✍️ तोयराज नेपाल
भाद्रशुक्ल तृतीयालाई हरितालिका अर्थात् तीज भनिन्छ । तीजको व्रत पनि भनिन्छ । हरितालिका तीज नेपालको एक विशेष पर्व हो । यस दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बसी उल्लाषपूर्व नाचगान गरेर मनाउने चलन छ । कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसंगसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसंगसँग जोडिएर आएको छ । परापूर्वकालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा गरेको प्रसंग छ ।
यस बारे शास्त्रीय वचन यस्तो छ :
भाद्रशुक्लतृतीयायां हरितालिकाव्रतम् । ......गणयोगप्रशंसनात् ।। धर्मसिन्धु सुधा(१४६)
अर्थात् एक मुहूर्तमात्रै पनि तृतीया तिथि छ भने यो व्रत त्यसै दिन गर्नू । अर्को वचन पनि शास्त्रमा उल्ल्लेख गरिएको छ : कला काष्ठामुहूर्तापि द्वितीया यदि दृश्यते । ....सर्वपापैः प्रमुच्यते ।। भविष्योत्तरपुराण । अर्थात् भाद्रशुक्ल तृतीया द्वितीयाले युक्त छ भने त्यसदिन व्रत नगर्नू । चतुर्थीयुक्त तृतीयाको व्रत गर्नु उत्तम हुन्छ भनिएको छ । जुनबेला तिथिक्षय भएर चतुर्थीयुक्त तृतीया हुँदैन त्यसबेलामा मात्र द्वितीयायुक्त तृतीयामा मात्र हरितालिका व्रत गर्नू । यदि यस तृतीयामा हस्ता नक्षत्र र सोमबार पनि परेमा भने ज्याँदै उत्तम मानिन्छ । सोमबार हस्ता नक्षत्र नपरेर केवल तृतीयामात्र भए पनि यस तृतीयाको व्रत गर्दा मनुष्य सम्पूर्ण पापबाट मुक्त भई यस लोकमा सुख समृद्धि प्राप्त गरी परलोकमा कल्याणमय शिवपद प्राप्त गर्न सफल हुन्छ भन्ने शास्त्रीय प्रमाण छ ।
व्रत बसेर शिव-पार्वतीको पूजाआराधना गरेमा मनोकामना सिद्धि हुन्छ । परिवारमा सुख-समृद्धि, आरोग्य, पतिको आयु बढ्ने, पुत्रपौत्रादिको उन्नति-प्रगति हुने आदि हुन्छ । अविवाहिता नारीले व्रत बसे असल पति पाउँछिन् । विवाहिता नारीले व्रत गरे सौभाग्य, समृद्धि सत्पुत्र प्राप्त हुन्छ र अन्त्यमा शिवपद प्राप्त हुन्छ ।
पार्वतीलाई साथीहरूले हरण गरेर लुकाएको हुँदा यसको नाम हरितालिका रहेको हो । यस विषयमा एउटा उपाख्यान छ । प्राचीन कालमा हिमालय पुत्री पार्वतीले सानै हुँदादेखि नै शिवलाई पति पाऊँ भनेर चिन्तन गरेर हिँड्दा, खाँदा, खेल्दा, वस्ता, सुत्ता जेसुकै गर्दा पनि शिवजीलाई पति पाऊँ भनेर शिवजीकै चिन्तन, मनन्, पूजन आदि गर्दथिन् । तर यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन् । यो कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनिन् । त्यसपछि साथीहरूले तिमी चिन्ता नगर, हामी यसको व्यवस्था गर्छौं भनी उनलाई हरण गरी ठूलो जंगलको बाटो लगेर नदीका किनारमा रहेको गुफामा लुकाएर राखे । त्यही गुफामा बसी नदीबाट बालुवा ल्याई त्यसै बालुवाको पार्वतीसहितको शिवलिंग बनाएर अत्यन्त श्रद्धा र भक्तिका साथमा पानी समेत नखाई व्रत बसेर शिव र पार्वतीको पूजा गरिन् ।
रातभर जाग्रम बसी पानीसमेत नखाई कथाश्रवण नाच, गान, बजान गरी व्रत गरिन् । भोलिपल्ट प्रतःकाल भएपछि नदीमा लगी मूर्तिको बिसर्जन गर्ने बेलामा पार्वतीले गरेका भक्तिका प्रभावले गर्दा कैलासमा शिवको आसन हल्लियो । अनि शिवजी प्रसन्न भएर के वर माग्छ्यौं ? भन्दा पार्वतीले हजुर मेरो पति होइदिनुहोस्, यसैका लागि मैले यो व्रत गरेकी हुँ, भनी वर मागिन् । शिवजीले तथास्तु, भनी वरदान दिनुभयो र शिवजी कैलासतिर फिर्नुभयो । यो व्रत गरेको दिन भाद्रशुक्ल तृतीयाको दिन परेको हुँदा भाद्रशुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत गर्ने परम्परा चलेको हो । यता पार्वती हराएकी हुँदा उनलाई खोज्दा खोज्दै विवाहको दिन आयो । पार्वती छैनन् । अब के गर्ने ? भनी हिमालयलाई ठूलो चिन्ता भयो । वन, जंगल, नदीकिनार र गुफाहरू चारैतिर खोज्दै हिँडे । अन्त्यमा त्यसै गुफामा पुगे जाहाँ पार्वतीले शिवको व्रत पूजा गरेकी थिइन् । अनि पिताजीले लौ घर हिँडभन्दा शिवजीसँग विवाह गरिदिने भए घर जाने, नत्र नजाने भनिन् ।
अनि हिमालयले हुन्छ भनेपछि त्यो पूजा गरेको मूर्ति र निर्माल्य नदीमा लगी बिसर्जन गरेर व्रतको पारणा गरी साथीहरूसमेत भएर प्रसाद ग्रहण गरी मनैमनले शिवजीलाई प्रणाम गर्दै साथीहरू र पिताजीका साथमा घर आइन् भन्ने उपाखान शास्त्रमा रहेको छ । पछि उपयुक्त समयमा शिवजीसँग पार्वतीको विवाह भयो । यस व्रतका प्रभावले आजसम्म पनि पार्वतीको सौभाग्य अटल रहेको छ । विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत-आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत-आराधना गर्छन् ।
त्यसैले यसदिन पानी पनि नखाई व्रत बसेर शिव-पार्वतीको पूजा आराधना गरेमा मनोकामना सिद्धि हुन्छ । परिवारमा सुख-समृद्धि, आरोग्य, पतिको आयु बढ्ने, पुत्रपौत्रादिको उन्नति-प्रगति हुने आदि हुन्छ । अविवाहिता नारीले व्रत बसे असल पति पाउँछिन् । विवाहिता नारीले व्रत गरे सौभाग्य, समृद्धि सत्पुत्र प्राप्त हुन्छ र अन्त्यमा शिवपद प्राप्त हुन्छ । हाम्रा समाजमा यो व्रत नारीजातिले मात्र लिनुर्दछ भन्ने धारणा रहेको छ तर शिव र पार्वतीको व्रत भएको हुँदा नारीलेमात्र नभई नारी-पुरुषसमेत भई व्रत गरेमा अझ बढी पुण्य दायक हुन्छ । यसबाट सुख, समृद्धि, सौभाग्य प्राप्त हुनुका साथै अन्त्यमा कल्याणमय शिवपदसमेत प्राप्त हुन्छ । ॐ नमः शिवाय ।