काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता भएको छ । कम्पनीका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा दुर्ई संस्थाबीच सम्झौता भएको हो ।
समझौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार कम्पनीमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीलाई कम्पनीकोे सिफारिसमा अधिकतम १५ लाखसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ ।
बैंकले आधारदरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधारदर ६.६६ प्रतिशत रहेको छ । कम्पनीका कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । सो अवसरमा कम्पनीका विभागीय प्रमुखहरू डिल्लीराज लम्साल, घनश्याम अर्याल, अधिकृत रामसफल साह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय थापाथलीका शाखा प्रबन्धक विक्रममान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।