तेस्रो संस्करणको म्युजिक खबर तीज म्युजिक अवार्डमा सम्पन्न

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । तेस्रो संस्करणको म्युजिक खबर तीज म्युजिक अवार्डमा सम्पन्न भएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहबीच प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यता अवार्ड सम्पन्न भएको हो । अवार्डमा गायिका सुनिता बुढा क्षेत्री र गायक सूर्य खड्का उत्कृष्ट घोषित हुनुभयो । गायिका बुढा क्षेत्रीले ‘पाउँदिन म छोरी’ गीतबाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्दा गायक खड्काले ‘सीताका माइती बुद्धका देश’बाट उत्कृष्ट अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।

अवार्ड कार्यक्रममा ‘सीताका माइती बुद्धका देश’ र ‘काली पसमकी’ गीतले ह्याट्रिक गर्न सफल भएको थियो । ‘सीताका माइती बुद्धका देश’ गीतबाट सूर्य खड्का उत्कृष्ट गायक, विजय पुन उत्कृष्ट मोडल र दुर्गा पौडेल उत्कृष्ट छायाँकार घोषित हुनुभयो भने ‘काली पसमकी’ गीतबाट प्रेम सापकोटा सोनु उत्कृष्ट गीतकार मौलिक तीज गीत, नवीन घर्तीमगर उत्कृष्ट भिडियो सम्पादक र स्मारिका ढकालले पपुलर म्युजिक भिडियो मोडल अवार्ड आफ्नो बनाउनुभयो । सेसेमी लिम्बुले सहजीकरण गर्नुभएको समारोहमा विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको थियो ।

आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा भएको अवार्ड अध्यक्ष सबिता पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । समारोहमा प्रमुख अतिथि अर्यालले आ-आफ्नो क्षेत्रमा योगदान दिएका नारीहरूलाई सम्मान गर्नुभएको थियो । आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मानबाट गायिका कुन्ती मोक्तान, लीलावती बुढा र पूर्णकला बिसीलाई सम्मान अर्पण गरिएको थियो ।

यस्तै, सौन्दर्यविद् सोनी कारञ्जितलाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य सौन्दर्यकला सम्मान अर्पण गरिएको थियो भने गीतकार गायिका गायत्री थापालाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिएको थियो । गायिकाद्वय कालिका रोका र तृप्ति खड्कालाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय गायन सम्मान प्रदान गरिएको थियो भने मोडल टीका जैसीलाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय कला सम्मान प्रदान गरिएको थियो । पत्रकारद्वय शारदा थापा र कल्पना रेग्मीलाई आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो । त्यस्तै सौन्दर्यकर्मी उन्नति शर्मालाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय सौन्दर्यकला सम्मान प्रदान गरिएको थियो भने समाजसेवी उर्मिला पौडेल आचार्यलाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो ।

अवार्डमा संगीतकार वीपी वाग्ले, गायिका शोभा पाण्डे र गीतकार डा.शिव सुवेदी निर्णायकको भूमिकामा हुनुहुन्थ्यो । सो अवसरमा म्युजिक खबर फाउण्डेशनको टिमको घोषणा पनि गरिएको थियो । सबिता पोखरेलको अध्यक्षतामा स्थापना भएको सो फाउण्डेशनमा साहित्यकार राधेश्याम लेकाली, गीतकार लोकराज अधिकारी, संगीतकार सरोज कोइराला, गायिका मञ्जु पौडेल, संगीतकर्मी बादल थकाली, निर्देशक प्रकाश भट्ट, गीतकार सुमन पण्डित रहनुभएको छ भने कानुनी सल्लाहकार राम भट्टराई रहनुभएको छ । सो अवसरमा फाउण्डेशनको आजीवन सदस्यतासमेत प्रदान गरिएको थियो । गायिका सञ्जु न्यौपाने, गायक हरिराम परियार, संगीतकार दीपक शर्मा, गायिका तथा मोडल रितु तामाङलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *