✍️ ज्यो.पं.भरतमणि मरासिनी
सधैंको वर्षजस्तै यसपालि पनि नेपाली महिलाहरूको चाड तीजले शहर तथा गाउँघरका महिला दिदीबहिनीलाई छोएको छ । तीज खासगरी दिदीबहिनीहरूको मिलनको पर्व हो । यो पर्वमा सांस्कृतिक, पौराणिक, सामाजिकजस्ता धेरै पक्ष जोडिएका छन् । भाद्रशुक्ल पक्षको प्रतिपदाका दिन आफ्ना चेलीबेटीलाई बोलाई द्वितीयाको दिन आफ्नो सामथ्र्य अनुसार मीठोमीठा खाद्यवस्तु तयार गरिन्छ र प्रेमपूर्वक खुवाइन्छ । भाद्र महिनाको शुक्लपक्ष तृतीयाको दिन तीज हो । तृतीया शब्दबाट तीज बनेको हो । यस दिन महिला निराहर व्रत बस्छन् ।
तीजसँगै जोडिएको अर्को पक्ष ऋषिपञ्चमी हो । यस दिन महिलाहरूको अति पवित्र चाड हो । पञ्चमीको दिन बिहान नजिकको नदी वा जलशायमा गई अपमार्ग नामक ३६० वटा दत्तिवनले दाँत माझेर विशेष स्नान गर्छन् र शुद्ध वस्त्र धारण गरी सप्तऋषिहरूको पूजा गर्छन् । त्यस दिन गोरुबाट नजोतिएको अन्न खान्छन् । यो व्रत एक पक्षबाट हेर्दा वैज्ञानिक छ र यसमा केही भ्रामक कुरा गाँसिएका छन् । तिनीहरूलाई समाजले निवारण अवश्य गर्नुपर्छ । यसको खास महत्व र यसका वैज्ञानिक पक्ष तथा विकृतिका बारेमा यो लेखमार्फत प्रकाश पार्ने जमर्को गरेको छु ।
सप्तऋषिहरूको पूजाको महत्व त छँदैछ, त्यसको सबभन्दा महत्वपूर्ण भनेको ऋषिहरूको पथमा चल्नु या अब म यो बाटो छोड्ने छैन, म ऋषिहरूको जस्तो दीर्घजीवी, शान्त र आनन्दको बाटो लिनेछु भनी प्रण गर्नु हो ।
ऋषि भनेका इन्द्रीयहरू हन् । ज्ञानेन्द्रीय (नाक, कान, आँखा, छाला, जिब्रो) र कर्मेन्द्रीय (हात, खुट्टा, मुख, मलद्वार र गुदद्वार) यी दश इन्द्रीयलाई जितेर आफू संयमी रहनेलाई ऋषि भनिएको हो, जुन कुरा हाम्रो जीवनमा अत्यन्त आवश्यक छ । हाम्रा वेद, पुराण तथा उपनिषद्हरूका निर्माता यिनै आदरणीय ऋषिहरू हुन् । ऋषि भनेको सबै प्रकारले इन्द्रीयहरूलाई जितेको, आत्मसंयमी, त्रिकालदर्शी, मन्त्रहरूका द्रष्टा, अन्तयन्त लामो समयसम्म बाँच्ने व्यक्ति हुन् ।
हामी यिनै ऋषिमुनिका सन्तान हौं । जसलाई हामीहरू भुलेर यत्रतत्र भट्किएका छौं । उनै दिव्य ऋषिहरूको पथको अनुशरण गर्न वा तिनीहरूले बताएको बाटो हिँड्ने प्रण गर्ने दिन ऋषिपञ्चमी हो । पूर्वज ऋषिहरूजस्तै वीर, शक्तिशाली र दीर्घजीवी बन्न सकौं भन्ने हो । ऋषिहरूको पथ अनुशरण गरी हामी संसारका सर्वश्रेष्ठ व्यक्ति बन्ने प्रयास गर्नुपर्छ । ऋषिपञ्चमीले हाम्रो दैनिक व्यवहार यस दिन गरिने क्रियाकलापजस्तो हुनुपर्छ भन्ने सन्देश दिएको छ ।
प्रत्येक दिन सबेरै उठेर चिसो पानीले स्नान गर्नुपूर्व अपामार्गले या आफूकहाँ उपलब्ध कुनै चिजले दाँत माझ्ने र सफा हुने । काम, क्रोध, लोभ र मोहबाट मुक्त भई सफा र सात्विक भोजन गर्ने, झुटो नबोल्ने, आफ्ना पतिहरूसितको सहवास पनि केवल कामवासनाका लागि जनावरहरूले जस्तो नगरी ठीक समयमा सोच–विचार गरेरमात्र गर्ने, अन्यथा खराब प्रवृत्तिका बच्चा जन्मिन्छन् । रजोवती अर्थात् पन्छिएको बेलामा सहवास भयो भने या त गर्भ नै तुहिन्छ र आमालाई शारीरिक रूपमा अवस्थामा खतरा हुन्छ । यदि रहिहाल्यो भने पनि शारीरिक रूपमा असक्षम बच्चा जन्मिन्छन् । यदि सबलांग नै जन्मिए पनि हिरण्याक्ष र हिरयण्कश्यपुजस्ता, रावणजस्ता दुष्ट प्रकृतिका बच्चा जन्मिन्छन् । यसको प्रत्यक्ष प्रमाण हो रजावती भएकी दिदी र कश्यपमुनिबीच साँझका बेलामा भएको गर्भधान क्रियाबाट जन्मिएका दुईवटा बच्चा हिरण्याक्ष र हिरण्यकश्यपु ।
हामीलाई ऋषिहरूले आफ्नो जीवनमा उतारेर सत्य विचार गरेपछि मात्र मन्त्रको रूपमा दिएको ज्ञान हो यो । तसर्थ, संयमी जीवन बिताउन ऋषिपञ्चमीले सन्देश दिएको छ । संयमी बनेर कामुकतालाई नियन्त्रण गरेर धर्मभावले उचित समयमा विचार गरेर योग्य सन्तान उत्पादन गर्नु, रजोवती भएका बेलामा सहवास नगर्नु, रजोवती भएका बेलामा शारीरिक र मानसिक रूपमा थकित हुने भएका हुन्छन् । यस्तो बेला नारीहरूलाई नेपालका पश्चिमी भेगमा पन्छिएपछि घरबाहिर छुट्टै छाप्रो हालेर राख्ने र सर्पले डसे वा बाघ-भालुले खाए पनि वास्तै नगर्नेजस्तो कुप्रथा गर्ने भन्ने होइन कि उनीहरूलाई घरकै अलि न्यानो ठाउँमा राखेर तातो, झोलिलो, पोसिलो खानेकुराहरू दिने, मानसिक र शारीरिक तनावबाट मुक्त गराउन पकाउने काम पुरुषले गर्नुपर्छ । विशेषगरीसँगै बस्ने र छोइने गर्नाले कामुकता उत्पन्न हुन्छ र सहवास हुन्छ भन्ने कारणले पुरुषलाई नछुने भनिएको हो । उनीहरूलाई घृणा गरेर यसो गरिएको होइन । यस्ता कुराहरूलाई निराकरण गर्दै वैज्ञानिक ढंगले चल्नुपर्छ ।
सप्तऋषिहरूको पूजाको आफ्नो ठाउँमा महत्व त छँदैछ, त्यसको सबभन्दा महत्वपूर्ण भनेको ऋषिहरूको पथमा चल्नु या अब म यो बाटो छोड्ने छैन म ऋषिहरूको जस्तो दीर्घजीवी, शान्त र आनन्दको बाटो लिनेछु भनी प्रण गर्नु हो ।
आफ्ना अन्तर्मनका भावनाहरू गीतको माध्यमबाट व्यक्त गर्ने चाड हो । आफ्ना श्रीमान्को आयूवृद्धिको कामना गरी सदा अटल सौभाग्यको कामना गर्ने चाड हो । साथै, एक महिनाअघिदेखि नै दर खाने, दरमा मादक पदार्थको सेवन गर्नेजस्ता विकृति भित्रिएको छ । यसलाई समाजका सचेत नागरिकले रोक्न पहल गर्नुपर्छ अन्यथा हाम्रा चाडवाडहरू भड्किला र विकृतितर्फ उन्मुख हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच