✍️ डा. दर्शनराज पाण्डे
यही मंगलबार साँझ ६ बजे काठमाडौंकी एक ३० वर्षीया महिला महिनावारी रोकिएको र तल्लो पेट अत्यधिक दुखिरहेको भनेर श्रीमान्ले अस्पताल ल्याएर आए । बिरामीको जाँच गर्दा योनीबाट रक्तस्राव भइरहेको, पेट फुलेको, शरीरमा रगतको कमी र सकमा रहेको देखियो ।
बिरामी बोल्न सक्ने अवस्थामा थिइनन्, बेहोस् जस्तै ! उपचार तत्काल सुरु भयो । अत्यावश्यक जाँच तुरुन्तै गर्नुपर्छ भन्दा न त पैसा छ, न स्वास्थ्य बीमा ! अस्पतालको इमर्जेन्सीबाट तत्काल आवश्यक मिल्न सक्ने जाँच पठाएर बिरामीका श्रीमान्लाई हालको अवस्था र जोखिमहरू बुझायौं ।
संसारमा नेपालमात्र एउटा यस्तो देश होला जहाँ जुन सुकै औषधि सजिलै किन्न मिल्छ, मानौं पसलको चक्लेट किने जसरी । च्याउसरी उम्रेका औषधि पसललाई त आम्दानी होला, बिरामीको भने सत्यानाश हुन्छ । व्यापारको नाममा मानवीय धर्म बिर्सनु हुँदैन ।
श्रीमान्ले सबै नालीबेली बताए । ‘घरमा बच्चा छ, पिसाब जाँच गर्दा गर्भवती देखायो । अनिश्चित गर्भ फाल्न नजिकैको पसल (फार्मेसी)बाट औषधि लिएर खाएको तीनदिन भयो रगत बगिरहेको छ, रगत रोक्नलाई पनि औषधि खाएको ठीक भएन । घर छेउको प्राइभेट अस्पतालमा उपचार र अप्रेशनको एकदेखि डेढ लाख लाग्छ भन्यो ।
संसारमा नेपालमात्र एउटा यस्तो देश होला जहाँ जुन सुकै औषधि सजिलै किन्न मिल्छ, मानौं पसलको चक्लेट किने जसरी । बिरामीलाई पाठेघरभन्दा बाहिरको नलीमा बसेको गर्भ फुटेको अवस्था रहेको र तत्काल अप्रेशन गर्नुपर्ने देखियो । उपचारको सम्पूर्ण पैसा पनि अस्पतालकै सामाजिक सेवा इकाइबाट छुट गराएर उपचार सुरु भयो ।
फुटेको नली फाल्ने अप्रेशन सम्पन्न भयो । बिरामीलाई थप ६ पोका रगत चढाउनु पर्यो । अप्रेशन सफल भयो, बिरामीको ज्यान जोगियो, करिब एक घण्टाभित्रै बिरामीको उपचार सकेर बिरामीलाई निगरानीमा राखियो । बिरामीले दाहिने नली भने गुमाउन पर्यो ! त्योभन्दा ठूलो बिरामीको ज्यान जोगियो, श्रीमान्ले श्रीमती गुमाउनु परेन, घरको निर्दोष बच्चाले आमा गुमाउनु परेन । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका उपचारमा संलग्न टिमप्रति बिरामी र आफन्तले बिरामी बचाइदिनु भएकोमा खुशी साटे । बेहोस् अवस्थाकी श्रीमती, पैसा छैन भन्दै रुदै गरेका श्रीमान्को जीवनमा परेको यति ठूलो चोटमा मल्हम लगाइदिनु हुने डाक्टर साबको टिम र अस्पतालप्रति मनैदेखि धन्यवाद ।
सामान्य रूपमा भ्रुण पाठेघरमा स्थापना हुनुपर्छ ! त्योबाहेक पाठेघरको नली (ट्यूब), डिम्बसाय, पेटमा गएर भ्रुण बस्यो भने त्यसलाई ‘एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ । योनी, पाठेघर र नलीको बारम्बार संक्रमण हुने महिलामा पाठेघरबाहिर बच्चा बस्ने सम्भावना बढी हुन्छ । महिलामा पेट दुख्ने धेरै कारण छन् । त्यसैले पेट दुख्नासाथ स्वास्थ्य परीक्षण गराइहाल्नु बुद्धिमानी हुन्छ ।
बिहानीको ३ बजे फेरि अर्की बुढी आमाले आफ्नो छोरी अचेत अवस्थामा ल्याउनुभयो । उहाँलाई पनि एक्टोपिक प्रेग्नेन्सी अप्रेशनको तयारी गरी रगत जाँच र रगत जम्मा गर्न अनुरोध गरियो । कुरा फेरि त्यही, ‘बाबु साथमा आफन्त र पैसा छैन, सुन राखी उपचार गराउन मिल्छ ?’ आमाको सो बोली सुनेपछि केही स्वास्थ्यकर्मी बिरामीलाई अप्रेशन कोठामा लिएर गए कोही त्यस वृद्ध आमालाई बस्ने ठाउँमा राखी नेगेटिभ रगतको जोहो गर्न लागे, खर्च सामाजिक कोषबाट । अप्रेशन सफल आमा र छोरीको मुखमा मुस्कान ।
यो र यस्तै घटनाले तीन-चारवटा सवाल गर्न आवश्यक ठाने ।
पहिलो :
च्याउसरी उम्रेका औषधि पसललाई त आम्दानी होला, बिरामीको भने सत्यानाश हुन्छ । पसलबाट मनलाग्दी औषधि किन्दै खाने नगर्नुहोला । औषधि पसल सञ्चालकले पनि अवस्था हेरेरमात्र औषधि दिनुपर्छ, ब्यापारको नाममा मानवीय धर्म बिर्सनु हुँदैन । कयौं मान्छेलाई थाहा छैन, तपाईंहरूले डाक्टरलाई देखाउनुपर्छ मात्र भनिदिए पनि ठूलो धर्म हुन्छ, यस्ता दुर्घटना न्यूनीकरण गर्न तपाईं हामी सबैको साथ अनिवार्य छ । देशमा औषधि व्यवस्था बिभाग छ । जथाभावी गर्ने माथि निगरानी बढाउनपर्छ । काठमाडौंमै यस्ता घटना कयौं देखिन्छन्, राजधानी बाहिरको अवस्था झन् विकराल छ ।
दोस्रो :
गर्भ रोक्न कयौं साधन छन् । स्वास्थ्य संस्था तपाईं हामीलाई उपयुक्त साधनबारे सम्पूर्ण जानकारी दिइन्छ । उपयुुक्त साधनको प्रयोग गरौं । अनिच्छित गर्भ भए डाक्टरलाई नदेखाई कुनै पनि औषधि प्रयोग नगर्नु होला । सरकारले गर्भपतन सेवा धेर जसो अस्पतालमा उपलब्ध गराएको र उल्टै पैसा पनि दिने गरेको छ । गर्भपतन सेवा धेरै विकास भइसकेको भए पनि हामी आमनागरिक आफैँ सजग छैनौं, हाम्रा पनि कयौं कमिकमजोरी छन् ।
तेस्रो :
सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । कसलाई कहिले के पर्छ थाहा हुँदैन । तीन हजार पाँच सयमै एक लाखसम्मको स्वास्थ्योपचार पाउनु सामान्य कुरा होइन । वडा-पालिकामा बुझेर सबैले स्वास्थ्य बीमा गरौं । हाम्रा सरकारी अस्पताल अब्बल छन् । सबैले विश्वास गरौं । संसारकै सस्तो दरमा सेवा उपलब्ध हुनु हामी सबैका लागि अवसर हो ।
अन्तिममा
सामान्य रूपमा भ्रुण पाठेघरमा स्थापना हुनुपर्छ ! त्योबाहेक पाठेघरको नली (ट्यूब), डिम्बसाय, पेटमा गएर भ्रुण बस्यो भने त्यसलाई ‘एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ । योनी, पाठेघर र नलिको बारम्बार संक्रमण हुने महिलामा पाठेघर बाहिर बच्चा बस्ने सम्भावना बढी हुन्छ । महिलामा पेट दुख्ने धेरै कारणहरू छन् । त्यसैले पेट दुख्नासाथ स्वास्थ्य परीक्षण गराइहाल्नु बुद्धिमानी हुन्छ । बेलैमा उपचार नभए एक्टोइपिक गर्भ फुटेर रगतबगेर महिलाको ज्यानसमेत ठूलो खतरा हुन्छ । (कालिकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.पाण्डे हाल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौंमा हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच