टेबलटेनिस संघ र ३६१ डिग्रीबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघ र नेपालका लागि ३६१ डिग्रीको आधिकारिक बिक्रेता ३६१ डिग्री सर्वसिद्धि इम्पेक्स प्रालिका बीच सम्झौता भएको छ । सम्झौताअनुसार ३६१ डिग्रीले संघलाई नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीसहितको टोलीलाई पोशाक प्रदान गर्नेछ ।

टेबलटेनिस संघका अध्यक्ष बृजेन्द्रबहादुर हमाल र प्रालिका निर्देशक सरोज कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयोे । सम्झौता चार वर्षका लागि कायम रहने निर्देशक कार्कीले बताउनुभयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सम्झौताका दौरान ३६१ डिग्रीले चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा सहभागी टेबलटेनिस खेलाडीसहितको टोलीलाई पनि पोशाक प्रायोजन गरेको जानकारी दिइयो ।

यसैबीच, एसियाली टेबलटेनिस च्याम्पियनसिपको २७औँ संस्करणमा नेपालबाट दुई खेलाडी सहभागी हुने भएका छन् । अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट समान एक-एक पुरुष/महिला गरी दुई खेलाडी छनोट गरिएको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जानकारी दिनुभयो ।

पुरुषमा संयोग कपाली र महिलामा इभाना थापा मगर छनोट हुनुभयो । दुवै शीर्ष स्थानमा रहँदै छनोट हुनुभएको हो । एसियाली टेबलटेनिस काजाकस्तानमा अक्टोबर ७ देखि १३ तारिखसम्म हुनेछ । सोही छनोट प्रतियोगिताबाट पुरुष/महिलामा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *