नेपालको तेक्वादो खेलाडी पलेशा गोबर्धनले पेरिसमा आयोजित पारलम्पिक खेलमा नेपाललाई काँस्य पदक दिलाउनुभएको छ । नेपालका लागि गौरवको कुरा हो । यो पदक जित्ने उहाँ पहिलो नेपाली खोलाडी हुनुहुन्छ । यसकारण पनि उहाँमाथि नेपालले गौरव गर्नुपर्छ । नेपालले विगत छ दशक पहिलेदेखि ओलम्पिक खेलमा भाग लिँदै आएको छ । अपांगता भएका खेलाडीहरूको सहभागिता रहने पारलम्पिक खेलमा नेपालका तीनजना खेलाडीको सहभागिता रहेकोमा उहाँले उक्त पदक जित्नुभएको हो । यो प्राप्ति नेपालको पहिलो हो जुन पलेशाका हातबाट राष्ट्रले ग्रहण गर्न पाएको छ । पहिलोपटक प्राप्त गरेकाले नेपाल यसमा गौरवान्वित भएको छ ।
राष्ट्रले यसमा आत्मगौरव गरेका छ र राष्ट्रका प्रमुख व्यक्तित्व राष्ट्रप्रमुख राष्ट्रपति, पूर्वराजा तथा सरकार प्रमुख प्रधानमन्त्रीबाट समेत उहाँलाई बधाई दिने काम भएको छ । राजधानी काठमाडौंको प्रमुख थलो बागबजारमा जन्मिएकी पलेशा चीनको सांघाईस्थित तोङ्जी विश्वविद्यालयमा आर्किटेक्चरको अध्ययन गरिरहनुभएको छ । उहाँले सरकारका तर्फबाट ६५ लाख नगद पुरस्कार पनि पाउनुहुने भएको छ । २० वर्षको उमेरकी खेलाडीमा आफ्नो उमेरभन्दा बढी परिपक्कता देखिएको छ । उहाँले आफूले पाएको पदक आफ्ना लागि होइन देशका लागि हो भन्नुभएको छ ।
यो उहाँको परिपक्वता र महानता हो । पारलम्पिक अपांगता भएकाहरूले भाग लिने खेल हो । उहाँको बायाँ हात जन्मिँदै कुहिनादेखि तल थिएन तर उहाँले आफू शारीरिक रूपमा असक्षम भएको महसुस नगरी सबलांगहरूभन्दा बढी आत्मविश्वासका साथ खेलेर यो पदक प्राप्त गर्न सफल हुनुभएको छ । उहाँले २०१५ देखि यो खेलप्रति आकर्षित भएको, नौ वर्षदेखि खेल्दै र विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आउनुभएको बताउनुभएको छ । खेलकुद मानिसका लागि अत्यन्त आवश्यक छ । प्राचीनकालदेखि कुनै न कुनै रूपमा मानिसले खेलकुद गर्दै आएकोमा जति-जति आधुनिक समयतर्फ मानिस अगाडि बढिरहेका छन् त्यति नै नयाँ–नयाँ खेलहरू थपिँदै आएका छन् ।
विभिन्न देशबाट विकसित बन्दै आएका यस्ता खेलहरूले व्यापकता पाएपछि तिनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समावेश गर्ने गरिन्छ । नेपालका बैकुण्ठ मानन्धर, विधान लामालगायतका पुराना खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर पदक जितेको इतिहास छ । यसपछि अन्य विभिन्न खेलाडीले समय-समयमा साग, एशियाडलगायत खेलहरूमा भाग लिएर पदक जित्दै आएका छन् । यसको पछिल्लो शृंखलामा पलेशा गोबर्धन थपिन आउनुभएको छ । मानसम्मान र ख्यातिका दृष्टिकोणबाट समेत उहाँले हासिल गर्नुभएको यो विजय अग्रस्थानमा छ । जुडो, कराते, तेक्वोन्दो, एक्लेटिक्स, दौड, कपर्दीलगायत खेलहरूमा नेपालको आशालाग्दो सहभागिता देखिँदै आएको छ ।
क्रिकेटमा नेपालको ख्याति दिनप्रतिदिन बढ्दै गएको छ र सन्दीप लामिछानेलगायत राम्रा खेलाडीहरूले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिँदै आउनुभएको छ । नेपाल आर्थिक रूपमा कमजोर राष्ट्र भएका कारण खेलकुदको क्षेत्रमा पर्याप्त लगानी गर्न सकिरहेको छैन । जति लगानी राष्ट्रका तर्फबाट यस क्षेत्रमा भएको छ त्यस अनुपातमा नेपालले राम्रो गरिरहेको मान्नुपर्छ । पछिल्लो चरणमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर उन्नति पनि गरिरहेका छन् । महिला खेलाडीहरूको समेत उल्लेख्य सहभागिता रहँदै आएको छ र विजयी पनि बन्दै आएका छन् । भलिबल, क्रिकेट, फुटबल, करातेलगायत खेलहरूमा सफलतासमेत हासिल गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय खेलकुदहरूबाट विभिन्न देशबीचको सम्बन्ध सुमधुर बन्ने, सहभागी देशहरूको परिचय विश्वमा स्थापित हुने, मैत्रीसम्बन्ध कायम हुने अवस्थाको विकास हुने गर्दछ । यही कारणले गर्दा विश्वका देरै देशहरूले खेलकुदका लागि ठूलो धनराशि लगानी गरेका हुन्छन् । प्रसिद्ध खेलाडीहरूलाई अर्बाैं रुपैयाँमा अनुबन्धित गर्ने गर्छन् । अन्तर्राष्ट्रिय रूपमा चर्चित विभिन्न क्लब स्थापना गर्छन् । नेपालले यस्तो गर्न सकेका छैन, तैपनि खेलाडीहरूले मिहिनेत र रुचिकै आधारमा भए पनि राम्रो प्रगति गरिरहेका छन् । पलेशालाई यसको दृष्टान्तका रूपमा लिन सकिन्छ । राष्ट्रले यस्ता खेलाडीलाई प्रोत्साहन गर्न सक्नुपर्छ ।
हुन त उहाँलाई ६५ लाख रुपैयाँ दिने भनिएको छ । सरकारलाई यसका लागि धन्यवाद तर कहिलेकाहिँ खेलाडीहरूले सरकारबाट घोषणा भएको रकम पनि नपाएको दुःखेसो गर्ने गरेको समेत सुनिने गरेकामा अब निश्चय त्यस्तो हुँदैन भन्ने कुरामा विश्वस्त बन्न सकिन्छ । खेलकुद व्यक्तिको शारीरिक विकास तथा मनोरञ्जनका लागि आवश्यक छ । जब मानिस शारीरिक रूपमा स्वस्थ रहन सक्छ तबमात्र मानसिक रूपमा समेत स्वस्थ रहन्छ । त्यही कारणले खेलकुदलाई शिक्षाको एउटा अभिन्न अंगमा रूपमा लिने गरिन्छ । शैक्षिक संस्थाहरूमा पढाइने काम मात्र गरिँदैन पढाइका साथसाथै अतिरिक्त क्रियाकलापसमेत गराइन्छ ।
अतिरिक्त क्रियाकलापमा साहित्य, संस्कृति, कला, विज्ञानलगायत खेलकुदलाई पनि प्राथमिकतामा राखिन्छ । सरकारको एउटा मन्त्रालय पनि खेलकुदसँग सम्बधित बनाएर स्थापना गरिँदै आएको र खेलकुदको विकासका लागि राष्ट्रिय खेलकुद परिषद्लगायत अन्य विभिन्न खेलकुद संघको समेत स्थापना गरिएको हुन्छ । यसपटक पारलम्पिक खेलमा कास्य पदक जित्ने पलेशाप्रति राष्ट्रले गौरव गर्न सक्नुपर्छ र उहाँलाई प्रोत्साहन गर्न सहयोगका विभिन्न कार्यक्रम बनाउनुपर्छ । राष्ट्रको स्पन्दनको सम्मान गर्नु राष्ट्रले कन्जुस्याइँ गर्नु हुँदैन । राष्ट्र आफ्नो दायित्वप्रति सजग रहोस् । राष्ट्रगौरव पलेशालाई हाम्रो तर्फबाट पनि बधाई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच