काठमाडौं । अर्थ मन्त्रालय शर्तसहित दुग्ध विकास संस्थान (डिडिसी)लाई ६० करोड रुपैयाँ ऋण दिन सहमत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले दूध किसानको बाँकी रकम भुक्तानीका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको पहलपछि अर्थ मन्त्रालय शर्तसहित रकम दिन सहमति दिएको बताउनुभयो ।
अर्थबाट उक्त रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । डिडिसीले उक्त रकम तत्कालका लागि किसानलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ । चालु आर्थिक वर्षका लागि डिडिसीको नाममा ऋण लगानीअन्तर्गत एक करोड बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न सहमति दिइएको हो ।
उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले डिडिसीमा ऋणका रूपमा लगानी गर्नेछ । कृषि तथा पशुपक्षी विकासमन्त्री अधिकारीले दशैँअघि नै दुग्ध किसानको बाँकी रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको थियो । अधिकारीले असार ३१ गते जिम्मेवारी सम्हाल्दा दुग्ध किसानको एक अर्ब ५४ करोड रकम बक्यौता थियो ।
मन्त्रालयका सहसचिव सूर्य पौडेललाई मन्त्री अधिकारीले डिडिसीको जिम्मेवारीमा पठाएपछि त्यहाँ रहेको मखन, पाउडर दूध बिक्रीबाट ३९ करोड बढी आम्दानी गरी भदौ १५ गतेसम्म किसानलाई रकम उपलब्ध गराइसकिएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।