गत बिहीबारको अंकबाट क्रमशः
क्रिष्टिनाले होटलको बिल भुक्तानी गरेपछि हामी बाहिर निस्किएर इ-ट्रेन चढ्यौं र अन्ततः वर्ड ट्रेड सेन्टरमा उत्रियौँ । त्यहाँ उत्रिने वित्तिकै क्रिष्टिनाले ‘ट्रेड सेन्टर माथि चढ्ने कि ?’ भनेर सोधी । पहिला नै चढी सकेकाले उसको खर्च गराउनु उचित ठानिन र धन्यवाद दिँदै नचढौँ भनेँ । हामी अगाडि बढ्यौँ र बेट्री पार्कमा फेरिको टिकट लिएर फेरिबाट स्टेच्यु अफ लिवर्टी पुग्यौँ । जतिपल्ट पुगे पनि अझ नयाँ नौलो लाग्ने यो मूर्ति आफैँमा अभूतपूर्व त छँदैछ यससँग गाँसिएको इतिहास पनि कम मननीय र शिक्षाप्रद छैन ।
मैले स्वतन्त्रताकी मूर्तिका बारेमा कतिपय ऐतिहासिक कुराहरू पहिले नै पटक-पटक सुनिसकेको छु तथापि अहिले क्रिष्टिनाको भनाइ पनि उत्तिकै चाख मानेर सुनी रहेको छु । क्रिष्टिना पहिलोपटक आएका पर्यटकलाई जानकारी गराएझैँ हामीलाई अहिले पनि स्वतन्त्रताकी मूर्तिलाई स्वतन्त्रता, प्रेरणा र आशाका प्रतीकका रूपमा चिनाइ रहेकी छ । यही बुझाउने बहानामा ऊ ‘एक तीरले दुई सिकार’ गरेको सम्झँदै नृति र मेराबीचमा बसेर बेलाबेला मेरा ढाडमा उसका मायालु हातका स्पर्शले मलाई मायाको सन्देश सम्प्रेषण गरिरहेकी छ । मोवाइलमा केही देखाउने बहाना बनाएर बेलाबेला नृतितिर टाँसिँदै केही भनेझैँ गरे पनि क्षणमै मसँग टाँसिँदै पंकज सदृश उसको वदन मलाई सुम्पन लालायित भएको भाव देखाइरहेकी छ । म भने डर र मोहका रापमा सेकिइरहेको छु ।
जे होस् आज मलाई सुन्दर गोरीबाट प्रेमानुभूति पाएकोमा एकप्रकारको आनन्द महसुस भएकोछ । म क्रिष्टिनाले देखाएको प्रेमभावमा ऊ सँगसँगै बहकिएर उसमा मोहित भएको भाव देखाइरहेको छु । पछि आउने परिणाम जानी-नजानी उसका स्पर्शको मोह त्याग्न नसकेर ऊ र म अझैं टाँसिरहने अभिप्रायले नाटकीय पारामा नाना प्रश्न गरिरहेको छु । ऊ पनि सायद मेरो अभिप्राय बुझेरै होला मख्खपर्दै कुराका बिस्कुन छर्न उद्यत् देखिन्छे । प्रश्नोत्तरको क्रममा कुरा लम्याउन मैले सिलसिला मिलाउँदै स्वतन्त्रताकी मूर्तिका विशेषताका वारेमा प्रश्न गरेँ । बहाना बुझेकी क्रिष्टिनाले यो मूर्ति फ्रान्सले अमेरिकालाई १८६६ मा उपहारस्वरूप पठाएको हो र यसको उचाइ ३०५ फिट एक इन्च छ भन्दै मलाई राम्रैसँग ठेली । उसको ठेलाइबाट डराउँदै मैले हत्तपत्त नृतितर्फ चियाए तर धन्य उनी पर आउँदै जाँदै गरेका जहाजको दृश्यावलोकनमा हराइरहेको देखेँ र आफू बचेकोमा दंग भए ।
यो पाश्चात्य समाजको कस्तो स्वतन्त्रता हो ? एउटी यौवना आक्रमक भएर परपुरुषलाई सार्वजनिक ठाउँमै दिनदहाडै चुम्बन गर्न सक्छे ? वरिपरिका यत्रा मानिस देखे पनि नदेखेझैँ आफ्नै धुनमा व्यस्त छन् ।
यसबेला क्रिष्टिना अलिक रागात्मक आवेशमा आएको अनुभूत गरेँ मैले । त्यसैले विस्तारै उसलाई घचेटेँ । मैले घचेट्नासाथ उसले मलाई पुलुक्क हेरी । मैले नृतितर्फ संकेत गर्दै थोरै परसर भने । उसले सरेझैँ गरेर शरीरमात्र हल्लाई । उसको यो कपटी हल्लाइमा म सतर्क हुँदै थिएँ त्यहीबेला शौचालय कता होला ? भन्दै नृति जुरुक्क उठिन । नृतिको उठाइमा मैले राहत महसुस गरे । नृति उठेपछि म पनि उठे र क्रिष्टिनालाई एक फन्को लगाउँ भनेर उठाए । ऊ उठ्दा पनि छेवैमा उभिएको मलाई समाउँदै उठी । क्रिष्टिनाको यस्तो चाला देखेर उसमा उर्लेको रागको ज्वालाको रापले हाम्रो पारिवारिक जीवनमा आहत त पार्ने होइन ? सोचले म कताकता डराए ।
हामी घुम्दै शौचालय नजिक पुगेपछि नृति शौचालयभित्र पसिन् । उनीभित्र पस्नासाथ क्रिष्टिनाले मौका छोपेर बसेको बाघले शिकारलाई झम्टेझै मेरो कमरमा समाइ र ‘तलाई प्रेम गर्छु’ भन्दै भटाभट मेरा गाला र ओठमा चुम्न थाली । उसले यसरी अप्रत्याशित तीनचार पटक चुम्बन गरी । एकछिन् रोकिएर मेरो अनुहार पढी र पुनः मलाई चुम्न खोजी । म अलमल्ल भएँ । यसो नगर भन्नुको सट्टा नृतिले देख्छिन् भनेर अलिक पर सरेँ । ऊ मुख पुछ्दै शौचालय तिर लागी । म बाहिर नृतिलाई पर्खँदै विचलित अवस्थामा गम्न थाले । यो पाश्चात्य समाजको कस्तो स्वतन्त्रता हो ? एउटी यौवना आक्रमक भएर परपुरुषलाई सार्वजनिक ठाउँमै दिनदहाडै चुम्बन गर्न सक्छे ? वरिपरिका यत्रा मानिस देखे पनि नदेखेझैँ आफ्नै धुनमा व्यस्त छन् ।
नृति बाहिर आउने वित्तिकै मलाई ‘हजुर नजाने ?’ भनेर प्रश्न गरिन् । मैले ‘तिमी अल्मलिन्छ्यौ कि भनेर पर्खिएको’ भन्दै शौचालयतिर लागेँ । भित्र पसेर शौच गर्दासमेत क्रिष्टिनाका चुम्बनका रागको तापले धड्किएको मेरो मुटु अझैसम्म शान्त नभएको आभाष भयो मलाई । मैले छातीमा हातराख्दै आफ्नो मूल्यांकन आफैं गर्न थालेँ र आफू गलतकामतर्फ उद्यत् भएको निचोड निकाले । मैले कृष्टिनालाई यस्तो नगर भन्नुको साटो उनले देख्छिन् भन्नु सरासर मेरो बेइमानी हो भन्ने महसुस गरे र अब उप्रान्त सतर्क रहने अठोट गर्दै बाहिर निस्किए ।
म शौचालयबाट बाहिर निस्कँदा केहीपर क्रिष्टिना प्रसन्न मुद्रामा नृतिलाई केही भनिरहेको देखे । त्यसको चालामाला देखेर मैले अन्दाज गरे यसले सिधासाधा नृतिसँग आफूले गरेको कर्म छोप्न राम्रो स्वांग पारिरहेकी होली ? म सरासर गए र नृतिका छेउमा उभिए । त्यहाँ त मेरा सोचको विपरीत क्रिष्टिना नृतिलाई उत्साह पूर्वक स्वतन्त्रताकी मूर्तिका अंगमा देखिएका विविध संकेतहरूको एकएक गरेर विस्तृत जानकारी गराउँदै रहिछ । क्रिष्टिनाका कुरा चुपचाप म सुन्न थाले । उसको भनाइ यति प्रष्ट र विस्तृत रहेछ कि यो भन्दापूर्व मैले यसको महत्वपूर्ण कथन छुटाएछु कि भन्ने थकथक भयो मलाई ।
म त्यहाँ पुगेका केही क्षणमा नृतिले मूर्तिकी देवीले हातमा बोकेको ज्वालाको बारेमा चर्चा निकालिन । यही चर्चालाई पूर्णता दिँदै कृष्टिनाले त्यो हातमा बलिरहेको राँकोलाई ज्ञानको पुञ्जका रुपमा परिभाषित गर्दै यसले सदा स्वतन्त्रताका लागि मार्ग प्रदर्शन गरिरहेको संकेतका रूपमा व्याख्या गरी र मतर्फ पुलुक्क हेरी उसको हेराइमा म प्रतिक्रियाविहीन बसेँ । तर, तुरुन्त नृतिले ‘अहो ! यसभित्र त यति गम्भीर सन्देश पो लुकेको रहेछ !’ भनेर उसलाई ऊर्जा थपिन् । कृष्टिना झन् जोसिइ र मूर्तिका विभिन्न पक्षको यस प्रकार वर्णन गर्न थाली । वर्णन गर्ने क्रममा उसले ‘जसलाई हामी ज्वालाका रूपमा देख्छौ ती तामाका पाताबाट निर्मित छन् र बाहिरबाट चौबीस क्यारेट सुनबाट आवृत छन् ।
केवल ५९ हजार ५६० वर्ग मिटरमा फैलिएक टापुमा अवस्थित मूर्तिले रोमनकी स्वतन्त्रताकी देवीको प्रतिनिधित्व गर्दछ, मुकुटमा देखिएका ती सुइराले सात महासागर र सात महादेशको प्रतिनिधित्व गर्दछन् । यो मूर्तिको अनुहार मूर्तिका परिकल्पनाकार फेडरिक अगष्ट वर्थाेल्डी की आमाको अनुहार अनुरुप ढालिएको भनिन्छ । यसको निमार्ण गर्ने मुख्य कलाकार गुस्तभ आइफिल हुन् आदि इत्यादी कुरा गर्दै अन्ततः यो विश्वमा सबैभन्दा चर्चित र चिनिएको मूर्ति हो उसले कतै नरोक्की भनी । म र नृति एकोहोरो भएर उसका कुरा चाखसँग सुन्नमा तल्लीन भयौं । सायद हामी तल्लीन भएको आभाष पाएर होला क्रिष्टिनाले तुरून्तै मूर्तिका बनावट रंग आदिका बारेमा वर्णन गर्न थाली । उसले रंगको कुरा निकाल्ने वित्तिकै मैले निलो हुनुको कारण त उगाल हो नि भनेँ । उसले सही थाप्दै यो मूर्ति तामाका पाताले आवृत्त भएको र धेरै वर्षमा तामाका पातामा आएको उगालका कारण मूर्ति निलो भएको सत्य हो’, भनी र चुप लागी ।
क्रिष्टिना चुपलागेको देखेर ‘अब फर्कने कि ?’ मैले प्रस्ताव रार्खे । उसले घडी हेरी र तुरून्त ‘ठीकै छ एक फन्को लगाउँदा यहाँबाट देखिने न्यूयोर्क र न्यूजर्सीका दृश्य परिदृष्य हेर्दै फर्कौ न त !’ भनी । हामी फन्को मार्न थाल्यौ क्रिष्टिना हामी दुईको बीचमा पसेर लिवर्टीका बारेमा थप वर्णन गर्न थाली । यो वर्णनको बहानामा ऊ बेलाबेला नृतिको अधिकारमाथि अतिक्रमण गर्दै मलाई ठेल्दै पेल्न खोज्छे जसको म नचाहेर पनि प्रतिकार गरिरहेको छु । हामी देखावटीमा घुमिरहेका छौ तर यथार्थमा के गर्दै छौं यो प्रश्न यसबेला मेरो मनमा प्रखर भएर उर्लिएकोछ तथापि अकारण मोहमा म गलेकोछु । यो पेलाइ भोगेर म सोच्दै छु घुमाइ केवल सामीप्यताको बहानामात्र बनाएको त होइन ? यसले । मैले यसरी सोच्दै गर्दा क्रिष्टिना नृतिलाई यो मूर्तिलाई हरेक बर्ष ६०० पटक प्रकाशपुञ्जले हिर्काउँछ तथापि डगमडाउँदैन भन्दै रहिछ । उसको यो भनाइ सुनेर सोचिरहेको विषयलाई पन्छाएर म एकाएक कति दह्रो रहेछ भनेर त्यतातिर सोच्न लागे । क्षणपछि उसले यो मूर्ति वास्तवमा अमेरिकी गृहयुद्धमा दाश प्रथाको उन्मूलन भएको र दाशहरू स्वतन्त्र भएको प्रतीक हो भनिन्छ भनी र मौन भइ । ऊ मौन हुने वित्तिकै मैले फर्कने संकेत गरे । हामी फेरि भएतिर लाग्यौं ।
हामी फर्किन फेरी चढ्यौ तर आँखा र मन भने अझैँ मूूर्तिको सेरोफेरोमै लठ्ठिएका छन् । अहिले झण्डै अढाई घण्टा त्यही मूर्तिका वरिपरि रमे पनि तृष्णा अझै भेटिएको छैन । सोच्दै गर्दा मेरो देशलाई सगरमाथाको देश भने जस्तै अमेरिका पनि त स्वतन्त्रताकी मूर्तिको देश रहेछ जस्तो लाग्यो । म यो मूर्तिको सुन्दरता र मेरो हिमालको सुन्दरतामा तुलना गर्न थाले । दुवै सुन्दर तर एक मानव निर्मित अर्को प्रकृति प्रदत्त । म प्रकृति र मानवको कलाकारितामा समानता खोज्न थाले । यहीबेला कृष्टिनाले नृतिलाई यो स्वतन्त्रताकी मूर्तिमा प्रतिवर्ष ४३ लाख मानिसले भ्रमण गर्छन् भनेको झट्ट सुने । मनमा सोच्दै गरेको विषयलाई चट्ट छाडेर एकाएक विषयान्तर भयो मेरो सोच र प्रवेश गर्यो मेरा देशका प्रकृति र सम्पदामा । म स्वतन्त्रताकी मूर्तिका आउने पर्यटक र हाम्रो देशमा भित्रिने पर्यटकको आकडा सम्झेर निराश बने । खोच्न थालँे हामीसँग पशुपति छ, हिमाल छ, लुम्बिनी छ यस्तै अनेकौ विश्व सम्पदा छन् तथापि दश लाख पर्यटकको अपेक्षा गर्दै हामी मख्ख पर्छौ । हुनत भ्रष्टाचारका लागि नै योजना बनाउने योजनाकार, त्यसलाई कायान्र्वयन गर्न आदेश दिने राजनीति र कायान्र्वयन गर्ने कुशासकको साम्राज्यमा देश बन्ने बनाउने अपेक्षा गर्नु कति सार्थक होला ? सोच्दै गर्दा एक साथीले पत्रिका नपढी चित्त बुझ्दैन पल्टायो पढ्न लायक कुरा भेट्दिन त्यसैले अन्तिम पेजको खेलकुद हेरेर चित्त बुझाउँछु भनेको झट्ट सम्झिए । उसको यो भनाइ उपहास हो कि पीडा केहीक्षण म सोचमग्न भए र म नृति र क्रिष्टिनाका कुरातिर फेरि फर्किए ।
झण्डै अढाई घण्टा मूर्तिका वरिपरि रमे पनि तृष्णा अझै भेटिएको छैन । सोच्दै गर्दा मेरो देशलाई सगरमाथाको देश भनेजस्तै अमेरिका पनि त स्वतन्त्रताकी मूर्तिको देश रहेछ जस्तो लाग्यो । म यो मूर्तिको सुन्दरता र मेरो हिमालको सुन्दरतामा तुलना गर्न थालेँ । दुवै सुन्दर तर एक मानव निर्मित अर्को प्रकृति प्रदत्त ।
दुवै जनालाई हेरेँ अझै मूर्तिका सेरोफेरोमा अल्झिएका छन् । फेरि केही पर पुगेपछि न्यूजर्सी न्यूयोर्क र मूर्तिको त्रिवेणीमा आइपुगेको अनुभूत भयो मलाई । मैले मेरो अनुभूति भनि सक्दा क्रिष्टिनाले ‘दूरी का हिसावले यो सबैलाई लाग्न सक्छ किनकि न्यूयोर्क बाट २.६माइल र न्यूजर्सीबाट १.६ माइल दूरीमा अवस्थित छ यो टापू’ भनी र मेरो भनाइलाई पुष्टि गरी । लगभग बीस मिनेटमा फेरि बेटरी पार्कमा पुगेर किनारा लाग्यो । हामी पूर्वसल्लाह अनुरुप पन्ध्र-बीस मिनटमा टायम्स स्क्वायरसम्म घुम्दै पुग्ने उद्देश्यले पैदल यात्रामा लाग्यौ । बाटाका गगन चुम्बी घर र मध्य न्यूयोर्कको सुन्दरतालाई नजर र मनमा कैद गर्दै हामी अन्ततः टायम्स स्क्वायर पुग्यौँ ।
विश्वको राजधानी न्यूयोर्क त्यसको मुटु टायस्म स्क्वायरमा पुग्ने वित्तिकै आफूमा स्वतःस्फूर्त एक प्रकारको ऊर्जा प्राप्त भएको महसुुस गर्नु कुनै नौलो होइन । विज्ञापन र विद्युतको समायोजन देखेर तिनीसँगै तरंगित हुँदै देखिने जोडीको भावभंगीले सदानै राग र उन्मत्तताको उर्जा प्रवाह गर्ने भएकोले नै होला यहाँ आएका वृद्धदेखि बालकसम्मलाई रसिक बनाइदिन्छ यहाँको वातावरणले । सायद सुन्दर स्त्रीजातिको तस्वीरसम्म देख्दा रागात्मक हुने पुरुष वर्गको एक पुरुष भएकाले होला म पनि बेलाबेला क्रिष्टिनाको स्पर्शको रागामा आनन्द अनुभूत गरिरहेको छु ।
क्रिष्टिनाको रागमा पग्लँदै गर्दा मैले नृतिको अनुहारमा हेरेँ । उनको अनुहारमा सदाझैँ यहाँ आएपछि मेरो र उनको बाहुको माला गुथेर आपसी स्पर्शबाट उत्पन्न अनुरक्ततालाई टायम्स स्क्वायरको उन्मत्तताको घोलमा प्रज्ज्वतिल गर्दै फन्को मार्ने चाहनाको झल्को पाए । उनको हाल देखेर म द्रवित भए तर के गर्नु उनको लजालु स्वभावनै उनका लागि दिवाल भएर उभिएको छ ? मलाई थाहा छ उनले थपक्क आएर मेरो बाहुमाबाहु मिलाएर समग्र न्यूयोर्क घुमेपनि अन्यथा हुने वा मानिने छैन । प्रतिदिन तीन लाख साठी हजार मानिसले भ्रमण गर्ने यो टायम्स स्क्वायरको भीडमा हजारौं होइन लाखौं चुम्बन हुने वातावरणमा उनले मलाई निर्धक्क चुम्बन गरे पनि कसलाई के मतलब ? तथापि नानीदेखि लागेको बानी । लज्जाको तघारो छ उनको मनमा । चिनेकी क्रिष्टिना छ उनका सामुमा । यसरी सोच्दै गर्दा मैले छेवैकी क्रिष्टिनालाई हेरे उसको मुहारमा मेरो स्पर्श र सामीप्यको लालसा झल्किएको छ कताकता नृतिलाई ल्याएकोमा ऊ पछुताएकी हो कि भन्ने आभा छल्केको छ । म दुईको बीचमा एक्लो मन लिएर उभिएको छु न नृतिसँगको बाहुमा बाधिन सकिरहेको छु न क्रिष्टिनाको कम्मरमा हात राखेर टायम्स स्क्वायर घुम्न सकिरहेको छु ।
हामी संसारको उन्मत्त, उदत्त र आनन्दमय स्थानमा छौं तथापि सबैको मन अपूर्ण छ । सबैले खोजेको कुरो एकै छ, बीचमा एकअर्काे तघारो भएको छ । मनमा राग छ,र वदनमा वेदना छ । यस बखत अप्रासांगिक भए मैले झट्ट भर्र्तृहरिको नीतिशतकको ‘धिक् तां च तं च मदनं च इमां च मां च’श्लोकलाई सम्झिँदै उनकै लयमा लय मिलाउँदै मदनलाई गाली गरे । म तत्क्षण यौन, तृष्णा, जगत र सृष्टिको प्रादुर्भावको विषयमा सोच्न थाले । सायद म एकोहोरिएको थाहा पाएर हो कि ? क्रिष्टिनाले ‘अलिक पर गएर कफी पिउँ कि ?’ भनी । मैले तुरून्त उसको कुरालाई समर्थन गर्दै ज्याक्सन हाइटमा जाने र सेल रोटी र कफी खाने प्रस्ताव राखे । उसले रोटी भन्दै छक्क परेको भाव देखाइ । नृतिले तुरुन्त यहाँको डोनट जस्तै हो भनेर उसको जिज्ञाषाको निदान गरिन् ।
हामी मेट्रो सेभेनबाट ज्याक्सन हाइट पुग्यौ, सेलरोटी र तरकारी खान थाल्यौ । आफूले खान थाल्नुपूर्व क्रिष्टिनाले एकछिन् हामीले खाएको हेरी र हामीलाई पछ्याउन थाली । खाउन्जेल मैले नेपालमा रोटीलाई कुन रूपमा लिइन्छ र कतिसम्म पवित्र मानिन्छ भनेर उसलाई सम्झाए । उसले विस्तारै खाइ र अन्तमा ‘मीठो रहेछ !’ भनी । मैले एकछिन् ज्याक्सन हाइटका रोटीको ख्याती गाए र घर लैजान केही रोटी थुङ्गामा हाल्न लगाए । मेरो थुङ्गा तयार हुनलाग्दा क्रिष्टिनालाई ‘केही रोटी बाबुआमाका लागि लाने हो ?’ भनेर प्रश्न गरे । मेरो प्रश्नमा छक्क पर्दै किंकर्तव्यविभूढता दर्शाइ । मैले उसका लागि पनि रोटी प्याक गर्न लगाए र पैसातिर्न गोजीबाट पर्स निकाल्न थाले । तर, यहाँ पनि मलाई क्रिष्टिनाले डलर तिर्न दिइन । मैले नृतिको भावभंगीबाट सहजै थाहा पाए क्रिष्टिनाका पैसाले किनेको रोटी बोकेकोमा उनले मन पराइनन् । हो मलाई पनि अप्ठेरो लागिरहेकोछ तर उसको मायालाई नकार्न पनि मैले सकिरहेको छैन । म आफैँ द्विविधामा भए र अन्ततः केही स्पष्टीकरण दिने वित्तिकै विवाद बढ्नेछ भन्ने सोचले कुरा छल्न चिया खान जाने भन्दै कवाफ किंगतिर लागे ।
