काठमाडौं । रूसका लागि प्रश्तावित राजदुत प्रा.डा.जंगबहादुर चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई नेपाल फर्काउन तिब्रताका साथ पहल गर्ने बताउनुभएको छ ।
संसदीय सुनुवाई समितिको बुधवारको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउन तिब्रताका साथ पहल गर्ने बताउनुभएको हो । आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउनु सरकारको जिम्मेवारी भएको भन्दै सरकारले पहल पनि गरिराखेको बताउनु भयो ।
उहाँले आफूसँग रुसी भाषाको ज्ञान भएको र रुसी नागरिकहरुसँग परिचय समेत भएको भन्दै नेपालीलाई स्वदेश फर्काउने काममा सहज हुने बताउनु भयो । नेपाली नागरिकहरु विचौलियाहरुमार्फत व्यक्तिगत सम्झौताको आधारमा त्यहाँ पुगेका बताउनु भयो । व्यक्तिगत सम्झौता एक वर्षको लागि रहेको र सम्झौता अवधि सकिएपछि आफैँ फर्किन सक्ने पनि उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘रुसको बजार ठूलो छ । झन्डै १५ करोड जनसङ्ख्या भएको बजार हो । त्यो बजारमा प्रशस्त सम्भावना छन्, हाम्रो देशमा उत्पादित सामानहरुलाई लग्ने । द्विपक्षिय व्यापारहरु जति हुनुपथ्र्यो त्यो हुन सकिराखेको छैन । रुसको पछिल्लो परिवर्तन र नेपालमा पनि आएको पछिल्लो परिवर्तनले निजी क्षेत्रहरु फस्टाएको अवस्था छ । निजी क्षेत्रको बीचमा कुनै सहकार्यहरु भएर हामीले हाम्रा वस्तुहरुको बजारको खोजी गर्दै कसरी बजारलाई बिस्तार गर्न सकिन्छ, र हामी नेपालीहरु कसरी बढीभन्दा बढी लाभान्वित हुन्छौँ भन्नेमा ध्यान दिन जरुरी छ । जति सम्भावना छ द्विपक्षिय व्यापारको त्यो हुन सकिरहेको छैन । इन्धन÷तेलको आपूर्तिको लागि वैकल्पिक स्रोतको रुपमा रुसलाई लिन सकिन्छ । रुसको नीजि, राष्ट्रिय तेल कम्पनीहरुले पनि नेपालको निजी क्षेत्रहरुसँग सहकार्य गरेर तेल नेपालमा सप्लाइ गर्नसक्ने प्रश्तावहरु गरिराखेकै छन् । सरकारको जिम्मेवारी छ, आफ्ना नागरिकहरुलाई सही, सलामत फर्काउनु । र मरेकाहरुका लागि आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनु । र आफ्ना नागरिकहरुको व्यवस्थापन गर्नु हाम्रो कर्तव्य नै भइहाल्यो । तर उनीहरु विभिन्न विचौलियाहरुबाट, विभिन्न व्यक्तिगत कन्ट्रयाक्टको आधारमा उनीहरु त्यहाँ पुगेका छन् । व्यक्तिगत कन्ट्रयाक्ट एक वर्षको छ । एक वर्षको कन्ट्रयाक्ट सकिएपछि उनीहरु स्वतः कन्ट्रयाक्ट भंग गरेर फर्किन पनि सक्छन् । सुन्नमा आए अनुसार कतिले नागरिकता पाउने प्रक्रियामा छन् । नागरिकता पाए भने फर्काउने कुरामा केही गर्न सक्ने अवस्था रहँदैन । मैले यो समस्या सहजीकरण गर्नका लागि सरकारले पहल गरिराखेको अवस्था हो । मैले त्यसलाई अझ बढी तिब्रताका साथ पहल गर्नका लागि मलाई रुसी भाषाको ज्ञान र रुसीहरुसँग परिचयको कारणले गर्दापनि सहज हुन्छ कि भन्ने मैले अपेक्षा राखेको छु ।’
प्रश्तावित राजदुत चौहानले नेपालमा तेल आयात गर्ने वैकल्पिक स्रोत रुस रहेको भन्दै यस निम्ति पनि काम अगाडी बढाउने बताउनु भयो ।