टुँडिखेल घटना : उछृंखलता कि असन्तुष्टि ?

प्रा. देवीभक्त ढकाल
Read Time = 21 mins

टुँडिखेलको गौरापर्व जस्तो धार्मिक कार्यक्रम मनाउन जम्मा भएको धार्मिक समुदायबीच प्रमुख अतिथि र मुख्य अतिथि अपमानित भएको घटना सभ्य संसारका लागि दुर्भाग्यपूर्ण भन्नुपर्छ । यस्तो अवस्था र परिवेश किन सिर्जना भयो ? यस्तो परिस्थिति निर्माणमा जिम्मेवार को जस्ता विषय समाजमा विशेष चर्चामा छन् । यस घटनाको सन्देश के ? यसलाई जिम्मेवारहरूले कसरी बुझ्ने ? यो घटनालाई युवाहरूको उछृंखल भनेर नेताहरू उम्कन मिल्छ कि मिल्दैन ? राष्ट्रमा भएका राम्रा नराम्रा घटनाको जिम्मेवारी नेतृत्वले लिनैपर्छ । ‘महाजनो येन गतः स पन्थाः’ मा विश्वास गर्ने समाजमा यस्तो घटना दुर्भाग्यपूर्ण भन्नुपर्छ । राजनीतिले अख्तियार गरेको बाटो गलत भएकाले खबरदारी ठीकै हो भन्नेहरूको संख्या कम छैन ।

शैली र स्थानप्रति सभ्य समाजको असन्तुष्टि बारे युवा बेखबर हुन पाइँदैन । प्रजातान्त्रिक व्यवस्थामा विरोध गर्न पाइन्छ । विरोधका सीमा र नियमलाई उल्लंघन गर्ने विषयले युवाहरूप्रति समाज असन्तुष्ट हुन्छ भन्ने कुरा युवाले पनि बिर्सन हुँदैन । अनुशासनहीनताको पाठ युवाहरूलाई कसले पढायो ? यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ । तसर्थ नेतृत्वले चित्त दुःखाउनु र आक्रोशित हुन आवश्यक छैन । सबै दोष राजनीति, राजनीतिका मुखियाहरूको हो ? आफूले उत्पादन गरेको अनुशासनहीनताको सिकार शेरबहादुर र खड्गप्रसाद आफैं बने । शासनमा रहनेहरू सबैले समाजमा भ्रष्टाचारको साम्राज्य खडा गरे, अनियमितता र कुशासनले युवाहरूको भविष्यलाई अन्धकार पारे ।

नेताहरूको राजनीतिक, चारित्रिक स्खलनको परावर्तन हो गौरापर्वमा टुँडिखेलमा युवाद्वारा प्रदर्शित घटना । नेतृत्वमा हुनेहरूको निन्दनीय कामले नै यस्ता विषय सतहमा आएका हुन् । यस घटनाले जसले सिक्नुपर्ने हो ऊ आफैं आवेशमा प्रस्तुत हुने शैलीले सबैलाई निराश बनाएको विषय उक्त घटनाभन्दा अझै गम्भीर भन्नुपर्छ ।

नेतृत्वमा रहनेहरूको क्रियाकलापप्रतिको असन्तुष्टि स्वाभाविकै हो तर स्थान, परिवेश र शैलीप्रति सम्भवतः कसैको समर्थन छैन, हुनु पनि हँुदैन । हिजो पञ्चायतकालका जिम्मेवारलाई अपमानित गर्न युवाहरूलाई प्रशिक्षित गर्ने शेरबहादुर र खड्गप्रसाद ओलीले धेरै वर्षपछि आफ्नै कर्मको प्रतिफल प्राप्त गरे भन्नेको संख्या समाजमा कम छैन । शेरबहादुर र खड्गप्रसादप्रति आममानिसको सहानुभूति अत्यन्तै कम देखियो । यसले यिनीहरूका क्रियाकलापसँग समाज आजित भएको प्रमाणित हुन्छ । अनुशासन सिकाउनेहरू, सभ्यता र संस्कृतिको पाठ पढाउने आफैं कति अनुशासित छन् ? आफैं कति सुसंस्कृत, सभ्य छन् यो कोणबाट समाजले समीक्षा गरेकै हुन्छ ।

संस्कृत विश्वविद्यालयको पुस्तकालय जसमा संसारमा नै नभएका अत्यन्तै महत्वपूर्ण पुस्तक थिए । ती पुस्तकहरूको अध्ययनले पाठकहरू स्वतः अनुशासित हुने शक्ति प्राप्त हुन्थ्यो । संस्कृत शिक्षाले व्यक्तिलाई ‘विवेकी, कर्मशील र परोपकाराय पुण्याय पापाय परपीडनम्’ भन्ने शिक्षा दिने शक्ति हुन्थ्यो । त्यसको धरोहर संस्कृत विश्वविद्यालयको पुस्तकालय जलाएर खरानी बनाउने को ? यी र यस्ता विषयमा भएका कमजोरी, लापरबाही, शक्तिमा हुनेहरूको छाडापनलाई अब किमार्थ स्वीकार्य छैन भन्ने युवाहरूको सामुहिक आवाज हो टुँडिखेलमा घटेको घटना । हामीले संस्कृतलाई पाठ्यक्रमबाट हटायौं ? पश्चिमाहरूले वेद, भागवतलाई पूजा गर्न थाले । पश्चिममाले संस्कृतलाई पाठ्यक्रममा समावेश गरेर समाजलाई सत्मार्गतिर लैजाने संकल्प गर्दैगर्दा हामीले संस्कृतलाई किन उपेक्षा गर्‍यौं ?

नेताहरूको राजनीतिक, चारित्रिक स्खलनको परावर्तन हो गौरापर्वमा टुँडिखेलमा युवाहरूद्वारा प्रदर्शित घटना । नेतृत्वमा हुनेहरूको निन्दनीय कामले नै यस्ता विषय सतहमा आएका हुन् । यस घटनाले जसले सिक्नुपर्ने हो ऊ आफैँ आवेशमा प्रस्तुत हुने शैली र व्यवहारले बाँकी सबैलाई निराश बनाएको विषय उक्त घटनाभन्दा पनि अझै गम्भीर विषय भन्नुपर्छ । अब नेताहरू सच्चिने कि सक्किने भन्ने विषयको छिनोफानो हुने दिनको कतै यो सुरुवात त होइन ? देशलाई, समाजलाई तथा युवाहरूको भविष्यलाई अन्धकार बनाउने र देशलाई सधैं अनिर्णयको बन्दी बनाउन पाइँदैन भन्ने खबरदारीलाई उछृंखलताको रूपमा व्याख्या र विश्लेषण के त्रुटिपूर्ण छैन ?

शासकीय चरम असन्तुष्टिप्रतिको युवाहरूको आवाजलाई उच्छृंखलताका रूपमा होइन शासकीय शैली, व्यवहार, बोली, जीवनशैली र आचरणमा परिवर्तन अवश्यम्भावी छ भन्ने विषयलाई शासकहरूले व्यवहारतः आत्मसात गर्दै सुध्रने कि सक्किने भन्नेबीचको अन्तिम छनौट अब हुनैपर्छ । धर्म र संस्कृतिप्रति प्रायः नेतृत्वमा रहनेहरू सबैको स्खलित निष्ठालाई व्यवहारबाट सच्चिन आश्वस्त पार्ने कि सक्किने यो निर्णायक घटनाक्रम कतै विकसित हुँदैछैन ? नेतृत्वमा रहनेहरूको शब्द र आवेग संयमित र सुसंस्कृत बनाउनेतर्फ जिम्मेवारहरूले आफैंले आफैंलाई परिवर्तन गर्न अविलम्ब प्रारम्भ गर्नुपर्छ । राष्ट्र हाक्नेहरू रामचन्द्र, खड्गप्रसाद, शेरबहादुर, पुष्पकमल आदिले आफ्नो कार्यशैली, जीवनशैली, व्यवहार, आचरणबाट युवाहरूलाई दिएको शिष्टाचारको प्रशिक्षणको परिणाम हो टुँडिखेल घटना । यो कसैबाट प्रायोजित घटना होइन ।

यदि प्रायोजित नै हो भने राजनीतिका जिम्मेवारहरूले शक्तिमा रहँदा गरेको भ्रष्टाचार, कुशासन, नातावाद, परिवारवादका क्रियाकलापबाट प्रायोजित हो । नेतृत्वको कार्यशैली र जीवनशैलीप्रतिको चरम असन्तुष्टि हो । नेताहरूद्वारा आफ्नो भाग्य र भविष्य लुटिएका युवाहरूको राष्ट्रव्यापी असन्तुष्टिको स्वस्फूर्त प्रस्फुटन हो । किन यस्तो शैलीमा युवाहरू प्रस्तुत भए ? यसलाई सधैं बेवास्ता गर्ने, आफ्नो र आफ्नाको हितमा सार्वजनिक पदलाई अहिलेसम्मका सबै शासकले दुरूपयोग गर्दा नै यो परिस्थिति सिर्जना भएको हो । यो भ्रष्टाचार, कुशासनबाट आजित, प्रताडितहरूको असन्तुष्टिको सामूहिक आवाज हो न कि मुठ्ठीभरका युवाहरूको ?

यो आवाजलाई मुठ्ठीभरका युवाहरूको आवाज हो भन्ने बुझाइ भयो, त्यस्तो व्याख्या जिम्मेवारहरूले गरे भने बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको शैलीको दुर्भाग्यका कारण नबन्ला भन्न सकिँदैन । यसलाई युवाहरूको उछृंखलता हो भनेर सार्वजनिक कार्यक्रममा नेताहरूबाट फेरि अपव्याख्या त भएन भन्ने प्रश्न पनि समाजमा जबर्जस्त चर्चामा छ । भनिन्छ जे रोपिन्छ त्यही फल्छ । भ्रष्टाचार रोपेर सदाचार फल्दैन ? कतै शासनमा रहँदाका बखत सबै जिम्मेवारले गर्दै आएको भ्रष्टाचार, कुशासन, भित्र्यउँदैछन् भन्ने बुझियो भने के अन्यथा हुन्छ ? दोषी को ? युवा कि कुशासनका ठेकेदारहरू ?

दोषीलाई छोड्दैनौं निर्दोषीलाई दण्डित गर्दैनौं भन्ने र शासनमा रहँदाका बखत विरोधीलाई दोषको भारी बोकाउने र आफू भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएर अकुत धन जम्मा गर्नेहरूप्रतिको असन्तुष्टिको रूपमा प्रकट भएको जनविद्रोहको सुरुवातको घोषणा युवाहरूले गरे भने यसलाई अन्यथा मान्नु पर्दैन । मुढाको मुख झिझाले पोल्छ भन्ने उखानलाई युवाहरूले चरितार्थ गराउने परिस्थिति विकसित हुँदै गर्दा नेतृत्वमा हुनेहरू सुध्रेनन् भने परिस्थिति विस्तारै विस्फोटक नबन्ला भन्न सकिँदैन । जनविद्रोहको सुरुवात बंगलादेश, श्रीलंकामा पनि युवाहरूले यस्तै शैलीमा गरेर शासकलाई देश नै छोड्न बाध्य बनाएका घटनालाई हाम्रा शासकहरूले आत्मसात गर्दै आफैंले आफैंलाई परिवर्तन गरेको प्रमाण जनतालाई दिन के ढिलो भएको त होइन ?

यसमा युवामात्रै दोषी कि त्यो दोषको कारण र भागिदार नेतृत्वमा रहनेहरू हुनुपर्ने कि नपर्ने ? खड्गप्रसाद र शेरबहादुरले टुँडिखेलमा देशभरका युवालाई देखाएको चोरी औंलाबाहेकका बाँकी औंलाहरूले दोषी युवाहरू होइनन् तपाईंहरू हो भन्ने संकेतलाई आत्मसात गर्नेुपर्ने कि नपर्ने ? युवाहरूको असन्तुष्टिलाई उछृंखलताको संज्ञा ठीक कि बेठीक हो ? समाजले के युवामात्रै दोषी हुन् नेताहरू निर्दोष र संस्कारित छन् भनेको छ ? युवाहरूले आफ्नो भविष्यलाई अन्धकार बनाउने तिमीहरू नै हौ तसर्थ तिमीहरूप्रति अब युवाको विश्वास छैन भन्ने अभिव्यक्ति हो भन्ने आमधारण बनेको हो कि भन्ने प्रश्न हाम्रो नेतृत्वको मस्तिष्कमा कहिले आउने ?

विवेक, नैतिकता, सदाचार र सुशासनको आधार भनेको धार्मिक आस्था, इमानदारी, नैतिकता र विश्वास हो । खुलमखुल्ला सार्वजनिक रूपमा र आफ्ना दस्तावेजमा धर्म र ईश्वर मान्दैनौं भन्ने सधैं ढाँटछलको खेतीमा तल्लीन हुनेहरूबाट हाम्रो भविष्य छैन भन्ने जानकारी युवाहरूले गराएका हुन् भनेर टुँडिखेल घटनालाई व्याख्या गर्दा के अन्यथा हुन्छ ? शोषण, अत्याचार, कुशासन, परिवारवादले नेताहरू मात्तिएका छन् भने जनता आत्तिएका छन् भन्ने विषयलाई प्रकारान्तरले टुँडिखेल घटनाले पुष्टि गरेको त होइन ? जनतालाई रैतीको व्यवहार गर्ने नेतृत्वलाई जनताले किन मान्ने ? टुँडिखेलमा प्रदर्शित असन्तुष्टिले मर्नुभन्दा बौलाउनु बेस भन्ने उखानलाई कतै युवाहरूले चरितार्थ गराएका त होइनन् ?

जनता तीन दशकसम्म यिनीहरूबाट सुशासनको अपेक्षामा तड्पिरहे तर यिनीहरूले सुशासनका नाममा कुशासन लाद्ने जुन प्रवृत्ति, शैली प्रयोग गरे त्यसको चरम असन्तुष्टिको प्रस्तुति हो टुँडिखेलामा युवाहरूले गरेको नाराबाजी र होहल्ला । यो अवस्थामा युवाहरूलाई उछृंखलताको संज्ञा कतै नेताहरूका लागि प्रत्युत्पादक त बन्दैन ? असन्तुष्टिको प्रकटीकरणको अनुशासनको व्याख्या, विश्लेषण गर्ने हक जीवनभर जनतालाई कुशासनको भड्खालोमा जाक्नेहरूसँग छैन र हुँदैन । नेपाली संस्कार र संस्कृतिको सम्मान आफूले गरेरमात्रै अरूबाट अपेक्षा गर्नुपर्छ । आफू सधैं धर्म र संस्कृतिलाई बेवास्ता गर्नेहरूले अहिले युवाहरूबाट अपेक्षा गर्ने विषय हाँस्यास्पद भन्नुपर्छ । यो प्रदर्शनको जिम्मेवारी तीन दशकसम्म देशको शासनको जिम्मा लिनेहरूले युवाहरूको असन्तुष्टिको जिम्मेवारी लिनुपर्ने कि नपर्ने ?

राष्ट्रपतिद्वारा देशको प्रधानमन्त्री जस्तो गरिमामय पदको शपथ गराउँदा ईश्वरको नाम उच्चारण गर्दा त्यो पर्दैन भनेर राष्ट्रपति, राष्ट्र र जनतालाई अवहेलना गर्ने व्यक्ति खड्गप्रसाद ओलीले नेपालीको संस्कारको व्याख्या टुँडिखेलमा आयोजित गौरानाँचको उद्घाटन अवसरमा गर्न मिल्ने कि नमिल्ने ?

यो असन्तुष्टि के त्यहाँ उपस्थित युवाहरूमा मात्रै थियोे कि देशभरका युवाहरूमा छ ? यसको निष्पक्ष समीक्षा र निवारणका उपायहरू खोज्न देशका बौद्धिक वर्गहरूको एउटा उच्चस्तरीय आयोग बन्नुपर्ने कि नपर्ने ? युवाहरूको टुँडिखेलको असन्तुष्टिले सत्तामा रहनेहरूलाई आफ्नो काम, कारबाही, व्यवहार, आचरण सदाचार, भ्रष्टाचार आदिका कुराहरूलाई मध्यनजर राखेर सबैले आत्मसमीक्षा र आत्मआलोचना व्यवहारमा गर्नुपर्ने कि नपर्ने ? राष्ट्रपतिद्वारा देशको प्रधानमन्त्री जस्तो गरिमामय पदको शपथ गराउँदा ईश्वरको नाम उच्चारण गर्दा त्यो पर्दैन भनेर राष्ट्रपति, राष्ट्र र जनतालाई अवहेलना गर्ने व्यक्ति खड्गप्रसाद ओलीले नेपालीको संस्कारको व्याख्या टुँडिखेलमा आयोजित गौरानाचको उद्घाटन अवसरमा गर्न मिल्ने कि नमिल्ने ?

राष्ट्रपतिबाट प्रधानमन्त्रीको शपथ लिँदा खड्गप्रसाद ओलीले ईश्वर शब्दलाई त्यो पर्दैन भनेको विषयले यहाँ संस्कार र संस्कृतिको विषयमा ओलीले शब्द खर्चने ठाउँ छ ? किमार्थ छैन । यो देशका बुद्धिजीवी वर्गले यसको समीक्षा, विश्लेषण, मूल्यांकन गर्न हुने कि नहुने ? महामहिम भारतीय प्रधानमन्त्री लुम्बिनीमा भगवान बुद्धको पूजाआराधना गर्दै गर्दा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ¥याल काढेर उङेको घटनामा नेपाली संस्कृतिको कति अवहेलना भएको थियो शेरबहादुरलाई हेक्का छ ? यो परिस्थितिमा शेरबहादुरलाई नेपाली संस्कृतिको व्याख्या गर्ने हक नै छैन । आफ्ना पितालाई देवघाटमा अन्तिम बिदाइ गर्दा टाईसुट, छालाको जुत्ता लगाएर परिक्रमा गर्ने र काजकिरिया नगर्ने ब्राहृमण कुलमा जन्मेका पुष्पकमल दहालबाट नेपाली धर्म, संस्कृति, परम्परा र नेपाली संस्कारको कस्तो अनुसरण भएको थियो ?

आफू संस्कारमा नबस्नेहरूले अन्यबाट अपेक्षा गर्नु मूर्खता हो । एकपटक बाह्र ज्योतिर्लिंगहरूको दर्शनपश्चात् कांग्रेसका सत्ताको अनुहार कहिल्यै नदेखेका तर संघर्षको अभियानमा सधैं अग्रपंक्तिमा रहेर योगदान गरेका कांग्रेस नेता दामोदर गौतमले लगेको टीका ग्रहण गर्दा टीकाप्रसाद खसेर अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले लगाएको दौरामा परेको रातोरंग र अक्षेतालाई कपडाबाट टक्टक्याउँदै रामचन्द्रले हिन्दुधर्म फोहोरी धर्म हो भन्दै गरेको घटनाप्रति दामोदर गौतमले चित्त दुखाएको घटनालाई अत्यन्तै दुःख र चिन्ता साथ साथीहरूबीच साटासाट गरेको विषयले वर्तमान राष्ट्रपतिले पनि नेपाली संस्कार र संस्कृतिको व्याख्या गर्ने हक गुमाएका छन् भन्ने प्रश्न नेपाली जनताले गरे भने के अन्यथा हुन्छ ?

आफू अपमानित हुँदा नेपाली संस्कारको व्याख्या गर्नेहरूले आफ्नो व्यवहार, आचरणमा नेपाली संस्कार र संस्कृतिप्रति सम्मान र आदर गरेको विषय बारे नेपाली जनतालाई विश्वस्त बनाउन सकेका छन् ? आफूले सम्मान, मर्यादा, अनुशासनको पालना नगर्ने अरूबाट भने आफू सम्मानित र मर्यादित हुनुपर्ने रोगबाट नेताहरू मुक्त हुनुपर्छ । पाती रोपेर आँप फल्दैन । जीवनभर भ्रष्टाचार, कुशासन, परिवारवाद, गुटवादको विषवृक्ष रोप्नेहरूले टुँडिखेलमा संस्कार, संस्कृतिको व्याख्याता बन्ने हक छैन । हक खोज्नेहरूले कर्तव्यबोध गर्नुपर्छ । कर्तव्यबाट चुक्नेहरूले पाउने पुरस्कार नै आलोचना र अपमान हो । टुँडिखेल घटना पनि इमानदारी र प्रतिष्ठालाई लिलाम गर्नेहरू अपमानित हुन्छन् भन्ने प्रमाण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *