नेपाली हिन्दू नारीहरूको ठूलो पर्व हरितालिका तीजमा आएको आधुनिकतासँगै मौलिकता ओझेलमा पर्दै गएको छ । तीज आउनु धेरै दिनअघिदेखि नै शहरमा दैनिकजसो आयोजना गरिने तीज मिलन कार्यक्रम औपचारिकतामा सीमित हुने गरेका छन् ।
पछिल्ला वर्षमा तीज पर्वमा भित्रिएको आधुनिकता र खर्चिलो प्रवृत्तिले यसको धार्मिक मूल्य, मान्यता र सांस्कृतिक परम्परा ओझेलमा परेको मालिका गाउँपालिका वडा नं ६ दरबाङ स्थित महिला वचत तथा ऋण सहकारी संस्थाकी प्रवन्धक शलिना किसानले बताउनुभयो ।
‘शहर बजारमा हुने तीज प्रतियोगितामा पनि कुनै मौलिकता छैन, पछिल्लो समय सूचना प्रविधिको बढ्दो विकासले घरमै टिभी हेर्ने, रेडियोमा गीत सुन्ने मोबाइल, युट्युबले गर्दा बजारमा तीजका गिन गाउन र नाच्न जान्ने भेटिँदैनन् ।’ किसानले भन्नुभयो । तीजलाई नारी अधिकार र स्वतन्त्रताका रूपमा लिइने गरिन्छ । पर्व मनाउने क्रममा समयअनुसार निकै परिवर्तन परिवर्तन हुँदै गएको र तीजको मौलिकपना नासिँदै गएको उहाँले बताउनुभयो ।
‘आधुनिकतासँगै तीज पर्वको परम्परागत मौलिकता हराउँदै गएको छ । पछिल्ला वर्ष बजारमा दर्जनौं संख्यामा एल्बम सार्वजनिक भए पनि तीजको मर्म बोकेका भाका पाउन भने मुस्किल छ । तीजको मौलिकता झल्किने संस्कृति हराएकोमा अघिल्लो पुस्ताका ज्येष्ठ महिला चिन्तित छन् ।
आधुनिकताको बढ्दो आकर्षण र सूचना प्रविधिको पहुँचले तीजका परम्परागत मान्यता भत्किँदै जान थालेका छन् भने माइतबाट चेलीलाई लिनजाने, दरमा दूध र फलफूलका विभिन्न परिकार खुवाउने, विवाहित महिलाले घरमा भोगेका सुख, दुःखका कुरा गीतमार्फत व्यक्त गर्ने परम्परागत चलन पनि हराउँदै गएका छन् ।
म्याग्दीमा अहिले दिनहुँजसो तीज पर्वको अवसरमा औपचारिक कार्यक्रम र प्रतियोगिता भइरहेका छन् । यस्ता प्रतियोगितामा आधुनिकताको प्रयोगले मौलिक र परम्परा ओझेलमा पर्दै गएको लोक गायिका धनकुमारी थापाले बताउनुभयो । अहिले विभिन्न संघसंस्था र महिला दिदीबहिनीले होटल होटलमा आयोजना गर्ने दर खाने कार्यक्रमले तीज पर्व आधुनिक तथा औपचारिकतामा सीमित हुन पुगेको उहाँको भनाइ छ ।
महिला नेतृ अमृतदेवी बानियाँले अहिलेका तीज गीत सामाजिक मर्यादा र अनुशासनको सीमा नाघेर रचिएको बताउनुभयो । ‘पहिला तीजको दर एक दिनमात्र खाने चलन थियो, अहिले महिना दिनदेखि होटलमा दर खान भ्याइनभ्याई छ’, उहाँले भन्नुभयो, ‘तीजको संस्कृतिसँगै मादल हरायो, मादल बज्दैन डेक लगाएर नाच्ने चलन बढ्यो ।’
आधुनिकताका नाममा महँगा होटलमा दर खाएर, डेकको तालमा नाचेर तीजको संस्कृति नजोगिने उहाँ बताउनुहुन्छ । महिलालाई हक, अधिकारसँगै कर्तव्य र समाजप्रतिको उत्तरदायित्व पनि सिकाउन जरुरी रहेको बानियाँको भनाइ छ ।
आधुनिकताको बढ्दो आकर्षण र सूचना प्रविधिको पहुँचले तीजका परम्परागत मान्यताहरू भत्किदै जान थालेका छन् भने माइतबाट चेलीलाई लिन जाने, दरमा दूध र फलफूलका विभिन्न परिकार खुवाउने, विवाहित महिलाले घरमा भोगेका सुख, दुःखका कुरा गीतमार्फत व्यक्त गर्ने जस्ता परम्परागत चलन हराउँदै जान थालेका ज्येष्ठ महिलाहरू बताउँछन् ।
हरायो तीजमा चेलीबेटी लिन जाने चलन : फेरियो लय
बेनी नगरपालिका–२ बगरफाँटकी ६९ वर्षीया गोमादेवी उपाध्यायले भदौरे भेल र वर्षाका कारण उर्लेका खोला र खहरेहरूलाई छिचोल्दै तीजमा छोरीचेली र दिदीबहिनी लिनजाने चलन अब हराएको बताउनुभयो । ‘अहिले सबैको हातहातमा मोवाइल फोन छ, घरघरमा इन्टरनेट छ । गाउँगाउँमा सडक पुगेपछि छोरीचेलीलाई माइतमा आउजाउ गर्न कुनै समस्या छैन’ उपाध्यायले भन्नुभयो, ‘तर, हाम्रो पालामा त यी कुनै पनि सुविधा थिएनन् । ससाना छोराछोरी पिठ्युमा बोक्दै र हातमा डोर्याउँदै लिन आएको भाइको पछिपछि पैदल हिडेर साँझपखमात्रै माइतीको आँगनीमा पाइलो टेक्दा मिल्ने खुशी अहिले वर्णनै गर्न सकिँदैन ।’
त्यसैगरी तीजमा गाइने गीत र त्यसको लय पनि फेरिँदै जान थालेका उहाँले बताउनुभयो ।
तीज आयो जाउन बाबु दिदी लिनलाई ।
खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई ।।
हुन्छ अमा दिदी लिन जान्छु जान त ।
कोसेली पो के लानी हो पर्छ लान त ।।
‘पहिला–पहिला तीजका गीतमा छोरीचेलीका पीडामात्रै होइन शिष्टाचारका कुराहरू व्यक्त गरिन्थे, आदरसम्मान, अनुशासन, मर्यादा र कोशेलीपातका कुराहरूसमेत गीतमार्फत अभिव्यक्त हुन्थे, अहिलेका गीतहरूमा केवल मनोरञ्जन केन्द्रित छन्, केही अपवादबाहेक घरपरिवारका सदस्यहरू एकै ठाँउँमा बसेर सुन्न र हेर्नै नसकिने खालका छन्’, उपाध्यायले भन्नुभयो ।
‘पहिला-पहिला गाउँमा सडक पुगेको थिएन, चेलीबेटी लिन माईती मावली नै पैदल हिँडेर जानुपर्ने बाध्यता थियो । सासू-ससुरा, घरपरिवारको मन जितेर र उनीहरूलाई मनाएरमात्रै माइत जान पाइन्थ्यो’ मंगला गाउँपालिका-५ की गोमा थापाले भन्नुभयो, ‘हिजोआज भने गाउँगाउँमा सवारीसाधन पुगेका छन्, हातहातमा मोबाइल छ, न दाजुभाइलाई दिदीबहिनी लिन जाने झन्झट र न दिदी बहिनीलाई कोशेलीपात्रको व्यवस्था गर्न गाह्रो, पैसा भए बजारमा सबै चिज पाइन्छ, आनन्दै ।’
हिजोआज तीज पर्वमा दर स्वरूप खाने परिकार पनि पूरै फेरिएका ज्येष्ठ महिलाहरूको भनाइ छ । ‘पहिला पहिला केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दूध र फलफूलका परिकारहरू बनाइ दर खाने परम्परा थियो । तर, हिजोआज भने एक महिना अघिदेखि होटल तथा पार्टी प्यालेसहरूमा माछा, मासु, खीरलगायत विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढेको छ,’ मालिका गाउँपालिका-६ की ६४ वर्षीया राधिका सुवेदीले भन्नुभयो । तीजमा भड्किला गीत बजाउँदै नाच्ने गरिन्छ । यसो गर्दा तीजको सांस्कृतिक र आध्यात्मिक पक्ष नासिँदै गएको छ भने सामाजिक सद्भाव पनि बिग्रँदै गएको सुवेदीले बताउनुभयो ।
यस्तो छ तीजको आध्यात्मिक पक्ष
धार्मिक कथन अनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमान्का रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरे पनि १०८औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ ।
यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ । तीज हरेक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।
तीजका गीतमा नारी वेदनालाई लयात्मक तरिकाले अभिव्यक्त गर्ने चलन पनि विस्तारै हराउँदै गएको छ । घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसंगतिविरुद्ध संगीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ । समाजलाई सही बाटोमा हिँडाउने गीतहरू भद्दा र मजाकका वस्तुजस्तै बनेका छन् । ‘भाइरल’ र चर्चित बन्ने नाउँमा गीतलाई अपभ्रम गराइएको छ । लय, ताल र सुरमा तीजको कुनै छनक नै पाइँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच