वासिंटन डिसी । मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको प्रतिक्रियामा संयुक्त राज्य अमेरिकाले रुसका १० व्यक्ति र दुई संस्थामाथि प्रतिबन्ध लगाएको छ । ‘अर्थ मन्त्रालयअन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी)ले बुधबार १० व्यक्ति र दुई संस्थालाई अमेरिकी राष्ट्रपति चुनावलाई लक्षित गर्ने मस्कोको दुर्भावनापूर्ण प्रयास गरेकोमा अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ’, अर्थ मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।
महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रुस समर्थित सञ्चारमाध्यम ‘आरटी’का दुई कर्मचारीविरुद्ध सम्पत्ति शुद्धीकरण र विदेशी एजेन्ट दर्ता ऐन उल्लंघन गरेकोमा दोषी ठहर गर्नुभएको हो । अमेरिकाले रुस सञ्चालित निकायहरूले लामो समयदेखि जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लगायत अन्य उपकरणको प्रयोगबाट संयुक्त राज्य अमेरिकाको निर्वाचन प्रक्रिया र संस्थामा रहेको जनविश्वासलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।
‘सन् २०२४ को प्रारम्भबाट रुसद्वारा वित्तपोषित समाचारमाध्यम आरटी अधिकारीहरूले दुर्भावनापूर्ण प्रभाव फैलाउने अभियानका लागि अञ्जान अमेरिकी प्रभावकर्तालाई गोप्य रूपमा प्रयोग गर्दै आएका थिए’, अर्थ मन्त्रालयले भनेको छ । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले बाइडेन प्रशासनले रुसको यस्ता गतिविधिका लागि राज्य प्रायोजित निकायलाई जवाफदेही बनाउने प्रयास गरिरहेकोमा जोड दिनुभयो ।
‘आजको कार्यले हाम्रा संस्थामा जनताको विश्वास कमजोर गराउने उद्देश्यका गतिविधिका लागि राज्य प्रायोजित निकायलाई जवाफदेही बनाउने अमेरिकी सरकारको प्रयासलाई जोड दिन्छ’, उहाँले भन्नुभयो, ‘हाम्रो लोकतान्त्रिक सिद्धान्त र निर्वाचन प्रणालीको अखण्डताको रक्षा गर्ने हाम्रो प्रतिबद्धतामा डगमगाउने छैन ।’
विदेश मन्त्रालयले अमेरिका विरुद्ध गोप्य गतिविधिका लागि आवरणका रूपमा प्रयोग गर्ने क्रेमलिन-समर्थित सञ्चार संगठनका लागि काम गर्ने व्यक्तिमाथि लगाइएको प्रतिबन्ध नीतिसहित तीन सम्बन्धित कार्यहरू पनि घोषणा गरेको छ ।
विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएअनुसार यसले अमेरिकामा सञ्चालनमा रहेका छवटा आरटी सम्बद्धलाई ‘विदेशी मिसन’ का रूपमा दर्ता गरिएको छ । साथै अमेरिकी चुनावमा हस्तक्षेप गर्ने सम्भावित विदेशी प्रयासका बारेमा जानकारी दिनेलाई एक करोड डलरसम्मको पुरस्कार दिने प्रस्ताव गरेको छ । रासस/एएनआई ।