काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकमा पेस भएका तीनवटै प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले महासमिति बैठक गरेको ६ महिनापछि महासमिति बैठकमा पेस भएका तीनवटै प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो । महासमितिको बैठकमा प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जनपछि तीनवटै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । बैठकपछि महामन्त्री थापाले भन्नुभयो, ‘उपसभापति पूर्णबहादुर खड्काको नीति, आफ्नो सांगठनिक र विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा प्राप्त भएका सुझावका आधारमा परिमार्जनसहित सर्वसम्मतिले पारित भएको छ ।’ महाधिवेशनको मिति सहितको विषयलाई केन्द्रीय समितिले अगाडि बढाउने, एक्जिट पोलिसी सहितका विषयलाई सम्बोधन गर्नेसहित आवश्यक संशोधन गर्नका लागि विधान मस्यौदा समिति गठन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । सदस्यता वितरणलाई प्रभावकारी बनाउने, विदेशस्थित जनसम्पर्क समिति र भ्रातृ संस्थाको अधिवेशन गर्न निर्देशन समिति गठन सहितको निर्णय पनि कांग्रेसको बैठकले गरेको छ ।
बैठकले नेकपा एमालेसँग भएको नयाँ सत्ता समीकरणको सात बुँदे सहमतिलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहने पनि निर्णय गरेको छ । बैठकले संविधानका सबल र दुर्बल पक्षलाई हेर्दै संविधान संशोधन गर्दै संविधान कार्यान्वयनलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय पनि गरेको छ । केन्द्रीय समिति बैठकअघि बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महासमितिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावका विवादित विषयमा सहमति जुटाएको थियो । १५औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिले तय गर्ने, आफ्नै पार्टीमा भोट हाल्ने गरी माहोल बनाउने र एक्जिट पोलिसीको विषयलाई विधान तथा संविधान संशोधनका बेलामा समेट्ने विषयमा सहमति जुटेको हो । चुनावी गठबन्धनको विरोधमा महामन्त्री थापाले प्रयोग गरेको कडा भाषालाई नरम बनाइएको छ । कांग्रेसलाई बलियो रूपमा चुनावमा उतार्ने आशयको भाषामा गठबन्धनको विषयलाई समेटिएको छ । महासमितिको बैठकमा आएका सुझावलाई संशोधन गरेर पास गर्नेगरी कांग्रेसमा साउन २३ देखि २८ गते पाँच दिनसम्म केन्द्रीय समितिको बैठक बसेको थियो । फेरि भदौ ७ गते एकदिन बसेपछि बैठक १२ गते हुँदै आइतबार बसेको हो ।
यसबीचमा पदाधिकारी तहमा पटक-पटक बसेर महामन्त्रीद्वयको प्रस्तावको सहमतिनजिक दलहरू पुगेका हुन् । मुख्यगरी संस्थापनइतर पक्षलेले नियमित चार वर्षमा अर्थात् २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने निर्णय महासमितिले गर्नुपर्ने माग गरेका थिए । तर, संस्थापन पक्षले महासमितिले यस्तो निर्णय गर्नेभन्दा पनि विधानअनुसार गर्ने र केन्द्रीय समितिले आवश्यक प्रक्रिया अगाडि बढाउने समझदारी भएको छ ।
सयदिने अभियान चलाउने
नेपाली कांग्रेसले देशभर सयदिने अभियान चलाउने भएको छ । पार्टी महामन्त्री गगन थापाले आगामी असोज १ देखि पुस १० गतेसम्म सदस्यता विवाद समाधान, संगठन विस्तारलगायत विषयमा काम गर्न सयदिने अभियान गर्न लागेको जानकारी केन्द्रीय समितिको बैठकलाई गराउनुभएको हो । आइतबार बसेको पार्टी केन्द्रीय समितिमा महामन्त्री थापाले भन्नुभयो, ‘असोज १ देखि पुस १० गते सम्मको अभियान समुदायमा कांग्रेसजस्तो हुने छैन । केन्द्रीय सदस्यहरू जिल्लामा खटिएर सदस्यता र जिल्लाको विवाद मिलाउने काम गर्नुपर्नेछ । केन्द्रमा बसेर होइन, उतै गएर काम गर्नुपर्छ ।’
भ्रातृ संस्थाको अधिवेशन गर्न सहमहामन्त्रीको संयोजकत्वमा समिति बन्ने
नेपाली कांग्रेसले वर्षौंदेखि हुन नसकेका भ्रातृ संस्थाका अधिवेशन गर्न १० वटा निर्देशन समिति बनाउने भएको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले भन्नुभयो, ‘हाम्रा भ्रातृ संस्थाको अधिवेशन ६ महिना (चैतभित्रै) गर्न १० वटा निर्देशक समिति बन्नेछन् । एक–दुई दिनमा यस्ता समिति बन्छन् । सहमहामन्त्रीहरूले यस्ता समितिको नेतृत्व गर्नुहुन्छ । चैतभित्रै भ्रातृ संस्थाको अधिवेशन गर्न उहाँहरूले सहजीकरण गर्नुहुन्छ ।’ थापाले नेविसंघ, तरुण दल र महिला संघको अधिवेशन मुख्य प्राथमिकता रहने पनि जानकारी दिनुभयो ।
‘कसैले छोड् भन्दैमा प्रधानमन्त्री छोड्नुपर्छ भन्ने छैन, म छोड्दिनँ’ : सभापति देउवा
पार्टीका समकालीन नेताहरूलाई प्रधानमन्त्रीमा अघि सार्न गरेको प्रस्तावलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको छ । महामन्त्री विश्वप्रकाश शर्माले समकालीन नेताहरूलाई प्रधानमन्त्रीमा अघि सार्न गरेको प्रस्तावलाई सभापति देउवाले अस्वीकार गर्नुभएको हो । आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री शर्माले सभापति देउवा अब प्रधानमन्त्री बन्न नहुने बताउनुभएको थियो । तर, सभापति देउवाले यो कुरा मान्न आफू तयार नरहेको जवाफ दिनुभएको छ । महामन्त्री शर्मालाई जवाफ दिँदै सभापति देउवाले भन्नुभयो, ‘तपाईंले भनेर मैले त्याग गर्ने हो ? तपाईँले छोड् भन्नुभयो, ठीक छ त्यो तपाईंको विचार हो, तर कसैले छोड् भन्दैमा मैले छोड्नुपर्छ भन्ने छैन । म अहिल्यै छोड्दिनँ ।’
एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण रहेको बताउनुभएको छ । एमाले र माओवादी बीचको सरकार बनेपछि संगठनमा काम गर्ने र २०८४ अघि सरकारमा जाने प्रयत्न गर्न नहुने बताउँदै आए पनि एमालेसँग मिलेर सरकार बनाउने परिस्थिति बनेको उहाँको भनाइ छ । दुई दल बीचमा अकस्मात् सरकार बनाउने अवस्था बनेको र ठीक भएको जिकिर गर्दै महामन्त्री थापाले मुख्य दुई दलको सत्ता सहकार्य प्रणालीका लागि पनि चुनौतीपूर्ण रहेको बताउनुभयो । दुई दलमा रहेको चुनौतीको सामना गर्न सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओली वीचमा सौहार्दता हुनुपर्ने स्पष्ट पार्दै महामन्त्री थापाले भन्नुभयो, ‘काम गरेर हामीले परिणाम दिनुपर्ने छ । हाम्रो सभापति र नेकपा एमालेको अध्यक्षसँग हुने हार्दिकता,विश्वास महत्वपूर्ण कुरा हुन् ।’
देउवालाई विश्वप्रकाशको आग्रह : ‘अब प्रधानमन्त्री नबन्नुस्’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताउनुभएको छ । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गर्नुभएको हो । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ । प्रतिनिधि सभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको उल्लेख गर्नुभएका महामन्त्री शर्माले उनीहरूमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने जिकिर गर्दै भन्नुभयो, ‘उहाँहरू मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौँ भने–एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौँ । डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन आग्रह गर्छु । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रूपले साथ दिनुपर्छ । तर, त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न ।’ महामन्त्री शर्माले आफूले ल्याएको एक्जिट पोलिसी परिमार्जन हुने बताउनुभयो । महामन्त्री शर्माले सम्भव भए २०८२ मै महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । ०८२ मा सम्भव नभए ८३ को वैशाखबाट महाधिवेशन प्रारम्भ गर्ने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेको केही समयपछि केन्द्रीय अधिवेशन गर्नुपर्ने जिकिर गर्दै शर्माले भन्नुभयो, ‘८२ मा सबै तहको महाधिवेशन गर्न सकिन्छ हिंसा पनि छैन भूकम्प र कोरोना पनि छैन । ८२ मा गर्न सकेन भने ८३ को वैशाखमा गर्ने । असारमा सभापतिज्यू प्रधानमन्त्री बनेपछि केन्द्रीय महाधिवेशन गर्ने र तीन तहको निर्वाचनको तयारीमा जुट्ने ।’
कांग्रेस महाधिवेशन र चुनाव एकैवर्ष हुने खतरा छ : सहमहामन्त्री पाण्डे
कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको महाधिवेशन र आम निर्वाचन एकैवर्ष हुने सम्भावना देखिएको बताउनुभएको छ । केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा पाण्डेले महाधिवेशनमा हुने आन्तरिक प्रतिस्पर्धाले चुनावमा असर पर्नसक्ने सम्भावना रहेको उल्लेख गर्दै भन्नुभयो, ‘त्यसका दुष्प्रभावहरू स्थानीय, प्रदेशसभा, प्रतिनिधि सभाको निर्वाचनमा पर्ने र पार्टी एकढिक्का भएर निर्वाचनमा जान नसक्ने विगतको समस्या आगामी दिनमा पनि हुने हो कि ? पार्टी सदस्यता वितरण र नवीकरण समयमा हुन सकेको छैन । दुई महामन्त्रीले सदस्यता नवीकरण र वितरण गर्न पटक-पटक पत्र पठाए पनि कार्यान्वयन नभएको सुनियो । उहाँहरूले तल भन्नुहुन्छ । तलका साथीहरूले गराउनुहुन्न । तल्लो तहमा हामीले घचघच्याउनुपर्ने छ ।’ मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाउँदा कांग्रेसका लागि चुनौती थपिएको उल्लेख गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका पाण्डेले भन्नुभयो, ‘२०८४ को निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । जोखिम उठाएर खुकुरीको धारमाथि हामीले यात्रा गरिरहेका छौँ । २०८४ को चुनावमा ऊभन्दा अघि हामी कसरी अघि आउने गम्भीरतापूर्वक सोच्नुपर्छ । प्रतिस्पर्धा र सहकार्य एमालेसँग कुन हदसम्म हुने स्पष्ट सीमांकन गरिनुपर्छ ।’