✍️ कलानिधि दाहाल
जेलभित्र आत्महत्याको अठोट गरिसकेपछि म पूर्वस्मृतिको आँगनमा निस्किएँ । आगमनात्मक प्राक्कल्पित रहस्यको यथार्थमा उभिएँ । अब मलाई कोसँग के लिनु छ र अन्ध समाजको विकृत धारणा अवलम्बन गरौँ ? कसलाई के दिनु छ र म सच्चाइको अभिव्यक्ति दिनबाट बर्को ओढेर लुकौँ ? जन्म कसैको पनि वरदान र अभिशाप होइन । न त जन्माउने कुनै भाले देवता र पोथी देवी नै हुनसक्छे । यसै भ्रमको दुनियाँमा म रहेको समाजमात्र नभएर विश्वकै अधिकांश समाज घुमेको छ पुख्र्याैली सम्पतिको पुस्तान्तरणजस्तै ठानेर ।
यी कोही केही पनि होइनन् र हुन् भने सबै सबै हुन् पनि । अन्धभक्तको टीको निधारमा टाँसेर विगुतको विगुल बजाउँदै नाचेको त्यही जङ्गली समाजको सच्चा अर्थकै जङ्गलभित्र बाबुआमाको बैँसालु उद्योगमा समय संयोग जुटेको न हो यता आउने म, ऊ, अर्को, तिमी, तपाईं, हामी सबै सबैको । यसमा न कुनै काल्पनिक ईश्वरको हात छ, न कुनै आमाबाबु नै देवीदेवताका प्रार्थनामा छन् । सारा जीव चाहे ती मानव हुन् चाहे मानवेत्तर यसै उन्मादका उपज मात्र न हुन् ।
त्यस गाउँका उचाइमा देखिएका चार पण्डितहरू- रत्नप्रसाद जसको पुत्र हो पुरुषोत्तम । फणिन्द्रमणि जसको पुत्र हो मुकुन्द । चन्द्रलाल जसको पुत्र हो विनोद वत्स । नन्दलाल जसको पुत्रका रूपमा आठौँ र सन्तान सङ्ख्याका रूपमा एघारौँ स्थानमा पर्दछ यो कले ।
विकट् पूर्वी भेग ओखलढुङ्गाको गोठाले गाउँ बिगुटार जहाँ गाईभैँसीका गोठ राम्पुरतिरबाट लगेर केही समय वा महिनामात्र बिताउने ठाउँ हो म जन्मेको जङ्गलीस्थल बिगुटार । चारैतिर डाँडामाथि टलक्क टाउकोजस्तो भएर ठिङ्ग तर देख्दै डरलाग्दो अवस्थामा उभिएको तारेभीर उत्तरी सीमा बनेर अग्लिएको छ । आधाकाटे भञ्ज्याङ् जो राम्पुरको शिरको मफ्लर बनेर चौतारी छातीमा सजिई दक्षिणी भेगको सीमा बन्दै तेर्सिएको छ । घामको पहिलो झुल्को झुलुक्क झुल्काउने लालीकिरणका पटुकी बाँधेर पूर्वी सीमाको टहरोझैँ उभिएको छ चित्रे ।
पर लिस्पु र राम्पुरको एक छेउ मान्छेका तिघ्राबीचबाट बहने मूत्रप्रवाहका छाल पोक्तिङ्मोलुङ् मिसिएको विरोधाभाषी समयको झल्को दिन यस गाउँको पश्चिमी सीमा अखण्ड बनेर सुतेको छ । न मोलुङ् धमिलिन्छ कहिल्यै, न त पोक्तिङ् सङ्लिन्छ कुनै समय । यो विचित्र समावेशिक प्रकृतिको पुख्र्यौली बिहान नै मेरो अनायास आगमनको अप्ठेरो विन्दु हो । अँध्यारो यस अर्थमा एघारौँ सन्तान र आठौँ पुत्रको बाँदर हुलभित्रको आगमन यसै पनि उज्यालो हुन्न नै ।
त्यस गाउँका उचाइमा देखिएका चार पण्डितहरू-रत्नप्रसाद जसको पुत्र हो पुरुषोत्तम । फणिन्द्रमणि जसको पुत्र हो मुकुन्द । चन्द्रलाल जसको पुत्र हो विनोद वत्स । नन्दलाल जसको पुत्रका रूपमा आठौँ र सन्तान सङ्ख्याका रूपमा एघारौँ स्थानमा पर्दछ यो कले । आखिर जसले जसरी प्रशंसा वा निन्दा गरे पनि वा सामान्य सम्बोधन गरे पनि यी चारैजना जजमाने पण्डितहरू हुन् । यिनको समग्र परिचय यत्ति नै हो । म त यसै पनि प्रशंसा गर्दिन । पुरुषोत्तम अलि बढी पितृभक्त छ । मुकुन्द नामै लिन चाहन्न ठिकै छ । विनोदमा न विरोध न समर्थन छ सामान्य । यी चारमध्ये चन्द्रलाल र नन्दलाल निकै खुला मनोलोकका चाहिँ पक्कै हुन् ।
रत्नप्रसाद अन्तर्मुखी कम बोल्ने तर सहशीलताका चाहिँ उदाहरणीय सिम्बोल । फणिन्द्र यसै पनि परम्परागत सामन्त संस्कारबाट आएका हुनाले उनका विरुद्ध गाउँले कोही चुइक्कसम्म गर्न नसक्ने । साम, दाम, दण्ड, भेदका सुइ जम्मैलाई उपयुक्त ठाउँमा घुमाएर सधैँ आफ्ना अनुकूलमा प्रयोग गर्नसक्ने बाठो व्यक्तित्वको नाम हो-फणिन्द्रमणि दाहाल ।
लग्भग अठार जनाको जहान मेरो घरपरिवारमा । आफ्नै आयस्रोतले चाहिँ वर्ष दिनमा मात्र तीन महिना खान पुग्ने, बाँकी नौ महिना अर्काको अर्मपर्म गरेर निमेकबाट नै चलाउनुपर्ने आर्थिक विपन्नताको परिवारभित्र झैझगडा, खिचातानी, बाजोजुजो, रुवाबासी रातोदिन कहिल्यै नटुट्ने । दाजुभाइ दाजुभाइका बीच, सासूबुहारी सासूबुहारीका बीच, आमाछोरा आमाछोराका बीच, देउरानीजेठानी देउरानीजेठानीका बीच मनमोटाव र घातअन्तर्घात भइरहने भएकाले संसारका खराबी खोज्न अन्त जानु नपर्नेरहेछ अहिले बुझ्दै छु । फुर्ति जजल्ले परिवारलाई उठाउने वा परिवारको नाम बेचेर आफू उठ्ने प्रयास गरे पनि आर्थिक विपन्नावस्थाका विश्वकै घरपरिवारको कहानी यही हो, यसभन्दा अलग हुन्न ।
दाजुभाइ दाजुभाइका बीच, सासूबुहारी सासूबुहारीका बीच, आमाछोरा आमाछोराका बीच, देउरानीजेठानी देउरानीजेठानीका बीच मनमोटाव र घातअन्तर्घात भइरहने भएकाले संसारका खराबी खोज्न अन्त जानु नपर्नेरहेछ । फुर्ति जजल्ले परिवारलाई उठाउने वा परिवारको नाम बेचेर आफू उठ्ने प्रयास गरे पनि आर्थिक विपन्नावस्थाका विश्वकै घरपरिवारको कहानी यही हो ।
यी कुनै पनि परिवारका आन्तरिक सङ्कीर्ण भुँमरीभित्र नन्दलाल अर्थात मेरा बाबु पर्दैनथे । अहिले सम्झन्छु म–इष्र्यारहित, काम क्रोध लोभ मोहरहित जन्मजात प्राकृतिक उदार सौन्दर्यको प्रतीक रहेछ पं. नन्दलालको मनोलोक । न नामको भोक, न सम्पतिको, न प्रशंसाको चाह, न निन्दाप्रति बदलाको विचार । यी मानवीय सर्वोच्च, सर्वोत्कृष्ट शिखरको विशाल छाती भएर पनि घिनलाग्दो र सङ्कीर्ण एउटा संस्कार जीवित थियो- कर्मकाण्डे सङ्कीर्णता । आफूले जजमानी गर्दै आएको जजमानले आफूलाई छाडेर अर्को कसैलाई लगायो भने गर्ने÷गराउने दुवैमा निशाना साध्ने । त्यसमा पनि गराउनेसँग भन्दा गर्ने पण्डित पुरेतसँग आगो बन्ने ।
यस खालको पवित्र अध्ययनबाट बनेको नभई जन्मजात प्राप्त विशाल हृदयमा त यो सङ्कीर्ण किटाणु हुँदोरहेछ भने अन्य पण्डित पुरेतलाई म कसरी असल मान्न सक्छु ? हो, चन्द्रलालमा पनि बहिर्मुखी उदारता थियो तर फणिन्द्र भनेपछि गरुड देखेको सापजस्तै हुन पुग्थे चन्द्रलाल पनि । प्रतिकूललाई बलजफ्ती अनुकूल बनाउन कुनै न कुनै झुटको सहारा लिनै पर्छ यसमा माहिर थिए फणिन्द्र । फणिन्द्रको विरोधमा चन्द्रलाल जान नसक्ने भएकाले उनी स्फटिक रहन सकेनन् । यी प्रसङ्गका अन्तर्मर्म अनपढ भएर पनि म बुझ्ने भएकाले जीवनभर पुरेत÷पण्डित नबन्ने प्रतिज्ञा मैले त्यसै बेला गर्न पुगेँ ।
यो प्रसङ्गलाई आधुनिक साहित्यकारहरूसँग जोड्दा अझ रमाइलो हुने रहेछ । केहीमात्र नभएर अघिल्लापछिल्ला दुवै पुस्ताका प्रायः साहित्यकारहरू यिनै लुब्ध पण्डित/पुरेतजस्तै छन् । उसले उसलाई बोलायो मलाई बोलाएन । उसले उसलाई प्रमुख÷विशिष्टमा राख्यो मलाई राखेन । छिः नाम, ठाम र सानका भोका टपरे साहित्यकारहरू । यस खालका मनोवृत्ति ठ्याक्कै मेरा बाबुको त्यही सङ्कीर्ण मात्र एक मनोवृत्तिको फैलावट ! मञ्चमा सम्मानका साथ राखेपछि पनि यिनीहरूका सान आदेश छर्नतिर लाग्छन् ।
अझ तरुना साहित्यकारमा विकसित भएको रोग त आफूलाई बोलाएर सम्मानित गरिदिएमा म संस्थालाई यति दिन्छु उति दिन्छु भन्छन् र गाइने संस्थाहरू पनि तिनैलाई लिएर तिनकै पैसाले घर चलाउनेसम्म छन् । मेरा बाबुको एकमात्र सङ्कीर्णतामा बाँचेका यी छुद्र अझ निकम्मा नै भन्छु म त साहित्यकार र पुरेत्याइँका सङ्कीर्णतामा कतै केही अन्तर छ र ? अब मैले एकमात्र दोष हुने बाबुको प्रशंसा गरेँ भने यी छुद्रको पनि प्रशंसा गर्नु पर्छ, गरौं र ? वंशका आधारमा, परिवारका आधारमा, सन्तानका आधारमा, जन्माउनेका आधारमा खराबलाई पनि असल ठान्नु र वर्तमान अवस्थामा कर्मचारी, नेताका कुर्सीमा बसेर म चोखो छु भन्नु एउटै भएको कुरा आत्महत्याको अठोटमा जेलभित्रै स्मृतिपटलमा छल्छलायो ।