पाइनै छोडे कुश बाढ्ने पुरोहित : घरघरमा कुश भित्राउने प्रचलन हराउँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका टेकबहादुर कार्कीले पुरोहितद्धारा मन्तर जपेर चोखो बनाइएको कुश घरमा भित्राउन नपाएको पाँच वर्ष भन्दा बढी भइसक्यो ।

हरेक वर्ष भाद्र महिनाको औँसीको दिन पर्ने कुशेऔँसी पर्वमा हिन्दू धर्मालम्बीले घर-घरमा कुशभित्राएर वर्षभरी गरिने धार्मिक तथा मांगलिक कार्यहरु सोही कुश प्रयोग गर्ने प्रचलन रहदै आएको छ ।

तर विगत केही वर्षयता म्याग्दीमा कुश बाढ्ने पुरोहितको समेत अभाव हुन थालेपछि घरघरमा कुश भित्राउने प्रचलन पनि हराउँदै जान थालेको स्थानीय जेष्ठ नागरिकहरुले बताएका छन् ।

पुरोहितले पूजाआजासहित मन्तर जपेर चोखो गरी कुशेऔँसी दिन ल्याएको कुश घरको ढोका अगाडि पालीमा जजमानको घरमा सिउरिएर छोडेपछि घरमा वर्षभरी पर्ने देवकार्य तथा पितृकार्यमा त्यहीँ कुश प्रयोग गर्ने गरिन्छ । तर हिजोआज कुश बाढ्न पुरोहितहरु यजमानको घरमा आउनै छोडेपछि देवकार्य र पितृकार्यमा प्रयोग गरिने कुशको पनि अभाव हुन थालेको बगरफाँटका ७४ वर्षिय टेकबहादुर कार्कीले बताउनुभयो ।

“कुशे औसीको दिनविहानै घरको ढोकामा पुरोहित कुश लिएर आउने र ढोकामा दुबो टाँसेर जाने र जजमानले सकेको दानदक्षिणादिने प्रचलन थियो, तर त्यो प्रचलन अहिले हराउँदै गएको छ ” मालिका गाउँपालिका ६ दरबाङका भरत सुवेदीले बताउनुभयो ।

“हिजोआज पुरोहितआउन पनि छोडीसके हामी पनि कुश खोज्दै जान छोड्यौं । घरघरमा पूजागर्दा तथा पितृकार्य पर्दा बजारबाट कुशकिनेर ल्याई र पुरोहितलाई नै पूजाका दिन कुश लिएर आउन भनी ती कार्यहरुगर्ने गर्दछौं” सुवेदीले भन्नुभयो ।

कुश धार्मिक र वातावरणीय दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण वनस्पति हो । कुशलाई संस्कृतमा दर्भा भनिन्छ । अथर्वर्वेदको १९ वौं काण्डको ३२ वौं सूक्त दर्भ सूक्तको नामले प्रसिद्ध छ । यस सूक्तमा दर्भा अर्थात् कुशको महत्व यसरी वर्णन गरिएको छ ।

शतकाण्डो दुशच्यवनः सहस्रपर्ण उत्तिरः । दर्भो य उग्र औषधिस्तं ते बध्नाम्यायुषे ।

अर्थात् ‘हे मानिसहरू हो ! असङ्ख्य गाँठा र आँख्ला भएको, कठिनाइपूर्वक हटाउन सकिने, हजारौँ पात भएको, सबै औषधिहरूमा श्रेष्ठ, प्रचण्ड शक्तिले सम्पन्न, दर्भ नामको जुन औषधि छ त्यसलाई तिमीहरूको दीर्घायुका लागि हामी बाँधिदिन्छौँ ।’

अन्य धार्मिक ग्रन्थहरुमा पनि कुशलाई औषधीय गुणले युक्त वनस्पति भनेर वर्णन गरिएको छ । कुशलाई आफ्नोे घरमा राख्नाले आयु बढ्ने,शत्रुहरु घट्ने र वल तथा बुद्धि बृद्धि हुने भनेर वर्णन गरिएको पाइन्छ ।

दिवि ते तूलमोषधे पृथिव्यामसि निष्ठितः ।
त्वया सहस्रकाण्डेनायुः प्र वर्धयामहे ।।

अर्थात् हे औषधि ! तिम्रो शिखाको भाग आकाशतर्फ छ र तिमी पृथ्वीमा स्थिर रहेका छौ । तिम्रा असङ्ख्य काण्ड वा आँख्लाहरूले हामी आफ्नो आयु बढाउँछौँ ।

धार्मिक,जैविक र वातावरणीय दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिएको कुश पनि गाउँघरमा पाइन छोडेको छ । जमिनमा विषादीको बढ्दो प्रयोगले प्राकृतिक वनस्पति कुश लोप हुँदै गएको जानकारहरुले बताएका छन् ।

बौद्धिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पति हो । पितृकार्यदेखि लिएर देवीदेवताको पूजाआजा अभिषेक, प्राणप्रतिष्ठा आदीकार्यमा कुश मिश्रित जलप्रयोग चोखोनितो गर्नका लागि प्रयोग गरिने भएकाले कुशको धार्मिक महत्व रहेको पं निलकण्ठ आचार्यले बताउनुभयो ।

पं आचार्यका अनुसार जप गर्दा, होम, देवपूजा यज्ञयज्ञादी कार्य गर्दा हातमा कुशको औंठी लिएर बस्नु हिन्दूधर्मालम्बीले गर्ने कर्मको विशेषता हो । कुश धारिलो र टुप्पो तीखो हुने तृणजन्य वनस्पति हो ।

कुश घरमा भित्र्याउँदा शुभहुने धार्मिक मान्यता छ । कुश बिनाकुनै पनि धार्मिक पितृकार्य, स्नान, दान, जप, यज्ञ-अनुष्ठान्, तप जस्ता कार्य सफल हुँदैनन् भन्ने मान्यतारहेको पं आचार्यले बताउनुभयो । कुशभाद्र कृष्ण औंशीको दिन बिहानै नुहाएर चोखो गरी धोतीलगाएर विधिपूर्वक पूजा गरेर बिहानै उखेल्नुपर्ने धार्मिक मान्यता रहेको उहाँको भनाइ छ ।

पछिल्लो समय देव कार्य पितृ कार्यका लागि जिल्लामा पुरोहितहरुको अभाव हुन थालेको ब्राह्मण समाज म्याग्दीका सदस्य टीकाराम आचार्यले बताउनुभयो ।“गाउँघरमा पुरोहितको संख्या पनि विस्तारै कमहुँदै गएको छ,”उहाँले भन्नुभयो “धेरैजसो पुरोहितका काम गर्नेहरु गाउँ छोडेर सहरतिरे पसे, गाउँमा पुरोहित नै पाउन पनि गाह्रो भइसकेकाले पनि कुश भित्राउने प्रचलन घट्दै गएको हो ।” त्यस्तै पछिल्लो पुस्तामा पुरोहित गर्ने प्रथा परम्परा छोड्दै गएकाले समस्या हुनथालेको उहाँको भनाइ छ ।

मानिस जन्मदा, मर्दा तथा पूजाआजाका कार्यमा कुशलाई पवित्र पूजा सामग्रीका रुपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?