म्याग्दी । १० पाथे काठको ठेंकीमा मदानीमा बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र... घ्वार्र.. गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ ।
सुविधा र बसाइँ सराइका कारण गाउँमा पशुपालन गर्ने मानिसहरु घट्दै गएपछि काठका ठेंकीमा मदानीले दही मथेर मही पार्ने र घट्घटी पिउने चलन पनि हराउँदै गएको हो ।
करिव एक दशक अघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा पशुपालन बाख्लै थियो । कुनै समय गोठमा रहेका पशुधन र ठेंकी हेरेर त्यस घरको हैसियत आँकलन गरिन्थ्यो । तर,समय फेरियो । समयसँगसँगै मानिसहरु गाउँ छोडेर सहर र सहर छोडेर विदेश पस्ने चलन बढ्यो । अहिले गाउँमा पशुपालन पनि घट्यो र रैथाने सीपमा आधारित ठेकाठेकी बनाउन चुदाँरा व्यसाय पनि हराउँदै गयो ।
रैथाने सीप प्रयोग गरेर जंगलका काठबाट बनाइने ठेकाठेकी विक्न छोडेपछि अहिले आफूहरुलाई समस्या भएको जिल्लाका चुँदारा व्यवसायीहरुले बताएका छन् । गाउँघरमा कतै कतै मही पारे पनि प्लाष्टिकका ठेंकीको प्रयोग हुन थाल्यो । रैथाने काठका सामग्रीलाई आयातित प्लाष्टिकका सामग्रीले विस्थापित गरेको चुँदारा व्यवसायीहरुको भनाइ रहेको छ । खासगरी काठबाट ठेका बनाउन विश्वकर्मा समुदायका मानिस नै खप्पिस छन् । ठेंकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेशा भन्ने गरिन्छ ।
कलात्मक रुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेशामा लागेका व्यावसायीहरु पनि संकटमा पर्न थालेको ५० वर्षदेखि काठका ठेकाठेकी बनाउने काम गर्दै आउनुभएको बागलुङ वुर्तिबाङका नोठबहादुर विकले बताउनुभयो । “व्यवसाय नै परिवर्तन गर्ने अवस्थामा छौँ । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग नै घट्दै गएपछि जीविकोपार्जन गर्न समेत धौधौ हुन लागेको छ” विकले भन्नुभयो ।
वर्षौंदेखि काठ कुँद्ने पेशा गर्दै आएका बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले काठ कुद्ने पेशाबाट पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । १०÷१२ वर्षको उमेरदेखि बाबु बाजेले अँगाल्दै आएको पेशा आफूले पनि सम्हालेको बताउने विश्वकर्माले यतिन्जेलसम्म यही पेशाबाट गुजारा चलेको भए पनि अब भने काठका सामान बिक्री हुनै छाडेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
आफूले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायतका ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको उहाँको भनाइ छ । केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक २५/३० हजार रुपैयाँसम्म आम्दानी गर्ने विश्वकर्माले पछिल्लो समय मेला पर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका बताउनुभयो । अहिले मुस्किलले मासिक ५÷७ हजार रुपैयाँ मात्र कमाइ हुने गरेको बताउँदै उहाँले भन्नुभयो “प्लाष्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन ।”
बजारमा काठका सामानको बिक्री घट्दै जानु र गाउँघरमा यस्ता सामान बनाउने काठको अभाव हुनुले पनि परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ । मिहिनेत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेशा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारहरुले बताउँछन् ।
विशेष गरेर काठका ठेंका, ठेंकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटो लगायतका समानहरु बनाउने गरेका विश्वकर्माले यी सामानहरु बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गर्दछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच