगत खर्च बढाउनुपर्ने, निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी चाँडो हुनुपर्ने, दिगो पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव थियो ।
सेजन अध्यक्ष सुजन ओलीले आफू अध्यक्ष भएको एक वर्षमा तीन अर्थमन्त्रीसँग सहकार्य गरेको भन्दै राजनीति स्थिर भएमात्रै अर्थतन्त्रमा सुधार आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने आर्थिक पत्रकारहरूको संस्था भएकाले पनि यसमा हाम्रो चासो र चिन्ता रहेको छ । यसमा अन्यभन्दा पनि राजनीतिक अस्थिरता प्रतिबिम्बित भएको छ ।’ सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले सेजन जुन सोचले सुरु गरेको छ सोहीअनुसार अघि बढेको भन्दै सबैमा राजनीतिक आस्था भए पनि संस्था र समाचारमा त्यो देखाउन नहुने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच