‘गरिबी निवारणमा लघुवित्तको विकल्प छैन’

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । गरिबी निवारण तथा ग्रामीण अर्थतन्त्र प्रवद्र्धनका लागि लघुवित्त अभियानको विकल्प नभएको लघुवित्त अभियन्ताहरूले दाबी गरेका छन् । पछिल्लो समय लघुवित्त खारेजीको नारासमेत लाग्न थालेका सन्दर्भमा उनीहरूले ग्रामीण अर्थतन्त्र विकास एवं गरिबी निवारणका लागि लघुवित्तको विकल्प नै नभएको जिकिर गरेका हुन् ।

लघुवित्तका पिता भनेर परिचित डा. हरिहर देव पन्तको नवौँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमका वक्ताहरूले स्थानीयस्तरमा उत्पादन एवं उद्यमशीलता वृद्धि, रोजगारी सिर्जना तथा जनताको आर्थिक उन्नतिका लागि लघुवित्त अपरिहार्य भएको बताए ।

‘लघुवित्तको मर्मअनुसार काम भएन, एउटै व्यक्तिलाई धेरै संस्थाले कर्जा प्रवाह गरे, संस्थाहरूले पनि छिटो नाफा खोजे, अस्वस्थ प्रतिस्पर्धाका साथै संस्था र ऋणी दुवैको नियतले समस्या ल्यायो तर अहिले समाधान हुँदै गइरहेको छ ।’

संघीय सांसद भगवती चौधरीले लघुवित्त क्षेत्रमा समस्या देखिए पनि समाधान सबै पक्ष मिलेर गर्न सकिने तर आन्दोलनका नाममा लघुवित्तलाई मात्रै दोषी करार गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले लघुवित्तमा समस्या देखिएको छ, यसको कारक संस्थादेखि ग्राहक र नियनमकारी निकायलगायत सबै हुन्, सबै जिम्मेवार भएका कारण मिलेर समस्या समाधान गर्नुपर्छ, ग्रामीण अर्थतन्त्र विकासमा लघुवित्तको विकल्प छैन, यसले महिलाको आर्थिक सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान गरिरहेको छ ।’ उहाँले लघुवित्तको ऋण मिनाह गरिदिने भन्दै ठगीधन्दासमेत हुन थालेको बताउनुभयो । सांसद चौधरीले भन्नुभयो, ‘आन्दोलनमार्फत् ऋण मिनाह गराइदिने भन्दै लघुवित्त ऋणीबाट एक हजारदेखि पाँच हजारसम्म उठाएकोसमेत सुनिएको छ, त्यसैले नियमनकारी निकाय, लघुवित्त संस्था र ऋणी मिलेर समस्या समाधान गर्नुपर्छ ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं माइक्रो फाइनान्स सुपरीवेक्षण विभाग प्रमुख विमलराज खनालले लघुवित्तको मर्मविपरीतका कार्य हुँदा समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लघुवित्तको मर्मअनुसार काम भएन, एउटै व्यक्तिलाई धेरै संस्थाले कर्जा प्रवाह गरे, संस्थाहरूले पनि छिटो नाफा आर्जन गर्न खोजे, संस्थाहरू धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धासमेत भयो, संस्था र ऋणी दुवैको नियतले समस्या ल्यायो, अहिले समाधान हुँदै गइरहेको छ ।’ पछिल्लो समय लघुवित्तका कर्मचारी एवं कार्यालयमा आक्रमणलगायत अवाञ्छित क्रियाकलाप हुन थालेको भन्दै त्यसलाई रोक्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुुर यादवले नेपालको ग्रामीण जनता र खासगरी महिलालाई आर्थिक क्षेत्रमा जोड्ने काम लघुवित्तले गरेको बताउनुभयो । लघुवित्तले ६० लाख जनतामा वित्तीय पहुँच पुर्‍याएको भन्दै गरिबी निवारणमा थप योगदानका लागि लघुवित्त सबल हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बिमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसीले गरिबी अन्त्यका लागि लघुवित्त आवश्यक रहेको भन्दै समस्या समाधानका लागि सञ्चालक तथा नियमनकारी निकायले समीक्षा र सुधार गर्नुपर्ने बताउनुभयो ।

डा. हरिहर देव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले २०४९ मा ५० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि भएको र लघुवित्त अभियानले न्यूनीकरणमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा अझै करिब २० प्रतिशत जनता गरिबीको रेखामुनि छन्, यो गरिबी निवारणका लागि लघुवित्त अपरिहार्य छ ।’

नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष सुजन ओलीले लघुवित्तले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको भए पनि त्यसलाई तथ्यांकीय उपलब्धिका रूपमा आँकलन गर्न चुक्दा लघुवित्तका विषयमा अनेक कुरा बाहिर आएको भन्दै समस्या आउनुमा संस्था, ऋणी र नियमनकारी निकाय जिम्मेवार रहेको बताउनुभयो ।

यस वर्षको डा. हरिहर देव पन्त आर्थिक पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख कृष्ण रिजाललाई प्रदान गरिएको छ । स्वर्गीय डा. हरिहर देव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले रिजाललाई हस्तान्तरण गर्नुभएको थियो । फाउण्डेसनले हरेक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । साथै लघु उद्यमका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने लघु उद्यमी मञ्जु श्रेष्ठ मानन्धरलाई लघु उद्यमशील पुरस्कार, शैक्षिक सत्र सन् २०१९-२०२१ मा स्नातकोत्तर तहमा उत्कृष्ट हुने मौद्रिक अर्थशास्त्रतर्फका कपिल पोखरेल र ग्रामीण विकासतर्फकी प्रियंका केसीलाई शैक्षिक उत्कृष्टता पुरस्कार प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *