आज हरितालिका तीज

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । हिन्दू नेपाली महिलाहरूले आज (शुक्रबार) महत्वपूर्ण चाड हरितालिका तीज पर्व मनाउँदै छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । यो पर्वमा भदौ महिनाको शुक्ल पक्षको प्रतिपदाका दिन आफ्ना चेलीबेटीहरूलाई बोलाई द्वितीयाको दिन आफ्नो सामथ्र्यअनुसार मीठा-मीठा खाद्यवस्तुहरू तयार गरिन्छ र प्रेमपूर्वक उनीहरूलाई खुवाइन्छ । भाद्र महिनाको शुक्लपक्षको तृतीयाको दिन तीज हो । प्रतिपदाबाट पञ्चमीसम्मका दिनलाई समन्वित रूपमा तीज भने पनि खास तीज चाहिँ यसै दिनलाई मानिन्छ । यो दिन महिलाहरू निराहार व्रत बस्छन् ।

भगवान् शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो । साउने संक्रान्तिदेखि तीजको रौनक सुरु हुने गर्दछ । यसको अर्को पक्ष नाचगान र मनोरञ्जन हो । नेपालका प्रायः सबै समुदायका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकास भइरहेको पर्व हो तीज ।

प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई आफ्नो पति पाऊँ भनी पहिलोपटक व्रत बस्नुभएको थियो । सोही मान्यताअनुसार पति नभएकाले राम्रो पति र विवाहितले पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने प्रचलन रही आएको छ । यस दिन बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर व्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको पूजा आराधना गर्ने प्रचलन छ । तीजको दिन बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरलगायत देशभरमा शिवालयहरूमा महिला व्रतालुको ठूलो भिड लाग्ने गर्दछ ।

यस पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अन्य दलका अध्यक्ष तथा नेताहरूले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

नेपाली महिलाहरूको महान् पर्व तीजको अवसरमा सम्पूर्ण महिला दिदी बहिनीमा हिमालय टाइम्स परिवारको तर्फबाट पनि हार्दिक मंगलमय शुभकामना ।

यस्तो छ पशुपतिनाथ मन्दिरको व्यवस्थापन
तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा आज चारवटै सुरक्षा निकायले सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्नेगरी तयारी भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

कोटेश्वर-तीनकुने-सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउण्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर-आर्यघाट क्षेत्रहुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्नेगरी पहिलो लामको व्यवस्था गरिएको छ । यो मार्गबाट छिरेका भक्तजन पूर्वी ढोकाबाट बाहिरिने छन् । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने बागमती नदीमाथिका दुई पुल पार गरेपछिको मध्यक्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शंकराचार्य मठअघिको क्षेत्रमा राख्ने व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

तेस्रो लाम गौशाला-पिंगलस्थान-पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भागमा राखिनेछ । चौथो लाम गुहृयेश्वरी-उमाकुण्ड-कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिर अघिको खुला भागमा राखिनेछ ।

बाहिर चार लाम भए पनि मूल मन्दिरभित्र प्रवेश गरेपछि प्रत्येक ढोकाबाट प्रवेश गर्नेका लागि दुईदेखि तीनवटासम्म लामको व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको लाम व्यवस्थापन गर्न कोषले अधिकृतस्तरका कर्मचारीलाई विशेष जिम्मेवारीसहित परिचालन गर्ने तयारी गरेको छ ।

आज बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको छ । यस्तै बिहानैदेखि भक्तजनलाई सहज रुपमा दर्शन गराउने व्यवस्थापन मिलाइएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वरमान भण्डारीले जानकारी दिनुभयो । तीजका अवसरमा मूल मन्दिर क्षेत्रभित्र महिला प्रहरी मात्र खटाउने गरी व्यवस्था मिलाइएको छ । त्यसका लागि ६०० महिला प्रहरीको सूची रहेको छ । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी सामग्री मेटाइने कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि तस्बिर एवं भिडियो खिच्न मनाही गरिँदै आइएको छ ।

कोषले विगत वर्षदेखि गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा पाँच सय जरिवाना गर्न सुरु गरेको छ । पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे-नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेका कोषाध्यक्ष सुवेदीलेले जानकारी दिनुभयो ।

कोषले आज बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने जनाएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आहृवान गरेको छ । वृद्धवृद्धा एवं बच्चा बोकेका महिलाका लागि लाइनबाट सहज रूपमा दर्शन गरेर फर्कने व्यवस्था मिलाइएको कोषले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *