काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबिबिएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सो प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै आम जनता र सम्बन्धित विद्यार्थीहरूलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देश गरेको हो ।
परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो । समितिले सो सम्बन्धमा तत्काल छानविन समिति गठन गरी १० दिनभित्र सो प्रतिवेदन समितिमा पेस गर्न पनि सरकारलाई सचेत गराएको छ ।
‘आम नागरिकहरूको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षा जस्तो गम्भीर विषयमा तथा विद्यार्थीको भविष्यसँग समेत जोडिएको चिकित्सा शिक्षासम्बन्धी एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा यसपटक देखिएको कमजोरी के कारणले भएको हो ? सो सम्बन्धमा १० दिनभित्र छानविन गरी तथ्य कुरा बाहिर ल्याउन र त्यसको आधारमा आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धित विद्यार्थीहरूको समेत विश्वास जित्नेगरी आवश्यक सुधार गरी अगाडि बढ्न तथा छानविनसम्बन्धी प्रतिवेदन समितिसमक्ष पेस गर्न यो समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ’ समितिको निर्णय छ ।
बैठकमा समितिका सदस्यहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै डामाडोल हुने गरी सो परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए । यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भीर त्रुटि गरेको औँल्याउँदै त्यसलाई छानविन गरेर अघि बढ्ने प्रतिबद्धता समितिसमक्ष गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच