काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पूरा गर्न निर्देशन दिनुभएको छ । २०७३ असारमा दुर्ई वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको बहुतले भवनको काम हालसम्म पनि पूरा नभएपछि कृषिमन्त्री अधिकारी शुक्रबार निरीक्षणका लागि चोभार पुग्नुभएको थियो ।
११औँ पटक थपिएको म्याद सकिन केही दिनमात्र बाँकी छ तर २३ रोपनी क्षेत्रफलभित्र निर्माणाधीन बहुतले भवनको अझै १३ प्रतिशत काम बाँकी छ । त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषिमन्त्री अधिकारीले तोकिएको समयसीमाभित्र कार्यसम्पादन गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो । सम्झौताअनुसार काम नसकिए कानुनअनुसार कारबाही हुने भन्दै उहाँले तत्काल भवनको बाँकी काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले त्यसका लागि मन्त्रालय आवश्यक सहजीकरणका लागि तयार रहेको बताउनुभयो । चोभारमा रहेको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने भएकाले भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई उहाँले सचेत गराउनुभएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ असोजमा करिब ३५ करोड लागतमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौताअनुसार काम नभएपछि २०८० चैत १३ गते २०८१ भदौ मसान्तभित्र काम सम्पन्न गर्ने गरी ११औँ पटक म्याद थप भएको थियो । सम्झौताअनुसार काम सम्पन्न गर्न झण्डै एक सातामात्र समय बाँकी छ । तर, पूर्व सहमतिअनुसार अझै १३ प्रतिशत काम पूरा हुन सकेको छैन भने समयमा काम पूरा नहुँदा लागतसमेत बढेर ४० करोड बढी पुगेको छ ।
लागत बढ्दै जाने तर सम्झौताअनुसार काम नभएपछि कृषिमन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनी र कन्सल्टेन्टसहितको उपस्थितिमा पुष्प तथा फलफूल थोक बजार, चोभार भवनको वास्तविक अवस्था बुझ्न पुग्नुभएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच