काठमाडौं । रुसी सेनामा भर्ती भएका ४० नेपालीको ज्यान गएको छ । युक्रेनसँगको युद्धमा परेर थप चारजना नेपालीको मृत्यु भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ४० पुगेको हो । पछिल्लोपटक मृत्यु हुने चार नेपालीमा विमल लिम्बू, विक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुनुहुन्छ । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीको संख्या ४० पुगेको हो । परराष्ट्र स्रोतका अनुसार भदौ १४ सम्म ४० जनाको मृत्यु भएको छ । असार १० सम्मको तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ३४ थियो । त्यसपछि थप दुईजना संजोग आचार्य र नवीन शाहीको मृत्यु भएको थियो । त्यसपछि थप चार जनाको मृत्यु भएको हो ।
२०७८ फागुन १२ देखि रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । परराष्ट्र मन्त्रालयले रुस-युक्रेनको युद्धमा परेर मृत्यु हुने नेपालीको बारेमा सुरुवातमा प्रेस विज्ञप्ति नै निकालेर जानकारी दिए पनि पछिल्लो समय मृत्यु हुनेहरू सबैको नामावली सार्वजनिक गरेको छैन ।
रुस मामिलामा परराष्ट्र मन्त्रालयले कुनै पनि जानकारी दिन छाडेको छ । मस्कोस्थित नेपाली दूतावासले पनि परराष्ट्र मन्त्रालयको निर्देशनपछि नेपालीहरूको सम्बन्धमा सूचना प्रवाह गर्न छाडेको छ । दूतावासका कर्मचारीहरू प्रेससँग सम्पर्कमै आउन चाहँदैनन् । प्राप्त विवरणमा हालसम्म सरकारी संयन्त्रमा सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको र घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको गरी कुल ३३१ वटा निवेदन परेको छ ।
यस्तै, घाइते भएर उपचाररत रहेका नेपालीको संख्या पाँचजना रहेको र स्वदेश फर्किएकाहरूको संख्या १६२ जना रहेको जनाइएको छ । डिएनए टेष्टका लागि अनुरोध भएकाहरूको संख्या २२ जना छ । जसमध्ये १५ वटा डिएनए टेष्ट नतिजा रुसको मस्कोस्थित नेपाली दूतावासमा पठाइएको छ । यस्तै, दुई जनाको डिएनए टेष्टका लागि परिवारलाई जानकारी गराइएको छ । पाँच जनाको डिएनए टेष्टका लागि प्रहरी प्रधान कार्यालय, नक्साललाई पछिल्लोपटक पठाइएको छ ।
परिवारका सदस्यबाट सहमति लिएर उतै दाहसंस्कार भई पाँच जनाको अस्तुधातु नेपाल पठाएर परिवारलाई बुझाइएको छ । तथ्यांकअनुसार क्षतिपूर्तिका लागि नेपाल राजदूतावास मस्कोबाट ६ जनाको कागजात माग भएको छ । जसमा रूपक राई, देवान राई, प्रितम कार्की, गंगाराज मोक्तान, सन्दीप थपलिया र राजकुमार रोका हुनुहुन्छ । रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या भने सरकारले यकिन छैन ।
रुसी सेनामा भर्ना भएर युद्धकै क्रममा मृत्यु भएका र बेपत्ता भएका परिवारको रक्षार्थ गठन भएको ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ले भने युद्धमा ६१ जनाको मृत्यु भएको र थप १८ जनाको मृत्यु भएको भनिए पनि पुष्टि हुन बाँकी रहेको जनाएको छ ।
अर्कोतर्फ रुसबाट १७४ जना नेपाली सकुशल घर फर्किएका छन् । परराष्ट्र मन्त्रालय र दूतावासको सहकार्यमा उनीहरूलाई घर फर्काइएको हो । नेपाल सरकारद्वारा पटक-पटक रुससँग कूटनीति संवाद गर्दै नेपालीहरूको विषयमा चासो राख्दै आइरहेको छ । तर, रुसको परराष्ट्र मन्त्रालय भने रक्षा मन्त्रालयलाई देखाउँदै जवाफ दिन आलटाल गरिरहन्छ । रुसले सन् २०२२ मा रसियन सेनामा भर्ती हुन चाहने विदेशी नागरिकलाई एक वर्षभित्रै रुसको नागरिकता दिने कानुन बनाएको थियो । जसकारण नेपाल मात्र हैन अन्य देशका नागरिक पनि जीविकोपार्जनका लागि राम्रो तलब पाउने आसमा भर्ती हुने गरेका छन् ।
ज्यान गुमाउने नेपालीहरू
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भदौ १४ गतेसम्म रुसमा ज्यान गुमाउनेहरूमा राजकुमार रोका-दोलखा, शुक्रबहादुर तामाङ-काठमाडौं, भरतबहादुर शाह-काठमाडौं, देवन राई-कास्की, प्रितम कार्की-स्याङ्जा, गंगराज मोक्तान-इलाम, रुपक कार्की-कपिलवस्तु, सन्दीप थपलिया-गोरखा, कुन्दनसिंह नगाल-दार्चुला, हरिप्रसाद अर्याल-स्याङ्जा, राजकुमार गिरी-धादिङ, धनसिंह पुन-रोल्पा, पूर्णबहादुर गुरुङ-धादिङ, सुन्दर मुक्तान-रसुवा, गंगाराम अधिकारी-झापा, पदमबहादुर घिमिरे-उदयपुर, सञ्जय केसी-बाँके, नवीन शाही-जाजरकोट, जितबहादुर विक-बागलुङ, अनितकुमार साह-महोत्तरी र खगेन्द्र राईका मगर-धनकुटा हुनुहुन्छ ।
यस्तै, वीरवल राई-संखुवासभा, बलराम गुरुङ-रुकुम, तेजबहादुर शाही-दैलेख, सुरेन्द्र राना-जुम्ला, लालबहादुर बुढा-रुपन्देही, राजु थारू, फुर्वा शेर्पा-दोलखा, सुरज विक-स्याङ्जा, नेत्रबहादुर घर्ती-धादिङ, शंकर दमाईं-गुल्मी, साजन गुरुङ-लमजुङ, शान्तबहादुर भोलान-सिन्धुली, घनश्याम परियार, संजोक आचार्य, नवीन शाही, विमल लिम्बू, विक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुनुहुन्छ ।
युक्रेनको कब्जामा सात नेपाली
रुसी सेनामा भर्ती भई अहिले सात नेपाली युक्रेनी सेनाको कब्जामा छन् । यसरी कब्जामा परेका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी, मकवानपुरका ईश्वर लामिछाने र मदन दाहाल (जिल्ला खुलेको छैन) हुनुहुन्छ । उहाँहरूलाई नेपाल सरकारले रुसी सरकारसँग सहकार्य गरेर छुटाउने प्रयास गरे पनि हालसम्म उक्त पहल सफल हुन सकेको छैन । साथै, यसै महिना राष्ट्रपति रामचन्द्र पौडेलले जेनेभा र जर्मनीको भ्रमण गर्दा जर्मनीका राष्ट्रपतिसामु नेपालीहरूलाई युक्रेनी सेनाको कब्जाबाट उठाउनको लागि पहल गर्नुभएको थियो । बर्लिनस्थित नेपाली दूतावासले पनि युक्रेन सरकारसँग नेपालीहरूलाई छाडिदिनको लागि आग्रह गरिरहेको छ । अर्कोतर्फ बर्लिनस्थित नेपाली दूतावासले पनि युक्रेन सरकारसँग सहकार्य गरेर छुटाउने पहल गरिरहेको छ । तर, उक्त पहल सफल हुन सकेको छैन ।
भारत र युएईको बाटो हुँदै रुस
वैदेशिक रोजगारीका आकांक्षी नेपालीले रुस-युक्रेन युद्धलाई समेत उपयोग गर्दा आफूलाई जोखिममा पारेका छन् । अध्ययन, भ्रमण, रोजगारी र अन्य उद्देश्यले नेपाली युवा रुस पुगेका हुन् । रुसमा पढ्न र रोजगारीका लागि नेपाली युवा रुस-युक्रेन युद्ध सुरु हुनुभन्दा अघिबाटै जाने गरेका थिए । युद्ध सुरु भएपछि झन् धेरै रुस जाने क्रम बढेको छ । नेपाली युवा भारत र युएईको बाटोहुँदै रुस पुग्ने गरेका छन् ।
भर्ती रोकिएको दाबी
गैरआवासीय नेपाली संघ (एनआरएनए) रुसका अध्यक्ष केशव तिमिल्सिना नेपाली नागरिकलाई रुसले आफ्नो सेनामा भर्ती गर्न रोकेको बताउनुहन्छ । ‘रुसले नै भर्ना लिन रोकेको जनाएको छ । त्यसैले नयाँ आउने छँदै छैनन् । पुराना पनि एक वर्षको कन्ट्र्याक्ट सकेर फर्किंदै छन्’, उहाँले भन्नुभयो । रुसस्थित नेपाली दूतावासले त्यहाँको रक्षा मन्त्रालयसँग वार्ता गरेर नेपाली नागरिकलाई सेनामा भर्ती नगर्ने विषयमा सम्झौता नै गरेको उहाँको दाबी छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राई भने कुनै औपचारिक सम्झौता नभएको तर मौखिक आश्वासन दिएको बताउनुहुन्छ । तर, रुसी सेनामा आबद्ध नेपाली नागरिक डायमण्ड सी म्याग्देलीले भने भर्ना नरोकिएको दाबी गर्नुहुन्छ । ‘रुसका मुख्य शहरहरूमा रुसी सेनामा भर्ना हुन आहृवान सहितको पम्प्लेट र ब्यानर झुण्ड्याइएका छन् । तर, म कसैलाई पनि यहाँ भर्ती हुन आउनुहोस् भनेर सुझाव दिन्न र च्यानल मिलाइदिन सक्दिनँ’, उहाँले केही दिनअघि सामाजिक सञ्जालमा लेख्नुभएको थियो । नेपाल सरकारले रुसको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अनिवार्य गरेको छ । यस्तै, श्रम स्वीकृति पनि बन्द गरेको अवस्था छ । तर, पनि नेपालीहरू भारत र दुबईको बाटो हुँदै त्यहाँ पुग्ने गरेको बताइन्छ ।
नेकपा एसका अध्यक्ष माधव नेपाल रुसमा
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गर्नुभएको छ । साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा सहभागी हुन अध्यक्ष आइतबार राति ११ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ । अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रमसमेत छ । उहाँले उच्च भेटघाटमा यो विषय उठाउनुहुने छ या छैन यस विषयमा भने सो पार्टीले केही जानकारी गराएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच