काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक सम्पन्न गरेको ६ महिनापश्चात् महासमिति बैठकमा पेस भएका प्रस्तावहरू पारित गरे पनि आगामी निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा नेताहरूको व्याख्या फरक परेको छ । नेताहरूले फरक व्याख्या गर्न थालेपछि कांग्रेस वृत्तमा अबको निर्वाचनमा गठबन्धन हुन्छ वा हुँदैन ? भन्ने बहस सुरु भएको छ ।
महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा निर्वाचन पूर्व–गठबन्धन नगर्ने प्रस्ताव गर्नुभएको थियो । केन्द्रीय समितिले थापाको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । परिमार्जित प्रस्तावमा ‘गठबन्धन’ शब्द उल्लेख छैन । ‘आगामी निर्वाचनहरूमा कांग्रेसलाई एक्लै लडेर बहुमत हासिल गर्नसक्ने पार्टी बनाउने’ स्पिरिट थापाको प्रतिवेदनमा छ । महामन्त्री थापालगायत उहाँनिकट नेताहरूले केन्द्रीय समितिको बैठकपछि आगामी निर्वाचनमा गठबन्धन नहुने निश्चित भएको दाबी गर्नुभएको छ । तर, संस्थापन पक्षले भने चुनावी गठबन्धनबारे कुनै निर्णय नभएको बताएको छ ।
कांग्रेसले केन्द्रीय समिति बैठकको निर्णयबारे जारी गरेको वक्तव्यमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको मात्रै उल्लेख गरेको छ ।
गठबन्धनबारे केही निर्णय भएको छैन : प्रवक्ता महत
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत महासमिति बैठकका प्रतिवेदनहरू केन्द्रीय समितिले पारित गरेको तर गठबन्धनबारे कुनै निर्णय नभएको बताउनुहुन्छ । ‘केन्द्रीय समितिको निर्णय स्पष्ट छ । निर्णयमा कतै गठबन्धन नगर्ने वा गर्ने भनिएको छैन । गठबन्धन तत्कालीन परिस्थितिको कुरा हो भन्ने सबैले बुझेका छन् । अहिलेलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी काम गर्ने निर्णय भएको हो’, प्रवक्ता महतले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँले पार्टी बैठकका निर्णयहरूको आशयलाई तोडमोड गरी प्रचार गरिएको आरोपसमेत लगाउनुभयो । ‘केन्द्रीय समितिको निर्णयको स्पिरिटविपरीत प्रचार गर्ने काम भइरहेको छ । अहिले संगठनका काम गर्दा एक्लै बहुमत ल्याउन सक्नेगरी काम गरौँ भनेको हो । चुनावमा के गर्ने भन्ने कुरा त्यतिबेलै छलफल हुन्छ’, महतले भन्नुभयो । उहाँले महासमितिको बैठकले पार्टीलाई बलियो बनाउने गरी सांगठनिक काम गर्न निर्देश गरेको भन्दै तीन वर्षपछि हुने चुनावबारे अहिले नै गठबन्धन हुँदैन भन्न नसकिने बताउनुभयो । कांग्रेसले एक्लै बहुमत ल्याउनेगरी संगठन सुदृढ भएको अवस्थामा कसैसँग गठबन्धन नगर्ने उहाँको भनाइ छ ।
पार्टी निर्णयले चुनावी गठबन्धनको ढोका बन्द : केन्द्रीय सदस्य शिवाकोटी
संस्थापनइतर पक्षका नेताहरू भने केन्द्रीय समितिको बैठकले स्पष्टसँग कार्यकर्ता र शुभेच्छुकलाई रूख चिहृनमा मात्रै मतदान गर्ने वातावरण बनाउने निर्णय गरेकाले गठबन्धनको सम्भावना टरेको दाबी गर्छन् । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पार्टीले ‘प्री-इलेक्सन एलायन्स’ नगर्ने निर्णय गरेको बताउनुहुन्छ । ‘केन्द्रीय समितिले अब हुने संघ, प्रदेश वा स्थानीय तहका आवधिक निर्वाचन आफ्नै बुतामा लड्ने, कार्यकर्ता र शुभेच्छुकलाई रूखमा मात्रै मतदान गर्ने वातावरण बनाउने निर्णय गर्नु नै गठबन्धन नगर्ने निर्णय गर्नु हो’, शिवाकोटीको भनाइ छ । उहाँले महामन्त्री थापाले महासमिति बैठकमा पेस गरेको प्रस्तावको स्पिरिट परिमार्जन नभएको दाबी गर्नुभयो । ‘विगतमा झैँ अन्य दलसँग चुनावी तालमेल नगरी एक्लै चुनाव लडेर बहुमत ल्याउने पार्टी बनाउने भन्नुको अर्थ स्पष्ट छ । अब कांग्रेसले गठबन्धन गर्दैन, आफ्नै बुतामा चुनाव लड्छ’, उहाँको भनाइ छ । कांग्रेसमा चुनावी गठबन्धन गर्न नहुने र गठबन्धनबारे अहिल्यै निर्णय गर्न नहुने दुई विचार समूह थिए । केन्द्रीय समितिले दुवै पक्षको ‘विन-विन’ हुनेगरी निर्णय गरेकाले दुवै पक्षले आफूखुसी व्याख्या गरेको पाइन्छ । ‘चुनावमा के हुन्छ त्यतिबेलै हुन्छ अहिलेलाई केन्द्रीय समितिको निर्णयलाई जसले जसरी व्याख्या गरे पनि हुनेगरी पारित गरेको देखिन्छ’, एक केन्द्रीय सदस्यले भन्नुभयो । उहाँका अनुसार सभापति शेरबहादुर देउवा र महामन्त्री थापाले तत्कालका लागि मध्यमार्गी भाषा प्रयोग गरेर महासमिति बैठकको प्रतिवेदनहरू पारित गर्नुभएको हो ।
कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयमा गुट अनुकूलका व्याख्या हुनु कांग्रेस वृत्तमा स्वाभाविक मानिन्छ । कांग्रेसले औपचारिक रूपमा केन्द्रीय समितिबाट पारित प्रस्तावहरूको प्रमाणित लिखत सार्वजनिक गरिसकेको छैन । यस्तो अवस्थामा चुनावी गठबन्धनको विषयलाई नेताहरूले गुटगत प्रतिष्ठा र पार्टी राजनीतिको आन्तरिक खपतका लागि मात्रै प्रयोग गर्न खाजेको स्पष्ट हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच