काठमाडौं । संघीय संसद्बाट गठित सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले साना किसान कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीसँग पनि छलफल गर्नुभएको छ । साना किसानतर्फबाट प्रस्तुति सुनिसकेपछि सभापति थापाले आफूले हालसम्म सहकारीका समस्यामात्र सुनेको स्मरण गर्दै साना किसानहरूले गरेको योगदान र हासिल गरेको सफलताले आफूलाई उत्साहित बनाएको बताउनुभयो । सहकारीले उदाहरणीय कार्य गर्न सक्छन् भन्ने प्रमाण साना किसानले प्रस्तुत गरेको जानकारी पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।
छानबिन समितिमा बसेर सहकारी क्षेत्रका विभिन्न पक्ष हेर्ने क्रममा साना किसान कृषि सहकारीहरूले सामाजिक, आर्थिक र चेतनास्तर विकासमा गरेको योगदान प्रशंसनीय रहेको थापाले बताउनुभयो । उहाँले हाल सहकारीमा देखिएको समस्याका विभिन्न कारणमध्ये नेपाल राष्ट्र बैंकले अनुगमन गरेर दिएको प्रतिवेदन कार्यान्वयन नहुनु एक रहेको औंल्याउनुभयो । सभापति थापाले देशभरको सहकारी दर्ता सूचना र सञ्चालन विवरण दिने ठाउँ तत्काल आवश्यक रहेको समेत बताउनुभयो । सहकारीको सिद्धान्त, नीति, विधि, पद्धति र प्रक्रियामा सञ्चालन भएका सहकारीमा कुनै समस्या नरहेको भन्दै उहाँले सहकारीको मर्म र भावनाविपरीत सञ्चालित सहकारीमा समस्या देखिएको बताउनुभयो ।
सहकारीले उदाहरणीय कार्य गर्न सक्छन् भन्ने प्रमाण साना किसानले प्रस्तुत गरेको जानकारी पाउँदा खुसी लागेको समिति सभापति थापाले बताउनुभएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले सहकारीले सामाजिक रूपान्तरणमा उल्लेखनीय भूमिका खेलेको जानकारी गराउँदै सबै सहकारीमा समस्या नरहेको बताउनुभयो । राम्रा सहकारीको पहिचान गरेर राम्रालाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो । देशभरका साना किसान कृषि सहकारी संस्थामा समस्या नरहेको भन्दै अध्यक्ष पाठकले नीति, विधि र पद्धतिमा सञ्चालन गर्न सके कुनै पनि संस्थामा समस्या नआउने जिकिर गर्नुभयो । आफूहरूले नेपाल कृषि सहकारी केन्द्रीय संघ र संघका सञ्जालमा रहेका संस्था अनुगमन तथा निरीक्षण प्रभावकारी बनाउँदै समस्या आउनै नदिन अधिकतम पहल गरेको उहाँले बताउनुभयो । साना किसान कृषि सहकारीहरूले सञ्चालन गरेको एक खर्ब १२ अर्ब रुपैयाँ अहिले पनि सुरक्षित रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष पाठकले सरकारले किसानलाई प्रविधि, सीप, भण्डारण, औजार, सिँचाइ, बिउ, मल आदिमा सहयोगका साथै किसानले उत्पादन गरेको मासु, दूध तथा अन्य कृषिजन्य वस्तु बजारीकरण गर्न सके उत्पादन केन्द्रित काम गरिरहेका सहकारीको समस्या समाधान हुने बताउनुभयो । जुन सहकारी सञ्चालक र कर्मचारीलाई सदस्य तथा बचतकर्ताले चिन्दैन, तिनै संस्थामा समस्या रहेको भन्दै उहाँले साना किसानमा आफैँ सदस्य आफैँ सञ्चालक र आफैं कर्मचारी रहेकाले कुनै समस्या नरहेको बताउनुभयो । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि प्रत्येक संस्थामा लेखा सुपरीवेक्षण समितिलाई जिम्मेवार बनाउनुपर्ने उहाँको जोड थियो । छलफल कार्यक्रममा २५ सहकारी संस्थाका २८ सञ्चालक तथा प्रबन्धक, केन्द्रीय संघका अध्यक्षसहित पदाधिकारीलगायतको सहभागिता थियो । समितिले बचत सहकारीमा देखिएका समस्याबारेमा विभिन्न पक्षसँग निरन्तर रूपमा छलफल गर्दै आएको छ ।