तीज विशेष पहिरन र फेशन डिजाइनर दिलमाया

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । फेशनको दुनियाँमा आफ्नो छुट्टै र विशेष पहिचान स्थापित गर्न सफल फेशन डिजाइनर दिलमाया मगरले महिलाहरूमा हरेक वर्ष तीज विशेष फेशनको रुचि बढ्दै गएको बताउनुहुन्छ । डिल्लीबजारस्थित एमकेएम फेशन हाउसकी सिईओ दिलमायाले ग्राहकको रुचि र आवश्यकता अनुसार परामर्शसहित नयाँनयाँ डिजाइनका पहिरन उपलब्ध गराउँदै आउनुभएको छ । तीजमा विशेषगरी महिलाहरूले रातो रंगको सारी लगाउने प्रचलन रहेको बताउँदै दिलमाया भन्नुहुन्छ, ‘सार्वजनिक समारोहमा जाँदा एकपटक लगाएको पहिरन अर्कोपटक पनि लगाउने रुचि धेरैलाई हुँदैन । त्यसैले पनि हामी हरेक ग्राहकका लागि नयाँ लुक्स दिने प्रयास गरिरहेका हुन्छौं ।’

राष्ट्रियस्तरका विभिन्न ब्युटी कन्टेष्ट, फेशन शो लगायत समारोहमा फेशन डिजाइनरको रूपमा आफ्नो महत्वपूर्ण जिम्मेवारी पूरा गर्दै आउनुभएकी र उत्कृष्ट प्रस्तुतिका कारण पटक-पटक पुरस्कृतसमेत हुँदै आउनुभएकी एमकेएम फेशन हाउसकी सिईओ दिलमायाको अनुभवमा महिलाहरू पहिलाको तुलनामा अलि फराकिलो सोच राख्न थालेका छन् । परिवर्तीत समयसँगै महिलाहरूको साक्षरता र आत्मनिर्भरताको प्रतिशत पनि बढेको छ भने उनीहरू नयाँनयाँ फेशनमा सचेत छन् । ‘महिलाहरू सहज पहिरनमा सजिन मन पराउँछन ।

जसका लागि प्लेन सारी र हल्का भरेको ब्लाउज राम्रो विकल्प हुनसक्छ । फूलबुट्टे सारी र सादा ब्लाउजमा सजिदा पनि नारीहरू एकदमै राम्री देखिन्छन् । यस्तो पहिरन लगाउन सहज हुन्छ र आफ्नो बजेटमा पनि पर्छ । सारी मन नपराउनेहरूले तीजमा जरजेटको सररा कुर्ता र अम्रेला कुर्ता लगाउन सकिन्छ । साथै तीजमा रातो रंग धेरै प्रयोग हुने गरे तापनि मौसमलाई ध्यानमा राखेर पहिरनको रंग छनोट गर्न सक्यौं भने अझ सहज हुन्छ । अहिले झरीको मौसम भएकाले रुबियाको ब्लाउज, फूलबुट्टे सारी र सररा कुर्ता प्रयोग गर्न सकिन्छ ’, उहाँको सुझाव छ ।

ग्राहकहरूको चाहनानुसार मौसमी, पर्व विशेष र इभेन्ट विशेष डिजाइनका पहिरन तयार पारेर उनीहरूलाई सन्तुष्ट बनाउन पाउँदा असिम आनन्दको अनुभूति हुने उहाँको भनाइ छ । तीज विशेष पहिरन तयार पार्दा नयाँ प्रस्तुतिसँगै परापूर्वकालदेखिको हाम्रो पर्व विशेषको पहिचान र मौलिकताप्रति पनि आफू सचेत रहने गरेको कुरा उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *