भाग्यं फलति सर्वत्र नविद्या न च पौरुषम्
मैले संस्कृत पढ्न लाग्दा विदत भन्ने शब्द कुन्नि के प्रसंगमा हो आउँदा मैले बालाई सोधेँ । त्यसबेला पढाउने काम बाले गर्नुहुन्थ्यो बाबाहेक अरू वेतनभोगी जागिरे गुरु हुन्छन् भन्ने मलाई थाह थिएन । बाले भन्नुभएको थियो, ‘राज्य सञ्चालन गर्नका लागि देशको मूल नियमानुसार जनताको प्रतिनिधि भएर आएर देशलाई चिाहिने साचिव्य र नियम कानुन बनाउने ठाउँ या घर’ भनेर बाले मलाई सिकाउनुभएको थियो । आज पनि म बाका कुरा सम्झन्छु र मेरा देशको संसद्, सांसदका क्रियाकलापलाई त्यो परिभाषासँग दाँजेर हेर्छु, सोच्छु र आश्चर्यचकित भएर छातीमा मुड्कीले बिस्तारै भने पनि हानेर सुत्छु । अर्थात् संसदीय गतिविधि आज टेलिभिजनमा जे देख्छु सुन्छु त्यसलाई बिर्सन खोज्छु तर सक्दिन ।
पाँचपटक र चारपाटक मात्र होइन साँढे तिन महिनामा साँढे तिनैपटक विश्वासको मत लिने बहादुर पनि संसद्मा पुगेका छन् । पाँचपटक र चारपटक यस देशको प्रधानमन्त्री भनेर मैले जसका नाममा नाक ठाडो पार्नुपर्ने हो तिनको नाम सम्झँदा पनि वाक्वाकी लाग्छ । यिनीहरूभन्दा पनि तल्ला तहको सोच, स्वार्थ र चिन्तन भएका (खानका काल) पनि अरू कुनै प्राणी होलान् र ? जस्तो लाग्छ आज पनि मलाई । अहिले यस प्रकारका पाँचवटा ढिँडे ढेडु पालेको छ मेरो देशले । दिनको लक्षण बिहानीले दिन्छ भन्छन् । हिजोको पहिलो पुस्ता हुँदा अहिलेका एक नम्बरीहरूलाई यी निकम्माको पालामा के गर्लान् भन्थे अरू साथीहरू म भन्थेँ यस्ता हुतीहाराको पालै आउँदैन ।
सतीको सराप परेका देशमा यस्तैको चाहिँ पटक-पटक चाँदामा पहिरो गए झैँ पद आइलाग्दोरहेछ । त्रिभुवन विश्वविद्यालयको विगतको कुनै शैक्षिक सत्रमा पहिलो नम्बरमा उत्तीर्ण भएको व्यक्ति उपकुलपति भएछ, दोस्रा नम्बरमा उत्तीर्ण भएको मन्त्री भएछ र ब्याक लागेर बल्लबल्ल उत्तीर्ण भएको चाहिँ प्रधानमन्त्री बनेछ । २०१६ सालदेखि त्रिविको सर्वोच्च तहको हिसाबकिताब खोजी पस्ने सबैले चाल पाउने कुरो हो यो । आठ कक्षा पनि उत्तीर्ण नगरेका मान्छेले विद्यावारिधि गरेका मान्छेलाई पार्टीबाटै दरकिनार गर्ने मेरो देश भनेर म किन गौरव नगरौँ ? घूस, वन्चना, अहं बेतुक्को वक्वक नै शासकको गुण भएको देश भनेर हामीले गौरव गर्नैपर्छ ।
प्रजातन्त्रमा आवधिक चुनाव हुन्छ, विधिको शासन हुन्छ । समानता, स्वतन्त्रता, विश्व भ्रातृताजस्ता कुरा हुने भएको हुनाले यसमा सन्तुलन र नियन्त्रणका साथै स्वतन्त्रता पनि हुन्छ । आज पनि त्रिविका राजनीतिशास्त्रका कक्षामा त्यसै भनेर पढाइँदो होला तर मेरा देशको प्रजातन्त्रमा खोइ स्वतन्त्रता ?
ऋषि मेघशिरा र अश्वशिरा एक आपसमा सरापासराप गरेर सर्प र काग बनेको पौराणिक आख्यान भएको देशका हामी कति बुद्धिमान् छौं । आफू मर्यादित भएर बसे सबैले मर्यादा गर्नेरहेछन् । विद्या र बुद्धि भन्दा भाग्य फुल्नेफल्ने देशको नागरिक म । म यसै क्रममा पढ्न जनकपुर आएँ । नेपाल राजकीय संस्कृतप्रधान पाठशाला ज्ञानकुपबाट पूर्वमध्यमा पास गरेर प्रवीणता प्रमाणपत्र तह पढ्न मटिहानी गएँ । राजनीतिशास्त्र विषय पढाउन आएका प्राध्यापकले पाठ्यक्रममा राखेको तद्विषयको पुस्तकका लाइन लाइन वाचन गरेर पढाएपछि कोठामा आएर पेटभरि रोएको थिएँ । चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखान सम्झेर ।
कोर्स परिवर्तन गर्न नपाएपछि राराब क्याम्पसमा शुक्रवार शुक्रवार आएर राजनीतिशास्त्रका कक्षामा बस्दा गुरुले भनेका थिए, ‘संसारमा अनेकौं प्रकारका शासन व्यवस्था छन् र हुन्छन्/हुनसक्छन् तर अहिलेसम्म मानवमस्तिष्कले पत्ता लाएका राज्यव्यवस्थामा सर्वाधिक राम्रो भनेको बहुदलीय प्रजातान्त्रिक व्यवस्था नै हो’ । यसमा आवधिक चुनाव हुन्छ, विधिको शासन हुन्छ । समानता, स्वतन्त्रता र विश्व भ्रातृताजस्ता कुरा हुने भएको हुनाले यसमा सन्तुलन र नियन्त्रणका साथै स्वतन्त्रता पनि हुन्छ । आज पनि त्रिविका राजनीतिशास्त्रका कक्षामा त्यसै भनेर पढाउँदा होलान् ?
तर, मेरा देशको प्रजातन्त्रमा खोइ स्वतन्त्रता ? हामीलाई तिमीहरूको आचरण, चिन्तन मन परेन भन्दा विचरा ती जोश, उमंग तथा देश र जनताका मायाले भरिएको मुटु भएका केटाकेटीलाई मुद्दा लाएर थुन्ने पनि प्रजातन्त्र हुन्छ र ? पूर्व र वर्तमान प्रधानमन्त्री भई खाएका चाहिँ सशस्त्र प्रहरी र सैन्यबलका आडमा आमजनतालाई तथानाम गाली गर्ने नेता मानिने देश अन्यत्र होला र ? राजनीतिशास्त्रका प्राध्यापकले भन्न सक्छन् यो पनि प्रजातन्त्र हो भनेर ? संविधान जनताले चुनेर पठाएका प्रतिनिधिले बनाउने, संशोधन गर्ने हो तर बाख्रा फुकाएर खोरमा हुल्नेबाहेक सीप, जाँगर नभएकाले संविधान संशोधन र निर्माणमा कस्तो योगदान देलान् ?
भागबण्डा, आरक्षण भनेका संसदीय व्यवस्थामा लाग्ने खिया रहेछन् । लोग्नेको हैकम चले स्वास्नी ठाउँमा पुग्ने स्वास्नीको हैकम चले लोग्ने गतिला नियुक्ति पड्काएर ऐश गर्ने । वाह ! मानव मस्तिष्कले पत्ता लाएको सर्वाधिक उम्दो व्यवस्थाको दुर्गति । संसारले उत्तम भनेका कुरा नेपालका जीवित पाँच प्रधानमन्त्रीका अघिल्तिर राखिदिए छिनभरमा कौडीमा नबिक्ने बनाइदिन्छन् । डा.बाबुराम मणि भएको सर्प निक्ले । विद्या भएर के गर्नु ? विवेकविनाको भएपछि । अरू त असारे वर्षमा निक्लेका वर्षाभू यिनको के कुरा गर्नु ? यति गतिला नेता संसारमा कुनै देशले पाएको छ ? १२ बजे राति संविधान संशोधन गर्ने भनेर सत्तारोहण गर्ने दाउ खोज्न दुनियाँका कुनै नेताले सकेको उदाहरण छ ?
३२ सांसद भएका दलले पालैपालो दलेको कुरो चाल नपाउने नेता सभापति भएको दल भनेर देशभरिका प्रजातन्त्रवादीले गौरव किन नगर्ने ? कुर्नेश छ मेरो उहाँहरूलाई । जो भेडा बनेर भ्याभ्या गरेर भाउजूको सारीको सप्को र दाजुका दौराको फेर समातेर जे-जति भएको ज्ञान, बुद्धि, विवेक टुकुचामा स्नान गर्दा ईक्षुकेश्वरलाई चढाएर नेतानेतृको पाउमर्दनमा गौरव गर्छन्, भाग्यले देला र खाउँला भनेर चरणोदक पान गर्छन् ।
...गौरव गर्छु म...।
त्यस्ता नेताका चरित्रमा पनि जो भैंसीतन्त्र र जमिन्दारीतन्त्र जोगाउन आमा बेचेर नगरबधूका काखमा सिराने हालेर मस्त बनेर रात बिताउँछन् । कौडीमा पनि मिल्कन्छन् भिल्लका देशमा मणि बेलायत अमेरिका भारत युरोपको संघर्षको इतिहास पढे थाह हुन्छ । अत्याचार, ज्यादती र विवेकहीनताका विरुद्ध जनता कसरी आगो भएर बलेका थिए र आज ती देश संसारकै उम्दा देश, उदाहरणीय देश, विश्वका अभाव र दारिद्र्यले सताइएका तर जोश, जाँगर, बुद्धि, विवेक र विद्या,सीप भएका तन्नेरीतरुनीको आकर्षणको केन्द्र बनेका छन् । यस्तै प्रकारको विवेकहीन काम गर्दा बंगलादेशका युवा जुर्मुराएको धेरै दिन भएको छैन ।
गौरा चाड मनाउन भेला भएका युवायुवतीले सत्तोसराप सहनुपर्ने ? जो चोर उसैको ठूलो स्वर ? भान्साका भित्ताको स्विच थिच्दा भर्र ग्याँस बाल्ने गफ गरेको कति वर्ष भयो ? नेपाली झण्डा फहराएर विदेशी समुद्रमा पानी जाहाज चलेर अहिले हिजोको भूपरिवेष्टित देश समुद्रीमार्ग भएको बनेको हिसाब राखेका छौ कसैले ? यिनै महानायकका पालामा खाद्यान्न निकासी गर्ने देश पैठारी गर्दा पनि खान नपाउने भयो । अनि यिनका नेतृत्व क्षमतामा गौरव किन नगर्ने ? आफ्नालाई फलामका डण्डाले पेल्ने परचक्रीको चरणोदक आचमन गर्ने महानायकीय चरित्रमा किन विश्वास नगर्ने भनेको यो मूर्खले भन्नुहोला ? लोग्ने, स्वास्नी, साला, साली, जेठीसासू साँढुभाइ जम्मा गरेर दल चलाउने महान् दूरदर्शी भएका नेता कति होलान् ? तथ्य खोज्नुभएको छ ?
भान्साका भित्ताको स्विच थिच्दा भर्र ग्यास बाल्ने गफ गरेको कति वर्ष भयो ? नेपाली झण्डा फहराएर विदेशी समुद्रमा पानी जाहाज चलेर अहिले हिजोको भूपरिवेष्टित देश समुद्रीमार्ग भएको देश बनेको छ ? यिनै महानायकका पालामा खाद्यान्न निकासी गर्ने देश पैठारी गर्दा पनि खान नपाउने भयो ।
हिजो पूर्वी पाकिस्तानलाई बंगलादेश बनाउन योगदान पुर्याएका परिवारले हजारौं वर्ष बसीबसी आरक्षणको रस चुस्न पाउने व्यवस्था शासकले गर्दा ती शासिकाले शरण नपाउने दिन आएको देख्दादेख्दै पहुँच भएका लोग्नेका स्वास्नीको पुर्पुरो हृवाहृर्वार्ती अहोरात्र बल्दा पनि पुर्खाको छाला बेचेर विदेशिन लर्को लाग्ने तर ज्यादती, अन्याय, अत्याचार तथा मनपरितन्त्रका विरुद्ध चुँ नगर्ने युवाजमात देशमा जन्मन नछाडुन्जेल देशका आँसु पुछिने सम्भावना मैले देखेको छैन ।
सम्झ युवा हो, १९९७, सम्झ २००७, सम्झ २०३६ सम्झ २०४७, सम्झ भारतको बेलायती मेसिनमा बनेका कपडा बहिष्करणको आन्दोलन, सम्झ नमक आन्दोलन, सम्झ लालकिल्लाको ज्यादती । भनौला ती सबै ज्यादती परचक्रीले गरेका थिए । हो, हुर्केका भाइले बोली नफुटेका, हातगोडा नचलेका भाइलाई मन्दविष खुवाउनु, खान नदिएर भोकभोकै मार्नु, उसको व्यक्तित्व बढ्न नदिएर छिमेकीका घरमा हली बनाएर, चाकरीदार बनाएर राख्नु त्यसभन्दा ठूलो अपराध होइन र ? किन युवायुवती ताँती लागेर विदेशिएका ? तिनै हातगोडा यिनका ज्यादतीविरुद्ध लागे के हुँदैन देशमा ?
जागजाग अब, जाग न जाग
भो, भयो अति सुत्यौ अब जाग ।
तादीमा कविले यसरी उद्बोधन गर्दा पनि त हाम्रा देशमा भाइले नै भाइलाई दलेको, शोषेको र नराम्रोसँग पछि पारेको थियो नि, कि होइन ? आज तिम्रै मतबाट महिसासुर बनेका यी महान् तपस्वी कुम्भकर्णका कानमा अब कर्नाल बजाउने बेला भएको छ । पटक-पटक ठगिनु पशुताको लक्षण हो मोहान्धकारमा पर्नु हो भन्ने कुरो बुझेर ज्यादती, विवेकहीनता, आर्थिक अपचलन, अकूत सम्पति कमाउने लालसाका मूर्तिलाई जलाउन धूलीसात गर्न हातमा मशाल बोकेर निक्ल युवक हो । तिम्रा हजुर्बा सिटामल खान नपाउने वृद्ध बनाइएका छन् । तिम्रा सन्तान देशमै विदेशी बनाइएका छन् । तिमी बाँच्न विदेश होइन तिम्रो खोस्नेका हातबाट स्वामित्व खोसेर विवेकको मशाल बाल्न अघि सर, अनि मात्रै बन्छ देश ।
एक नै पल्ट फुल्छ गुलाब/पाउँदा किरणको मृदुराप
कोपिला कुसुम हुन्न पछाडि/काल झार्छ बरू विश्व अगाडि ।
हिजो नालायक सवित भएको भोलि लायक हुँदैन । हिजोको दगावाजले पर्सि पनि दगा दिन्छ । कालनेमिले ऋषिका भेषमा हनुमानलाई मार्न लागेको थिएन र ? २००७ सालमा गणतन्त्र, संविधानसभा दिन्छु भनेर कबलेको राजाले २०११ सालपछि धोका दिन थालेको थिएन र ? २ वर्षभन्दा पहिले संसद् विघटन गर्न नपाइने संविधान बनाउँदा दम्भमानले सही गरेको थिएन र ? प्राडोपजेरो, सांसद किनबेच, वाइडबडी काण्ड, स्वास्नीलाई समानुपातिक र बैंसका साथीसँगातीलाई संविधान मिचेर पनि भरोसामन्द पदमा नियुक्तिको सिफरिश अहिले तिमीहरूलाई हृयाकुलाले मिचेर गरेको होइन र ? अतः जाग जनता जाग नजागे दासका दास बनेर बस्न सहीछाप गर । यसैमा म पनि गौरव गरेर बसौँला ।
भान्साका भित्ताको स्विच थिच्दा भर्र ग्यास बाल्ने गफ गरेको कति वर्ष भयो ? नेपाली झण्डा फहराएर विदेशी समुद्रमा पानी जाहाज चलेर अहिले हिजोको भूपरिवेष्टित देश समुद्रीमार्ग भएको देश बनेको छ ? यिनै महानायकका पालामा खाद्यान्न निकासी गर्ने देश पैठारी गर्दा पनि खान नपाउने भयो ।