✍️ तोयराज नेपाल
भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्वमा घरघरमा पवित्र कुश भित्र्याएर मनाइन्छ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश भाद्रकृष्ण औंसीका दिन काटेर घरमा राखेर एक वर्षसम्म पूजा गर्न मिल्नेछ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजाआजा गर्नेहाम्रो शास्तोक्त विधान छ । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइएको यो वर्षको कुश बाह्र वर्षसम्म प्रयोग गर्न हुने शास्त्रीय प्रमाण रहेको छ । सोमबार नपरेको दिनमा भाद्रकृष्ण औंसी परेको भएमा वर्षभरिका मात्र पयोग गर्न मिल्ल्नेछ ।
पतिव्रताको श्राप विष्णुलाई लागेर ढुंगो हुनुपरोस् भनेकामा शालिग्राम, झार हुनुपरोस् भनेकामा तुलसी, रूख हुनुपरोस् भनेकामा पीपल र घाँस हुनुपरोस् भनेकोमा कुशका रूपमा भगवान् विष्णु नै उत्पत्ति भएर रहनुभएको भन्ने शास्त्रीय वचन रहेको छ । त्यसकारण विष्णुको रूप भएको हुँदा कुश पवित्र मानिएको हो ।
आजको तिथि भाद्रकृष्ण अमावास्यालाई कुशीऔंसी भनिएको हो । यस सम्बन्धमा वचन छ :
मासे नभस्यामावास्यां तस्यां दर्भाेच्चयो मतः। अयातयामास्ते दर्भाःसन्नियोज्याः पुनःपुनः ।।
नभोमासस्य दर्शे तु शुचिर्दर्भान् समाहरेत् । अयातयामास्ते दर्भा विनियोज्याः पुनः पुनः ।। धर्मसि.सुधा-१४५ भाद्रमासका औंसीका दिन काटेको कुश एक वर्षसम्म बासी हुँदैन, वारंवार प्रयोग गर्न सकिन्छ । कुश काट्नुअघि तलका मन्त्रले प्रार्थना गरी कुश काट्नुपर्दछ ।
कुशाग्रे वसते रुद्रःकुशमध्ये च केशवः। कुशमूले वसेद्ब्रहृमा कुशान् मे देहि मेदिनि ।।
विरञ्चिना सहोत्पन्नः परमेष्ठिनिसर्गजः। नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।। एवं मन्त्रं समुच्चार्य ततः पूर्वाेत्तरामुखः। हूँफट्कारेण मन्त्रेण सकृच्छित्वा समुद्धरेत् ।। ध.सि.सुधा-१४५
मन्त्र पढेर पूर्वाेतर मुख भएर माथि उल्लेखित मन्त्र उच्चारण गर्दै एकपटक काटेर उखेल्नु पनि पर्दछ । किनकि धेरैजसो कार्यमा जरैसँगको कुशको प्रयोग गर्ने विधान छ । तर कुश थोरै हुने ठाँउमा कुश उखेलेर पुग्दैन, त्यसैले काट्नु वा छेदन पर्दछ ।
स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
अर्थात् कुशमा ब्रहृमा, विष्णु र रुद्र तीनवटै देवता बसेका हुँदा स्नान, दान, जप, होम, स्वाध्याय, श्राद्ध र सन्ध्या तर्पण आदि विभिन्न कर्म गर्दा कुश हातमा लिएरमात्र गर्नुपर्दछ । जसले गर्दा कर्ममा पवित्रता हुन्छ ।
यथा वज्रं सुरेन्द्रस्य यथा चक्रं हरेस्तथा । त्रिशूलं च त्रिनेत्रस्य तथा विप्रपवित्रकम् ।।
इन्द्रको वज्र, विष्णुको चक्र र शिवको त्रिशूल जस्तै विप्रको पवित्र (कुश ) सुरक्षा गर्ने हतियार जस्तै हुन्छ । जसले प्रयोग गर्नेलाई त्यसलाई सुरक्षा दिन्छ । कुशको वर्गीकरण यसप्रकार छ :
कुशाः काशाः यवा दूर्वा उशीराश्च सकुन्दकाः । गोधूमा ब्रीहयो मुञ्जा दश दर्भाः सबल्लजाः ।। ध.सि.सुधा-१४५ कुश, काँस, जौ, दुबो, उशीर (खस) कन्दुक (एक किसिमको तृण विशेष) गहुँ, धान, मूँज, बल्लज अर्थात् बाबियोसमेत गरी दश किसिमका कुशजाति मानिएका छन् । कुशको अभावमा काशलाई लिनुपर्दछ, किनकि काशलाई पनि कुशसमाना मानिएको छ । काशको पनि अभाव भएमा मात्र अरू दर्भहरू लिनुपर्दछ ।
कुशको उत्पत्तिका सम्बन्धमा उपर्युक्त विरञ्चिना सहोत्पन्नः... यस वचनद्वारा ब्रहृमाजीका साथमा कुशको उत्पत्ति भएको भन्ने कुरा स्पष्ट हुन्छ । अर्काे कुरा स्वस्थानी कथाका आधारमा जब जालन्धर दैत्यले लोकमा उपद्रव, अत्याचार मच्चायो, त्यसलाई नमारी अत्याचार शान्त नहुने भयो । अनि भगवान् शंकरजी जालन्धरसँग युद्ध गर्न लाग्नुभयो तर उसकी पत्नी वृन्दा ज्यादै पतिव्रता भएकी हुँदा पतिव्रता धर्मका कारण उसलाई मार्न सक्नु भएन । अनि विष्णुले लोकको कल्याण गर्नका लागि जस्तो सुकै सजाय भोग्नुपरे पनि भोग्छु तर जालन्धरलाई नमारी भएन । त्यसकारण उसलाई मार्न छल गरी म वृन्दाको पतिव्रता धर्म नष्ट गराउँछु । अनि तपाईँले जालन्धरलाई मार्न सक्नुुहुनेछ भनी भगवान् शंकरसँग सल्लाह गरी भगवान् विष्णुले जालन्धरको रूप धारणगरी वृन्दाको पतिव्रता धर्म नष्ट गरेपछि जालन्धरलाई शंकरलाई मार्नुभयो र लोकको कल्याण गर्नुभएको थियो ।
आजकै दिन छोराछोरीहरू आआफ्ना पितालाई मनपर्ने भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवस भन्न नालिएको छ ।
पछि विष्णुले छल गरी मेरो सतीत्व नष्ट गरेछन् भन्ने कुरा वृन्दाले थाहा पाएर हे कपटी विष्णु तिमीले छल गरेर मेरो पतिव्रता धर्म नष्ट गरेछौं, त्यसकारण म पनि तिमीलाई श्राप दिन्छु सुन, तिमीले ढुंगो हुनुपरोस्, रूख हुनुपरोस् र झार घाँस भएर रहनुपरोस् भनेर श्राप दिइन् । पतिव्रताको श्राप विष्णुलाई लागेर ढुंगो हुनुपरोस् भनेकामा शालिग्राम, झार हुनुपरोस् भनेकामा तुलसी, रूख हुनुपरोस् भनेकामा पीपल र घाँस हुनुपरोस् भनेकोमा कुशका रूपमा भगवान् विष्णु नै उत्पत्ति भएर रहनुभएको भन्ने शास्त्रीय वचन रहेको छ । त्यसकारण विष्णुको रूप भएको हुँदा कुश पवित्र मानिएको हो ।
अर्काे कुरा भगवान्ले हिरण्याक्ष दैत्यलाई मारेर पृथिवीलाई उद्धार गर्न वराहको (बँदेलको) रूप लिई दैत्यलाई मारी पृथिवीको उद्धार गर्दा ठूलो परिश्रम परेको हुँदा थकाइ लागेर समुद्रका किनारमा बालुवा माथि विश्राम गर्न सुत्नु भएछ । वराह भगवान् सुत्नु हुँदा उहाँका केश झरेर त्यसबाट कुशको उत्पत्ति भएको हो भन्ने पनि पौराणिक उपाख्यानहरूमा पाइन्छ ।
यस्ता धेरै कथानकबाट ब्रहृमा, विष्णु र रुद्र तीन देवता कुशमा रहनुभएको कुरा सिद्ध भएको हुँदा कुश पवित्र मानिएको र देवकार्य तथा पितृकर्यमा पनि कुशको आवश्यकता अपरिहार्य रहेको शास्त्रमा वर्णित छ । यसदिन पितृहरूलाई तर्पण तथा पिण्डदान समेत गर्दा पितृहरू मुक्ति हुने र छोरा नातिहरूलाई यस लोकमा सुख समृद्धि र परलोकमा समेत पुण्यप्राप्ति हुने भएकाले श्राद्ध तर्पण, सिधादान गरी पितृकर्म गर्नुपर्दछ । बाबु हुनेले बाबुको मुख हेर्ने र बाबु नहुनेले तर्पण, पिण्डदानादि गरेर पितृलाई तृप्त गराउने शास्त्रानुकूल परम्परा पनि समाजमा चलिआएको छ । यसकारण आफ्नो सुरक्षा कवचका रूपका कुशको संरक्षण गरी यसदिन पूजागरी काटेर राख्ता वर्ष दिनसम्म बासी नहुने भएकाले यस दिन कुश काट्ने गरिएको हो । यस दिन कुश काट्ने गरिएको हुँदा यस दिनलाई कुशीऔंसी भन्ने परम्परा चलेको हो ।
आजकै दिन छोराछोरीहरू आआफ्ना पितालाई मनपर्ने भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवस भन्न नालिएको छ । आजका दिन पिता नहुनेहरू भने काठमाडौंको उत्तरपूर्वी भेगस्थित बागमती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई पिताका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् ।
पितृदेवो भवः भन्ने शास्त्रीय वचन अनुसार आजको दिनमा पिता बाबुलाई मीठो मसिनो खान दिएर र दिवंगत भएका पिताका लागि सोही नाममा तर्पण, श्राद्ध र सिदा दान गरी पितृहरूको स्मरण गरे सुख, शान्ति मिल्ने धार्मिक विश्वास छ । ॐ हरये नमः । श्रीकृष्णार्पणमस्तु ।।