कवाफ किंग पाकिस्तानी रेष्टुरेन्ट मेरो ज्याक्सन हाइटको एउटा स्टेशन हो । यहाँको चिया सदृश मीठो चिया मैले अमेरिकाको अन्य रेष्टुरेन्ट पाएको छैन । स्टारवर्गको महँगो कफीको बदलामा एक डलरको ल्वांग र सुकुमेल युक्त यसको चियाले नै वितृप्त पार्दछ चिया प्रेमीलाई । त्यहाँ पुग्ने वित्तिकै मैले काउन्टरमा गएर तीन कप चिया भने । भनिसक्दा झट्ट याद आयो वा क्रिष्टिनाले कफी पिउने भन्छे कि ! छेवैमा उभिएकी क्रिष्टिनाको अनुहारमा हेरे । प्रत्युत्तरमा मुस्कुराउँदै पैसा तिर्न थाली । ढुक्क हुँदै मैले एककप चिया क्रिष्टिनालाई थमाए र दुईकप बोकेर पर बसिरहेकी नृतितर्फ बढे ।
म नृतिको चियाअगाडि राखिदिएर आमने सामने बसे । नृति र मेरो अपेक्षाको प्रतिकूल मेरा पछिपछि आएकी क्रिष्टिना मसँगै टास्सिएर बसी । मैले पुलुक्क नृतिलाई हेरे । क्रिष्टिना मसँग बस्ने बित्तिकै नृतिको अनुहार प्रकाशमय अकाशमा एकाएक बादल लागेझैँ भयो । मैले कारण थाहा नपाए जस्तो गर्दै बेलुकाको खाना यतै खाएर जाने हो ? नृतिलाई नेपालीमा भने । उनले थोरै रूखो भाकामा तुरून्त ‘सित्नै खान खोजे जस्तो किन गर्ने घरमै गएर खाने नि !’ भनिन् । क्रिष्टिना कुरा बुझ्न पालैपालो हाम्रो मुख हेरिरहेकी छ त्यसैले उसलाई ‘उनी अब फर्कियौँ’ भन्दैछन् भनेर कुरा मिलाए । मेरा कुरा पत्याएकी क्रिष्टिनाले मलाई विस्तारै कोट्याउँदै ‘किन यति छिटै जाने बरू गाडी लिएर मेनहटन जाने र वार रेष्टुरेन्टमा केहीवेर रमेर जाँदा हुँदैन ?’ भनी । यस बेलासम्ममा मैले नृति र क्रिष्टिना दुवैको भाव पढिसके । नृति जतिसक्तो चाडो क्रिष्टिनाबाट मलाई टाडा पार्न चाहँदैछन् भने क्रिष्टिना मेरो सामीप्यता भरिसक्य लम्याउन खोजिरहेकी छ ।
मलाई केन्द्रविन्दुमा राखेर क्रिष्टिनाको हाउभाउ पढिरहेकी नृतिले तुरून्त ‘भोलि दिउँसो स्टप एण्ड सप र भ्याइयो भने कोल्समा गएर सामान ल्याउनु छ । यति गर्दा लगभग तीन घण्टा हिँड्नुपर्छ । आजको यो घुमाइ र भोलिको हिँडाइको थकान लिएर बेलुका हजुरको काममा जादाँ के हाल होला ? बरू चाँडै फर्केर आराम गरौँ’ भनेर फर्कन हतारो गर्न थालिन् । मैले नृतिको भावना बुझेँ, क्रिष्टिनालाई भरखरै रोटी खाएकाले बेलुकाको खाना नखाने र आज तैले गाडिहाक्नुपर्ने भएकाले वार रेष्टुरेन्टमा पनि नपसौ बरू कुनै दिन मेट्रोमै आएर अवेरसम्म घुमेर फर्कने समय मिलाउँला हुन्न ?’ भनेँ । मेरो कुरामा सहमति जनाउँदै ऊ गाडीतिर लागि । हामी उसका पछिपछि लाग्यौ ।.........क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच