एउटा अपरिचित व्यक्तिलाई चर्दै गरेकी कोरलीको वरिपरी घुमी-घुमी हेरेको देख्दा रूखको छाहारीमा बसेर गाई-बस्तु हेर्दै गरेको ठुल्ठूला पाखुरा र तिघ्रा भएको दिलबहादुर राईले कड्कीएर भन्यो, ‘एई, को हौ तिमी ? मेरी कोरलीलाई किन घुमी-घुमी हेर्दैछौ हँ ?’
अपरिचित व्यक्तिले नजिकै आएर भन्यो, ‘मेरो नाम रामबहादुर भुजेल हो । म एउटी कोरलीको खोजीमा निस्किएको हुँ । तपाईंको गोठमा एउटी राम्री कोरली छ भन्ने थाहा पाएर घर खोज्दै यहाँसम्म आइपुगे । जस्तो वर्णन सुनेको थिए त्यस्तै रहिछ तपाईंको कोरली । मलाई तपाईंकी यो कोरली साह्रै मन पर्यो । बेच्ने हो सुब्बा ?’
सुब्बाको सम्बोधन सुन्दा प्रसन्न भएको दिलबहादुर राई क्षणभरका लागि सक्पकायो । उसले रामबहादुरको अनुहार र पहिरन नियालेर हेर्यो । गहुँ– गोह्रो रंग, मध्यम कद, ह्रिष्ट-पुष्ट शरीर, दाहिने हातमा लिएको लामो लठ्ठी, खांडीको मैलो दौरामाथि बाँधेको मोटो पटुका, लामो हाफ कट्टु, पुरानो कपडाको जुत्ता लगाएको रामबहादुर कोरली किन्ने खालको मानिस हो जस्तो लागेन उसलाई ।
‘बेच्ने सोच त छ, तर....’ भन्दै अन्कनाएको दिलबहादुर सोध्यो, ‘तिमीले आफ्नै लागि किन्न खोज्यौ कि मुखियाको लागि हो ?’
मुखिया शब्द सुन्दा रामबहादुरको मन एकाएक तीतेपाती चपाए जसरी तीतो भएर आयो । आफू अपहेलित भएको अनुभूति हुँदा केही उत्तेजित भएको उसले भन्यो, ‘आफ्नै लागि हो हौ सुब्बा !’
केहीबेर घोरिएको दिलबहादुरले भन्यो, ‘आफ्नै लागि हो भने, भीरघरे साइलाकोमा जाउ । उसँग हुर्किएकी एउटी राम्री बाच्छी छ । त्यो बाच्छी लिएर जाउ । मोलतोल गर्न सक्यौ भने सस्तोमै दिन्छ उसले । चार महिना अगाडि बहर लागिसकेकी यो कोरली ब्याउने भएकी छ । यसको दाम महँगो पर्छ । तिमी किन्न सक्दैनौ होला !’
दिलबहादुरले ओल्चियेर बोलेको सुन्दा झनक्क रिस उठ्यो रामबहादुरलाई । खल्ती दह्रो भएको बेला पनि धाक-धक्कु लगाउन पाइएन, थोरै तिना रिसको प्रदर्शन गर्न पाइएन भने साथमा रुपैयाँ हुनुको मजा नै के भयो र ? मनै मनमा मुर्मुरिएको रामबहादुरलाई आफ्नो पोल्टामा भएको एक सय दश रुपैयाँ निकालेर दिलबहादुरको मुखमा हिर्काउ र कोरली डोर्याएर हिँडुजस्तो लाग्यो । तर, आफूले सोचेरमात्र कहाँ हुन्छ र ? कोरली डोर्याउन त दिलबहादुरको मञ्जुरी चाहियो ! धेरै फाइफुट्टी लगाउन खोज्दा, ऊ पनि राईको छोरा हो, बिच्किन बेरलाग्दैन भन्ने कुरा हेक्का राखेको रामबहादुरले आफूलाई संयमित बनाउँदै भन्यो, ‘लामो कुरा गरेरमात्र कुनै निचोड निस्किने होइन क्यारे सुब्बा ! बेच्ने नै हो भने दाम कति राख्नु भएको छ ? त्यो त भन्नुहोस ?’
पुल्पुलिएर हुर्किएको रामबहादुर अलि अल्छी र उट्पट्यांग स्वभावको थियो । ऊ जति अल्छी थियो उसकी पत्नी पुतली त्यत्तिकै फूर्तिली र सुन्दर थिई । पुतलीको सुन्दरता र फूर्तिलोपनको प्रशंसक थियो पूराका पूरा गाउँ । रामबहादुरलाई औधि प्रेम गर्ने पुतलीलाई उसको अल्छीपनप्रति कुनै गुनासो थिएन ।
दिलबहादुर राईले मनै मनमा सोच्यो, यसले कोरली किन्ने त होइन नै ! ‘मुखका बाबुको थकाइ न फकाई’ अलिकति मूल्य बढाएर भने के फरक पर्छ र ! उसले कोरलीको मुल्य आठ–बीस दश (एक सय सत्तरी रुपैयाँ) भन्यो ।
उसको छेउमा उभिएको रामबहादुरले ठट्यौली पारामा हाँस्दै भन्यो, ‘हाम्रो गाउँकी मुखिनीले अस्तिमात्र एउटा लाहुरेसँग तीन सय रुपैयाँमा एक तोला सुन किनिन् । तपाईं एउटी कलिली कोरलीको मूल्य आठ-बीस दश भन्नु हुन्छ । गाउँ-ठाउँको चलन चल्तीको मोल गर्नु भएन है सुब्बा तपाईंले । बरू बेच्दिन भने भइहाल्यो नि !’ भन्दै हिँड्ने तरखरमा लाग्यो रामबहादुर ।
रामबहादुरको गहकिलो कुरा सुन्दा ‘यसले साँच्चिकै कोरली किन्छ कि क्या हो ?’ भन्ने लागेको दिलबहादुरले पुनः एकपटक नियालेर उसको अनुहारमा हे¥यो । उसका चिम्रा आँखा निमिषभरमा चम्किला भएर आए । उसले रामबहादुरको दौराको फेर समात्दै आफ्नो छेउमा बस्न इशारा ग¥यो । र, भन्यो, ‘हत्ते नै हाल्यौ ! भन के साँच्चिकै किन्ने हो ? किन्छौ नै भने फरक नपर्ने गरी अन्तिम मूल्य भन्छु । यो कोरलीको अन्तिम मूल्य पाँच-बीस दश (एक सय दश रुपैयाँ) भयो । यदि तिमीसँग मैले भने जति रकम छ भने खन्खनी गनेर कोरली लैजाउ ।’
रामबहादुरले पटुकामा बाँधेको रुपैयाँमध्ये दश रुपैयाँ बाँकी राखेर अरू सबै रुपैयाँ निकाल्दै भन्यो, ‘लिनुस, मसँग पाँच-बीस (एक सय रुपैयाँ)भन्दा बढी एक पैसा पनि छैन । दिनुहुन्छ भने लिनुहोस् यो रुपैयाँ, नत्र म कोरली खोज्न अन्यत्रै जान्छु ।’
चार–बीस(असी रुपैयाँ)मात्र पाएमा पनि कोरली बेच्ने सोच बनाएको दिलबहादुर एकाएक पाँच-बिस (एक सय रुपैयाँ) गन्न पाउँदा दंग पर्यो । उसको अनुहार भर्खर मात्र पाउला पल्हाएको बुढो रुख जसरी उज्यालो देखियो ।
मानिसको अहंकारी मन न हो ! आफ्नो बिबशता देखाउन कहाँ मानेको हुन्छ र ! रुपैयाँ गनेर खल्तीमा राखेपश्चात् आफ्नो उदारता र बडप्पन देखाउन उद्धत दिलबहादुरले गुन लगाए जसरी भन्यो, ‘बेच्ने मन त थिएन, साह्रै नै रहर गर्यौ । ठिकै छ, लैजाउ ।’
दिलबहादुरले चर्दै गरेकी कोरलीको घांटीमा दाम्लो बाँधेर रामबहादुरको हातमा दिंँदै गर्दा आत्तिए जसरी एकाएक बाँ..गर्दै बेस्सरी कराई कोरली । उसको पीडायुक्त स्वर सुनेका दिलबहादुर र रामबहादुर दुवैका आँखा कोरलीको अनुहारमा पुगेर अडिए । कोरलीका आँखाबाट बरर. बरर. आँसु झर्दै थिए । त्यो दृश्य देख्दा एकाएक भावविहृवल भएको दिलबहादुरले कोरलीका आँसु पुछिदियो । कोरलीको गर्धन अंगालोमा लिएर उसको अनुहार सुम्सुम्याउँदै भन्यो, ‘जाउ बाबा, मेरो बिबशता बुझ !’ काँतर अनुहारले कोरलीलाई हेर्दै हत्केलाले आफ्ना आँसु पुछेको उसको मुखबाट त्योभन्दा बढी शब्द निस्किन सकेनन् । क्षणभरका लागि मुन्टो उठाएकी कोरलीले ट्वाल्ल परेर दिलबहादुरको अनुहारमा हेरिरही । र, अर्को क्षण आफ्नो मुन्टो निहुर्याई ।
रामबहादुरको हातमा कोरलीको दाम्लो सुम्पिएको दिलबहादुर राईको मन पुनः एकपटक आन्दोलित भएर आयो । उसका आँखामा पुनः एकपटक टिलपिल आँसु भरिएर आए । काम्दै गरेको रुन्चे स्वरमा बिस्तारै भन्यो, ‘यो कोरली मेरै आँगनमा जन्मिएर हुर्किएकी हो । मैले धेरै माया गरेर हुर्काएको छु यसलाई । आज पालपोस गरेर हुर्काएकी कोरली तिमीलाई सुम्पिएर पठाउँदा छोरी बिदा गरे जसरी नमिठो लाग्दैछ । के गर्नु ! घरायसी गर्जो टार्नका लागि बेच्न बिवस भएँ । अबको पाँच महिनापछि यो कोरली ब्याउँछे । यसलाई स्याहार-सुसार गरेर राम्रोसँग पाल्नु है ! यो व्याएपछि यसको बाच्छो र यसलाई सुम्सुम्याउँन एकपटक अवश्य आउनेछु तिम्रो घरमा ।’
आँसु पुछ्दै गरेको दिलबहादुरले पुनः एकपटक कोरलीको गर्दन आफ्नो अंगालोमा लिएर अन्तिम पटक प्रेम-प्रदर्शन गर्यो । प्रत्युत्तरमा कोरलीले बाँ.. गर्दै आफ्नो मुन्टो निहुर्याई । कोरलीको दाम्लो समातेको रामबहादुर प्रशन्न मुद्रामा आफ्नो घरको बाटो लाग्यो ।
रामबहादुर भुजेलका पुर्खाले गाउँका मुखियाहरूको कमारो भएर पुस्तौं बिताएका थिए । कमारा कमारी अमलेख भएको पाँच दशक बितिसकेको भए पनि मुखियाहरूको चाकरी गरेर बस्ने कमारा कमारीको संख्या उल्लेख्य थियो गाउँघरमा । ‘कालो अक्ष्यरलाई भैंसी बराबर ठान्ने’ निमुखा कमारा कमारीको शारीरिक, मानसिक र आर्थिक शोषण गर्ने मुखियाहरूको एउटा ठूलो जमात गाउँघरमा यथावत् थियो ।
रामबहादुरले देख्यो, ऊ घर पुग्ने बित्तिकै खुशीले आल्हादित भएर उसलाई अँगालो मार्न आइपुगेकी तारालाई । कोरली गाई देख्दा ताराका ठुल्ठूला आँखा आश्चार्य र उल्लासले भरिँदै गए । फेरि उसले देख्यो ब्याएर बाच्छाको जिउ चाट्दै गरेकी कोरली गाई र दूध चुस्दै गरेको उसको बाच्छो ।
चाकरीमा पुस्तौं बिताएका भए पनि आफ्नो नाममा जग्गा-जमिन र घरघडेरी हुने कमारा कमारी अपवादमा पर्थे । बिरलै भेटिने अपवादमध्येको एक थियो रामबहादुरको बाबु सुन्दरे भुजेल । एउटा घर, दुई हलको मेलो बारी र दुई मुरी धान उब्जिने पाखा खेत उसको नाममा दर्ता भएको थियो । सुन्दरेले कस्तो काम गरेर मुखियालाई रिझायो ? बक्सिसमा कसरी जग्गा-जमिन पायो ? र, कसरी दर्ता भयो ? भन्ने कुरा गाउँघरमा कसैलाई पनि थाहा थिएन । सुन्दरेको देहावसानपछि उसको नाममा रहेको जग्गा-जमिन एकमात्र छोरा रामबहादुरको नाममा नामसारी भएको थियो । त्यत्ति नै थियो रामबहादुरको जम्माजम्मी पुँजी ।
कमाराको छोरो भए पनि पुल्पुलिएर हुर्किएको रामबहादुर अलि अल्छी र उट्पट्यांग स्वभावको थियो । ऊ जति अल्छी थियो उसकी पत्नी पुतली त्यत्तिकै फुर्तिली र सुन्दर थिई । पुतलीको सुन्दरता र फूर्तिलोपनको प्रशंसक थियो पूराका पूरा गाउँ । रामबहादुरलाई औधि प्रेमगर्ने पुतलीलाई उसको अल्छीपनप्रति कुनै गुनासो थिएन ।
उनीहरूकी एउटी सुन्दर छोरी थिई । नाम थियो तारा । छोरीलाई असाध्यै प्रेम गथ्र्यो रामबहादुर । बिहान उठेर रामबहादुर छोरीसँग खेल्न सुरु गर्दासम्म पुतली मेलापात गर्न पुगिसकेकी हुन्थी । साँझ-बिहान जंगलबाट घाँस दाउराका ठुल्ठूला भारी ल्याउने, दिनभरि गाउँघरको मेला–पात गर्नमा खट्ने पुतलीले रामबहादुरले कमाएर ल्याउनेभन्दा दुई गुणा बढी बनी गरेर ल्याएकी हुन्थी । घर-व्यवहारलाई व्यवस्थित गर्न रातदिन एक गरेर काममा खटिएकी हुन्थी पुतली ।
फुर्सदको बेला दुवै जोईपोई मिलेर आफ्नै बारीका बाँस ल्याएर चोया काड्थे । उट्पट्यांग स्वभावको रामबहादुर हाँस्दै, गाउँदै, घरीघरी नाच्दै, डोको र ढाकर बुन्थ्यो । रामबहादुरको उट्पट्यांग बालसुलभ क्रियाकलाप देखेर दंग पर्ने पुतली आफूले जंगलबाट ल्याएको भोर्लाको पातले छाएर वर्षायाममा छाताको काम गर्ने घुम तयार गर्थी । मकैको खोसेलाको ढकी, परालको गुन्द्री बुन्न पनि सिपालु थिई पुतली । आफूहरूले बुनेका ती सामान बेचेर वा अन्नसँग साटेर छोरीको फर्माइस पूरा गर्ने गर्थे उनीहरू ।
गाउँमा एयरपोर्ट बन्न सुरु भएसँगै रोजगारीको अवसर बढ्यो । एयरपोर्ट तयार भएपश्चात् जहाजबाट आवागन गर्ने यात्रुको भारी बोकेर घरघरमा पु¥याउने काम सुरु गर्यो रामबहादुरले । दुःख-जिउलो गरेर भए पनि तीनजनाको परिवारका दिन आनन्दसँग बित्दै गए । खुशी र सुखी थियो उनीहरूको परिवार ।
समय उड्दै गयो । तारा आठ वर्षकी भई । एक दिन खाना खानु अगाडि रामबहादुरले तारालाई एउटा औंखोरा दिएर मुखियाको घरमा मोही माग्न पठाएको थियो । ‘हलो जोत्न छोडेर हाकिम भएको छ । आफैंले गाईभैँसी किनेर दही-मोही खान भन् तेरो बाबुलाई’ भन्दै मुखिनीले बेस्सरी हकारिन तारालाई । रुन्चे अनुहार लगाएर रित्तो हात फर्किई तारा । त्यो दिन उसले भनी, ‘बुबा हामी पनि एउटा गाई किनौं न !’
छोरीलाई त त्यो बेला उसले हाँसेर आलटाल गर्यो । तर, उसको मनभित्र आँधीबेहरी चलेको थियो । छोरीको इच्छा तत्काल पूरा गर्नसक्ने स्थिति नभएको रामबहादुरले वर्ष दिनभित्र बिहाउने खालकी एउटी कोरली गाई किन्ने मनै मनमा प्रण गर्यो ।
मानिसको सोचनुसार कहाँ चल्छ र जिन्दगी ! दैवलाई रामबहादुरको खुशी मञ्जुर थिएन सायद ! एक दिन डाले-घाँस झार्न रूखमा चडेकी पुतली त्यही रूखबाट लडेर थलापरी । धामी, झाँक्री र वैद्यले काललाई छक्याउन सकेनन् । एक हप्तासम्म ओच्छ्यानमा छट्पटिएकी पुतली एकाएक परमधाम प्रस्थान गरी । रामबहादुर र ताराको जीवन अन्धकारले छोपियो । परलोक प्रस्थान गर्नुपूर्व आफ्नो फिक्का र श्रीहीन आँखामा सम्पूर्ण करुणा र प्रेम बटुलेर उसले रामबहादुरलाई भनेकी थिई, ‘मैले मेरी तारालाई अब तिम्रो जिम्मा लगाएँ । यसलाई कुनै दुःख नहोस् है ।’
पुतली सदाका लागि उडेर गई । पुतलीको अन्तिम संस्कारका लागि रामबहादुरसँग पर्याप्त रुपैयाँ थिएन । नपुग भएको रुपैयाँ काम गरेर चुक्ता गर्ने शर्तमा मुखियासँग ऋण लिएर काम चलायो ।
पुतलीको अन्तिम वाक्यले रामबहादुरको पूरा जिन्दगी बदल्दियो । पुतलीको देहान्तपश्चात् छोरीको रेखदेख रामबहादुरले आफ्नी विधुवा दिदीलाई घरमा बोलाएर ल्यायो । आफ्नो अल्छीपनलाई छोडेर मृत पत्नीको अभिलाषा पूरा गर्नमा संलग्न भयो रामबहादुर ।
रामबहादुर रातदिन केही नभनी काम गथ्यो ता कि आफ्नी पत्नीले जिम्मा लगाएको नासो, आफ्नी प्यारी छोरीका लागि उसको मागअनुसारका खाने कुरा र खेलौना दिन सकोस् । जब-जब ऊ एयरपोर्टबाट सदरमुकामको भारी पुर्याएर घर फर्किन्थ्यो, ‘बुबा मेरो लागि के ल्याउनुभयो ?’ भन्दै उसको दौराको फेर समाउँन आईपुग्थी उसकी प्यारी छोरी तारा । बोकेर म्वाई खाँदै उसलाई मिठाई र खेलौना दिने गथ्यो । बाबुले ल्याइदिएका मिठाई र खेलौना बोकेर साथीहरूलाई देखाउन तल्लो घर र माथिल्लो घरतिर कुद्दै गरेकी छोरीलाई देख्दा उसको थकाई त्यत्तिकै मेटिन्थ्यो ।
छोरीलाई औधि प्रेम गर्ने रामबहादुर उसको भविष्य सुन्दर बनाउन आफूलाई अझ बढी सक्रिय बनाउँदै गयो । एयरपोर्टमा जहाज अवतरण नगर्ने दिन ऊ कहिले मुखियाकोमा हलो जोत्न पुगेको हुन्थ्यो । कहिले घर छाउने र घर बनाउने कर्मीको सहायक बनेर काम गथ्र्यो । कुनै दिन खर काट्न खरबारीमा पसेको हुन्थ्यो त कहिले कसैको बारी खन्न र गोड्न पुगेको हुन्थ्यो । गाउँघरमा जहाँ जे काम पाइन्छ त्यो काम गर्न पछि पर्दैनथ्यो । उसले गरेको मिहिनेत देख्दा दिदीले भन्ने गर्थिन्, ‘भाइ कति काम गर्छस् । यति धेरै खटाइले बिरामी हुनबेर लाग्दैन ।’
रामबहादुरले भन्ने गथ्र्यो, ‘त्यस्तो केही हुँदैन दिदी, तिम्रो भाइ बलियो छ, जत्ति पनि खट्न सक्छ ।’ यस्तो बेला उसको आँखा अगाडि पुतलीको अनुहार उभिन आईपुग्थ्यो । उसको अन्तिम अभिलाषा उसको कानमा गुन्जिन्थ्यो । ऊ आँगनमा खेल्दै गरेकी छोरीको अनुहारमा स्नेहयुक्त दृष्टिले हेर्दै आफ्नो काममा लाग्थ्यो ।
एक वर्षको कडा परिश्रमपश्चात् घर खर्च कटाएर एक सय दश रुपैयाँ बचाउँन सफल भएको रामबहादुर आफ्नो चीर सञ्चित अभिलाषा पूरा गर्न सफल भएको थियो । आज उसको हातमा कोरली गाईलाई डोर्याउँदै गरेको दाम्लो थियो ।
कोरालीलाई डोर्याउँदै हिँडेको रामबहादुरले छोरीलाई सम्झियो । त्योसँगै रंगि-बिरंगी तुलिका लिएर उपस्थित भएकी कल्पनाकी देवीले उसको मानसपटलमा अनेक किसिमका तस्बिर बनाउन थालिन ।
रामबहादुरले देख्यो, ऊ घर पुग्ने बित्तिकै खुशीले आल्हादित भएर उसलाई अँगालो मार्न आइपुगेकी तारालाई । कोरली गाई देख्दा ताराका ठुल्ठूला आँखा आश्चार्य र उल्लासले भरिँदै गए । फेरि उसले देख्यो ब्याएर बाच्छाको जिउ चाट्दै गरेकी कोरली गाई र दूध चुस्दै गरेको उसको बाच्छो । ढुंग्रो लिएर दूध दुहुन बसेको उसले कोरलीको एउटा थुनको दूध बाच्छालाई छोडेर अरू सबै थुनको दूध निखारेर दुहृयो । तिनोटा थुनबाट निस्किएको चारमाना दूध कराहीमा उमालेर तात्तातो दूध छोरीलाई पिउन दियो । बाँकी दूध दही जमाउन ठेकीमा हाल्यो । अर्को दिन मदानीले मथेर नौनी घ्यू निकाल्यो । नौनी घ्यूलाई पगालेर हर्पेमा खान्यायो । पहिलोपटक मोही पारेर नौनी घ्यू निकालेको दृश्य देख्दा दंग परेकी कलिली छोरीले अचम्म मान्दै आफ्नो पुरुषार्थी बाबुको अनुहारमा ट्वाल्ल परेर हेरिरही । दिदी र छोरीसँग बसेर टन्न मोही र भात खाएपश्चात् उपरखुट्टी लगाएर दलानको खाटमा गएर पल्टियो ।
आफ्नो कल्पनामा मस्त भएर हिँड्दै गरेको रामबहादुर डाँडागाउँमा पुग्दा उसको मनमा अचानक अर्को एउटा विचार आएकोले कल्पनालोकबाट बाहिर निस्कियो । डाँडागाउँ पुग्दा मध्यान्न ढल्किँदै थियो । डाँडागाउँमा मिश्रित जनजातिको पातलो बस्ती थियो । त्यसमध्येका एक घर चुँदाराको थियो । रामबहादुरले कोरलीलाई नजिकको खोल्सामा लगेर पानी पिलायो । रूखका चिउला भाँचेर घाँस खान दियो । त्यसपछि कोरलीलाई डोर्याउँदै गाउँको पल्लोछेउमा भएको चुँदाराको घरतिर लाग्यो । अधबैंसे उमेरको चुँदारा नयाँ हर्पे र ठेकी उजिल्याउँदै थियो ।
रामबहादुरलाई देखेको चुँदाराले बस्नलाई मकैको खोसेलाको पिरा दिँदै भन्यो, ‘धेरै दिनपछि पो देखा पर्यौ त जेठा । अनि कसको कोरली डोर्याएको नि ?’
रामबहादुरले फूर्तिसँग भन्यो, ‘कसको हुनु नि ! आफ्नै हो काका । यो कोरलीको ब्याउने दिन नजिकै आइसकेको छ । मलाई दूध दुहुने एउटा ढुंग्रो, एउटा ठेकी, मदानी र घ्यू राख्ने हर्पे बनाइदिनुहुन्छ कि भनेर भेट्न आएको थिएँ । फुर्सद छ कि छैन कुन्नी ?’
‘फुर्सद त के नहुनु जेठा, जत्ति पनि छ । तर, ठेकी बनाउने दारको काठ पाउन पो गाह्रो छ आजकल । सामल खाजा बोकेर कस्सिएर हिँड्दा एक दिनको बाटो टाढाको जंगलमा जानुपर्छ । दुई-तीनदिन त्यहीं जंगलमै बिताउनुपर्छ । निकै कष्टको काम छ जेठा । काम त गरिदिन्छु । तर, तिमीसँग बैना दिने पैसा पो छ कि छैन ?’ भन्दै रामबहादुरको अनुहारमा हेर्यो ।
रामबहादुरले बचाएर राखेको दश रुपैयाँमध्ये पाँच रुपैयाँ निकालेर चुँदारालाई दियो । र, ‘बाँकी रुपैयाँ सामान लिन आउँदा दिन्छु है काका !’ भन्दै आफ्नो बाटो लाग्यो ।
रामबहादुरलाई घर पुग्न अझै धेरै बाटो हिँड्न बाँकी थियो । कोरलीलाई आफ्नो आँगनमा उभिएको देख्दा छोरीको मुखमण्डलमा देखापर्ने उल्लास हेर्ने रहरले अँध्यारो हुनुअगाडि नै घर पुग्न चाहने रामबहादुरका पाइला छिट्टो- छिट्टो चल्दै थिए । साँझ पर्न लाग्दा ऊ राताघरे मुखियाको घरनजिक पुगेको थियो । रामबहादुरको घरजाने बाटो राताघरे मुखियाको आँगनछेउ भएर जान्थ्यो ।
हुक्का ट्वार-ट्वार पार्दै बालिष्टमा अडेस लागेर बसेका राताघरे मुखियाले रमितलाग्दो कोरली डोर्याएर आउँदै गरेको रामबहादुरलाई ठुल्ठूलो स्वरमा, ‘कसको कोरली डोर्याएको ए रामे ? यता आइज त !’ भन्दै बोलाए ।
जतिसुकै घ्यू–तेल घसे पनि कहिल्यै चिल्लो नहुने मानिसको जिब्रोजस्तो स्वभाव भएका । जिऊ-ज्यान एक गरेर काम गर्दा पनि कहिल्यै खुशी नहुने । गाउँघरमा जो कोहीको किन नहोस्, किर्ते गरेरै भए पनि राम्रो जति आफैंलाई चाहिने, पिराहा र दुष्ट स्वभाव भएका राताघरे मुखियाबाट टाढै बस्न रुचाउने रामबहादुर शशंकित हुँदै मुखियाको आँगनमा गएर उभियो ।
छाँगाबाट खसेजस्तो भएर गोठमा बाँधेकी कोरलीलाई हेर्दै उभिएको रामबहादुरका आँखाबाट लाचारीका चार थोपा आँसु अनायास भुइँमा झरे । आँसु पुछ्दै किमकर्तव्यबिमुढको स्थितिमा उभिएको रामबहादुर अन्यमनस्क भावमा घरतिर लाग्यो ।
बालिष्ट छोडेर उसको छेउमा आएका मुखियाले कोरलीलाई सुम्सुम्याउँदै भने, ‘आहा ! कति सुन्दर र सुड्डोल अंग भएकी, मनै लोभ्याउने कोरली ल्याइछस् तैंले । कसको हो ?’
‘मेरो आफ्नै हो मुखिया । डाँडापारि गैरीगाउँको दिलबहादुर राईसँग किनेर ल्याउँदै छु ।’
‘कतिमा किनिस् ?’
‘भन्न त सात-बिस भन्थ्यो तर, पाँच-बीसमा दियो ।’
मुखियाले पुनः एकपटक लोभ लाग्दो दृष्टिले कोरलीलाई हेर्दै भने, ‘म पनि खोज्दै थिएँ यस्तै सुन्दर कोरली । तैले सस्तोमा पाइछस् । यहीँ छोडेर जा, म तँलाई सात बीस दिन्छु ।’
छोरीको रहर मेटाउन ल्याएको हो मुखिया । उसले देख्नसम्म पनि पाएकी छैन ! कसरी छोडौं ? जति रुपैयाँ दिए पनि म यो कोरली बेच्दिनँ ।
केही नबोली घरभित्र पसेर हातमा कागजको एउटा चिर्कटो हल्लाउँदै पुनः बाहिर निस्किएका मुखियाले एकाएक, ‘इमानदार छस् भन्ने ठानेर मैले तेरो गर्जो टारिदिएको थिए रामे । त यति बेइमानी होलास् भन्ने कुरा त मैले सोचेको पनि थिइन । तसँग रुपैयाँ त रहेछ नि ! कोरली किन्नुभन्दा पहिले सोच्नु पर्दैनथ्यो श्रीमतीको काज-क्रियामा मसँग लिएको ऋण तिर्नुपर्छ भन्ने कुरा ?’ भन्दै कड्किए मुखिया ।
रामबहादुरले विस्तारै भन्यो, ‘वर्षभरी खेतबारी जोतेको, एक कोष तल रहेको खोलाखेतबाट महिनाभरी धान ओसारेको, मधेसबाट भारी बोकेर ल्याएको सबै हिसाब गर्दा मैले पाउने ज्याला तपाईंलाई तिर्नुपर्ने ऋणभन्दा बढी हुन आउँछ । मैले तपाईंसँग लिएको सबै ऋण काम गरेर चुक्ता गरिसकेको छु । म तपाईंको ऋणबाट अऋणी भइसकेको छु मुखिया ।’
‘उसो भए के म झुठो बोल्दैछु ? रुपैयाँ तिरेको भए तँजस्तो धूर्त मानिसले तमसुक छोडेर जान्थिस् ? यि हेर्, यही हो तेरो तमसुक ।’ एउटा नेपाली कागजको चिर्कटो हल्लाउँदै रन्किये मुखिया ।
तीन महिनाअगाडि मात्र मधेसबाट पाँचदिनको बाटो मरिकुच्च भारी बोकेर ल्याइँपुर्याउँदा तपाईंले नै, ‘अरूले बोक्नेभन्दा डबल भारी बोकेर ल्याइछस् । वर्षभरी हलो पनि जोतिस्, ला ! तेरो तमसुक च्याति दिएँ है रामे !’ भन्दै एउटा कागजको चिर्कटो च्यातेर फाल्नुभएको थियो । त्यो बेला मैले तपाईंको बोलीलाई विश्वास गरे मुखिया । आज धोका पाए’, भन्दै मुन्टो निहर्यायो ।
‘ऋण लिने बेलामा रुन्चे अनुहार लगाएर हात मोल्दै लिएर गइस्, तिर्ने बेलामा अनेक नखरा गर्छस् ? तैंले सहीछाप गरेको तमसुक लिएर जाउँ पुलिसकोमा ? ल्याप्चे लगाएर लिएको ऋण काम गरेर चुक्ता गरिसके भनेर जबरजस्ती गर्न खोजिस भने पुलिसको ठिन्गुरामा पर्लास्, होस् गर नि केटा !’ भन्दै पुनः कड्किए मुखिया ।
पुलिस ठानाको हाकिम-हबल्दार राताघरे मुखियाको सालो थियो । परिस्थितिको जटिलता बुझेर कुनै जवाफ दिन नसकेको रामबहादुर बुढीऔंलाले भूँई खोर्सँदै चुपचाप आँगनमा उभिइरहृयो ।
त्यस्तैमा मुखियाले भने, ‘पुतलीको काजक्रियाका लागि तैंले लिएको सापटीको सावाँब्याज जोड्दा एक सय रुपैयाँ हुनआउँछ । त्यो सबै कट्टा गरेर बाँकी हुन आउने चालीस रुपैयाँ मेरो जिम्मामा भयो । तेरो साँझ-बिहानको खाँचो सधैं त्यस्तै त हो ! अभर परेको बेला आएर भन्नु । थोर-थोरै गर्दै खटाएर दिउँला । अहिलेलाई घर गए हुन्छ ।
‘ए धने ! कोरलीलाई लगेर गोठमा बाँध है !’ भन्दै गोठालोलाई अह्राएर राताघरे मुखिया घरभित्र पसे ।
गाई-बस्तुलाई घाँस हाल्दै गरेको घनेले कुद्दै आएर रामबहादुरको हातबाट दाम्लो खोस्यो । कोरलीलाई देखेर दंग परेको धनेले, ‘आहा ! कति राम्री कोरली ल्यायेछौ राम दाइ’ भन्दै घिस्स्याउँदै लग्यो ।
छाँगाबाट खसेजस्तो भएर गोठमा बाँधेकी कोरलीलाई हेर्दै उभिएको रामबहादुरका आँखाबाट लाचारीका चार थोपा आँसु अनायास भुइँमा झरे । आँसु पुछ्दै किमकर्तव्यबिमुढको स्थितिमा उभिएको रामबहादुर अन्यमनस्क भावमा घरतिर लाग्यो ।
कृष्णपक्षको साँझ । चन्द्रमा उदाएका थिएनन् । आकाशमा फाट्टफुट्ट तारा देखिँदै थिए । अँध्यारो बढ्दै थियो । हिँड्दै गरेको बाटो छेउछाउका रुख–बिरुवा कालो धब्बामा परिणत हुँदै गए । घरमाथिको बारीमा पुग्दासम्म निस्पट अँध्यारो भइसकेको थियो । बारीको डिलमा पुगेर उभिएको रामबहादुरले घरको आँगनमा हेर्यो । घरभित्रबाट निस्किएको टुकीको मधुरो प्रकाश आँगनमा छरिएको थियो । उसलाई पर्खिएर बसेकी छोरी आँगनमा यताउती गर्दै थिई । छोरीको अगाडि पर्ने हिम्मत जुटाउन सकेको रामबहादुर लामो सुस्केरा तान्दै नजिकैको बकाइनुको रूखको फेदमा अडेस लागेर राति अबेरसम्म बसिरहृयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच