हिटलर र यहुदीको आवरण पृष्ठमै य एवं वेत्ति हन्तारं ..... अर्थात् जसले मारेँ भन्छ र जो मरेँ भन्छ दुवै अज्ञानमा छन् । न आत्मालाई कसैले मार्न सक्छ, न कुनै आत्मा मर्छ मर्ने त शरीर हो । एउटा शरीर मर्छ, आत्मा अर्को शरीरमा प्रवेश गर्छ । त्यसैले आत्मा अजर र अमर छ भन्ने भगवद्गीताको वचनलाई अगाडि राखेर बीपीले उपन्यासको थालनी गरेका छन् । मानिसको शरीरलाई फाटेको टालोसँग दाँजेर शरीरसँगको जीवको सम्बन्धका विषयमा राखिएको दृष्टिकोणका प्रतिको असन्तुष्टिमा पनि यो उद्धरण आएको छ ।
तर, बीपीले आत्माको विरोधको निम्तिभन्दा पनि शरीरको सम्मानको निम्ति आफ्नो तार्किक विमति जनाएका छन् । मत्र्यजीवनमा पहिले मृत्युको नियति लिएर आएको मनुष्य र त्यसको जीवनको सम्मान नगरेर जन्मनु अपराध हो झैँ गरेर वा मनुष्य जीवनलाई तुच्छ ठानेर परमार्थ मोक्ष वा अर्को जन्मको कुरा गर्नु मानवजन्मप्रतिको अपमान हो भन्ने अर्थमा बीपी मानवतावादी बन्दै आत्मचिन्तनमा केन्द्रित भएका छन् ।
बीपी मानव धर्मका पक्षपाती हुन् । मानिसको थान्कोमा बस्नु, मानिसलाई अराए खटाएको काम गर्नु नै मानव धर्म हो । सृष्टिमा प्रत्येक प्राणीका निम्ति स्वभाविक कर्म र धर्मको व्यवस्था भएकै छ र मानिस बाहेकका प्राणीले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेकै छन् । मानिस नै यस्तो प्राणी भइदियो जसले सृष्टिको खटनलाई नमान्न र आफ्नो ढंगका कर्म गर्न लागेको छ । त्यसैले नराम्रो भयो भनी सुम्निमाले आफ्नो जीवनभरि सोमदत्तलाई सम्झाउन प्रयत्न गरिरही, मोदिआइनकी नारीले श्रीकृष्णले अर्जुनलाई उपदेश दिएर मानव धर्म अनुकूल कर्म हुन दिएनन् भनेर गुनासो गरी, हिटलर र यहुदीमा कर्म गर्ने नाउँमा हिटलरले धर्मविपरीत गएर नरसंहारजस्तो कुकर्म गर्यो भनेर दुःख व्यक्त गरियो ।
यस्तै धेरै सन्दर्भमा बीपीका धर्मसम्बन्धी धारणा प्रकट भएका छन् । यी धारणाहरू धर्मको अनुशीलन र पालन गर्ने हकसम्म राम्रा छन् जहाँसम्म मठमन्दिरमा पूजा अर्चना गरी देवता प्रसन्न पार्ने खालको कर्मकाण्डी अनुष्ठान, व्रत, पूजा, उपासना आदि कर्मबाट धर्म धारण गर्ने भन्ने परम्परित मान्यता छ त्यो बीपीको धर्मको परिभाषाभित्र पर्दैन । मूल कुरा के हो भने धर्मका नाममा भए गरेका आडम्बरहरू नमान्दा वा त्यस्तो धर्मले मानवको हितमा के कति काम गर्यो भनी प्रश्न गर्दा वा धर्मको वास्तविक मर्यादामा बस्न खोज्दा मानिसलाई अधार्मिक ठान्ने र परम्पराको आवरणमा बाँधिनुलाई धर्म ठान्ने मान्यताले नै धर्मको मर्म भाँचेको छ भन्ने बुझ्न आवश्यक भइसकेको छ ।
शरीरलाई बीपीले महत्वपूर्ण तत्व मानेर अभिरुचिपूर्वक आफ्ना धारणा राखेका छन् । शरीरसँग जोडिएको जीवात्मा जो पाञ्चभौतिक तत्वको कर्ता हो त्यसलाई बीपीले ज्यादै सम्मान गरेका छन् । शरीर सुखको चार्वाकीय मान्यतामात्र बीपीको शरीर मोह होइन ।
धर्मलाई अध्यात्मसँग जोडेर एक वा अधिक देवताहरूमा आस्था, पूजा र ईश्वर सान्निध्यका लागि एकत्रीकरण, समाजस्वीकृत उद्देश्यहरूको प्राप्तिको प्रयत्न धर्म हो भन्ने मान्यताले हेर्दा ईश्वर भक्ति, पूजाअर्चना जस्ता कर्ममा नलागेका बीपी समाज स्विकृत उद्देश्यको प्राप्तिमै निम्ति जीवनमा लडाइँ गर्ने धर्मलाई अंगीकार गरेका व्यक्ति भएकाले बीपीको धर्मसम्बन्धी चिन्तन जीवन र जगत्को उत्थानको निम्ति प्रयत्नशील रहेको पाइन्छ । मोक्षलाई उपन्यासकार बीपीले आध्यात्मिक आँखाले हेरेका छैनन् । मोक्ष भनेको निवृत्ति मार्गको यात्रा हो । जीवनलाई प्रवृत्तिबाट निवृत्तितर्फ लैजानु पर्छ ।
प्रवृत्ति सत्कर्ममा होस्, सत्कर्मको प्रवृत्तिबाट सत् उपलब्धि प्राप्त हुनु पर्छ । जीवनलाई क्षयमुखी चिन्तनतर्पm ढालेर मोक्ष नै जीवनको लक्ष्य हुनुपर्छ भन्ने आध्यात्मिक भनाइले जीवनलाई उपेक्षा गर्दछ । संयमपूर्वकको कर्मसम्मलाई मुक्ति मान्दा हुन्थ्यो जीवनको लक्ष्य नै जीवन मुक्ति हो भन्ने भनाइले मानिसलाई महत्व दिएन भन्ने बीपीको धारणा छ । दुःखको निवृत्ति र सुखको प्राप्ति प्राणीको लक्ष्य हुनुपर्छ तर त्यसको निम्ति जीवनलाई उत्सर्ग गरेर पाइने भनिएको अतिशयको सुखका कल्पनाभन्दा जीवनलाई भव्य तुल्याउँदै लैजाने सत्कर्म र तीबाट प्राप्त हुने सन्तुष्टिको सुखलाई मुक्तिको रूप मान्नु व्यावहारिक र वैज्ञानिक हुन्छ भन्ने मान्ने बीपीले सोमदत्तले आत्मसाक्षात्कारबाट जीवनमुक्ति मिल्छ भन्ने हठ गर्दा आइपरेको व्यावहारिक समस्या देखाएर त्यागपूर्वक भोग गर्नु नै मुक्ति हो भन्ने मान्यता अघि सारेका छन् ।
शरीरलाई बीपीले महत्वपूर्ण तत्व मानेर अभिरुचिपूर्वक आफ्ना धारणा राखेका छन् । शरीरसँग जोडिएको जीवात्मा जो पाञ्चभौतिक तत्वको कर्ता हो त्यसलाई बीपीले ज्यादै सम्मान गरेका छन् । शरीर सुखको चार्वाकीय मान्यतामात्र बीपीको शरीर मोह होइन । मानव चोला जो विभिन्न कर्म गर्ने उद्देश्य र प्रेरणाले निर्मित छ त्यसको सम्मान र त्यसका नैसर्गिक अधिकारहरू प्रति सचेत हुनु पहिलो कर्तव्य हो । यस सन्दर्भमा कर्तव्य धर्म, मानव धर्मका विषयमा शरीरलाई विषय बनाएर गरिएको बिजुवा बा र सोमदत्तको संवाद महत्वपूर्ण छ । बिजुवाले सोध्यो ‘तिमी छोरो किन चाहन्छौ’ ? सोमदत्तले भन्यो ‘धर्म निर्वाहका लागि सन्तान भएन भने पितृहरूको उद्धार हुँदैन’ ।
‘तिमीलाई शरीरले भोग गर्दैछ भन्ने कहिले पनि लागेन स्त्री समागममा’ ? ‘किञ्चित पनि लागेन’ । ‘त्यसो भए के धर्मकै निम्ति छोरो होस् भन्ने चाहन्छौ तिमी ? शरीर सुखका लागि हुँदै होइन त’ ? ‘होइन भोग र कर्तव्यमा हामीले भोगकामनालाई तपस्याद्वारा मृत बनाएका छौं’ । ‘मानव तिम्रो मनुवा रिसाएको छ किनभने तिमीले त्यसलाई तपस्याद्वारा मार्न खोज्यौ । मनुवा दहमा तिमीले तुहाउनु पर्छ’ (पृ.४८-४९) ।
यद्यपि मानव जीवनलाई हेर्ने भौतिक र आध्यात्मिक दृष्टिहरूमध्ये बीपीको दृष्टि भौतिक जस्तो छ तर भौतिकताले मानेजस्तो यावत् जीवेत् सुखं जीवेत्.....को धारणा राखेर जसरी पनि मानवलाई सुखी राख भन्ने नभएर मानव जन्मका खास मूल्य, मान्यता र आदर्शहरू छन् तिनको पालना र कर्तव्यको रूपमा निर्धारित कर्महरू गरिरहने मानव दायित्वबाट मानिस टाढा नभागोस्, अन्यथा कर्ममा नलागोस् र सत्कर्मबाट प्रेरित रहोस् भन्ने आध्यात्मिक चिन्तन नै बीपीको पनि धारणा हो तर यसो गर्दा शरीरलाई नै उपेक्षा गरेर शरीरबाट सम्पन्न गरिनु पर्ने कर्तव्य कर्महरू गर्न सम्भव नभएकाले सशरीर जीवनका कर्महरूतर्पm नै मानिस प्रवृत्त हुनुपर्दछ भन्दै अध्यात्मले फाटेको टालो सरह तुच्छ ठानेर त्याज्य छ भनी गरिएको व्याख्याका प्रति गम्भीर असहमति प्रकट गर्ने काम बीपीबाट भएको छ ।
के शरीर बिना अध्यात्मले कुनै चिन्तन गर्न सक्छ ? अर्थात् शरीरमा बसेको आत्माबाट नै अध्यात्मले पनि विभिन्न चिन्तन गर्न सक्छ ? अर्थात् शरीरमा बसेको आत्माबाटै अध्यात्मले पनि विभिन्न चिन्तन र दर्शनको यात्रा गर्न सम्भव भएको हो । जीवनको आधार वा आत्माको वासस्थानलाई नै उपेक्षा गरेर अर्थात् आफैँ बस्ने घर भत्काएर सुरक्षित बस्न खोज्नु भएन भन्ने मान्यता नै बीपीको मौलिक धारणा हो ।
मनका प्रति बीपीको झन् गहिरो आस्था छ । आफ्ना मनोवैज्ञानिक कृतिहरू मार्फत् मानव प्रवृत्तिको चिरफारमा लागेका बीपीले मनको भावना र भाषालाई बुझेरमात्र व्यवहार गर्न आवश्यक छ भन्ने मान्दछन् । मन तीव्रगामी चञ्चल इन्द्रिय हो, शरीरका अन्य इन्द्रियसँग सम्बन्ध सूत्रको काम गर्ने मनलाई आत्मासँग सम्वाद गराउने महत्वपूर्ण तत्व भनी अध्यात्मले व्याख्या गरेको छ । मनमाथिको आध्यात्मिक व्याख्या जे जस्तो होस् बीपीले मनको गति र प्रवृत्तिलाई नियन्त्रण गर्न कठिन हुने कुरा गरेका छन् तापनि मनको संयम र सन्तुलन, राम्रो मार्गमा मनको प्रवृत्ति र संयमपूर्वकको यात्रा नै असल जीवनको परिचायक हो भन्ने बीपीको धारणा पनि आध्यात्मिक नै देखापर्छ र अध्यात्मले भनेझैँ मन मानिसको शत्रु होइन यसलाई असल मित्र बनाउन सक्नुपर्छ त्यसको निम्ति संयम आवश्यक छ भन्ने बीपीको धारणा रहेको छ ।
सुख ग्राहृय र दुःख त्याज्य तत्त्व हुन् । दुःखको निवारण र सुखको प्राप्तिलाई उपन्यासकार बीपीले सामान्य रूपमा लिएका छन् । संसारमा जन्मनु नै दुःख हो त्यसैले जन्म मृत्युको क्रमलाई तोडेर सधैं सुख हुने निवृत्ति मार्गलाई रोज्नुपर्छ भन्ने दार्शनिक धारणामा सत्यता रहे पनि दुःख र सुख जीवनका चक्र हुन् । जीवनको क्रमलाई नै चुँडालेर सुख खोज्ने योगी वृत्ति सांसारिकहरूलाई सम्भव कुरा होइन । दुःखलाई अध्यात्मले भनेजस्तै त्याज्य मान्न सकिन्छ । दुःखनिवारणका प्रयत्नहरू गर्नुपर्छ । दुःखका कारक तत्वहरूको न्यूनीकरणको प्रयत्न पनि गर्नु पर्छ तर के दुःखलाई सर्वथा त्याग्ने भनी गरिएको आध्यात्मिक प्रयत्नले संसारको नियमलाई परिवर्तन गर्न सक्छ ?
सक्दैन भने दुःखको बन्धन र स्वाभाविक वृत्तिलाई अँगालेरै यसलाई कम गर्दै लैजाने र सुखानुभूति गर्ने मत्र्य यथार्थवाट टाढा रहन मिल्दैन भन्ने बीपीले जीवनभर आफूले पनि सर्वजनहिताय, सर्वजनसुखाय आपूmलाई दुःखमै होमिरहेको पाइन्छ । दुःख र सुखको क्रममा हात लाग्ने परिणामलाई स्वीकार गरेरै जीवन चलाउनुमा नै आनन्द छ । जीवनलाई उछिनेर कहाँ जीवनले सुखानुभूति गर्न पाउँछ र भन्ने बीपीको सुखदुःखप्रतिको धारणा हो ।
बीपीको कर्मयोग र मानव धर्मले मानव जातिका असल कर्म र ती कर्मलाई कर्तव्य सम्झिने मानव धर्म नै श्रेष्ठ हो । कलियुगमा सत्य, त्रेता वा द्वापर युगीन दृष्टान्त दिएर मानिसलाई क्षति हुने कर्म र मानवता खण्डित हुने मानव धर्मका विषयमा गरिएको गीतोपदेशलाई समय सान्दर्भिक तुल्याउनुपर्छ भन्ने मान्यतासहित पौरस्त्य दर्शनका विचारमा आफ्ना अनुभूतिका व्यावहारिक सत्यहरूलाई सम्मिश्रण गरेर सबैले मानेजस्तो समर्थक नभएरै बीपीपौरस्त्य दर्शनका अनुयायी पनि बनेका छन् ।
मानव कर्म र मानव धर्ममा बीपीलाई पूर्ण विश्वास थियो । मानिसको जीवन कर्मको पर्याय हो । जस्तै परिस्थितिमा पनि कर्म गरिरहनुपर्छ भन्ने बीपीले व्यक्तिगत जीवनमा क्यान्सरले प्रहार गरिरहेको अवस्थामा पनि विचलित र निराश नभएर जति जीवन बाँकी छ त्यसको सदुपयोग गरेर जानुपर्छ भन्ने ध्येयले निरन्तर आफूलाई कर्ममा प्रेरित गरिरहेको पाइन्छ भने आफ्ना उपन्यासहरूमा पनि पात्रहरूलाई सोही ढंगले परिचालित गरिरहेको पाइन्छ । यहाँ विचारणीय कुरा के छ भने बीपीले आफ्ना उपन्यासहरू लेख्नुपूर्व पौरस्त्य आध्यात्मिक दर्शनहरू, उपनिषद्, श्रीमद्भगवद्गीता, रामायण र महाभारतजस्ता ग्रन्थहरूको अध्ययन गर्दा विशेषतः ईश्वर, आत्मा र नियति (प्रारब्ध) आदिका सम्बन्धमा उठेका प्रश्नहरूले प्रेरित भएर सुम्निमा, मोदिआइन र हिटलर र यहुदी उपन्यासहरू लेख्दा कर्मयोगसम्बन्धी भगवद्गीताको सन्देशका विषयमा बढी नै अभिरूचि राखेर विचार व्यक्त गरेका छन् ।
कर्म अनिवार्य छ र कर्ममा निष्ठा र त्यागको भावना पनि अनिवार्य छ । यसैलाई कर्ममा योगी भावना पनि भन्न सकिन्छ तर कर्म गर फलको अपेक्षा नगर भनेर श्रीकृष्णले अर्जुनलाई निष्काम कर्ममा प्रेरित हुन भनी दिएको उपदेशकै पछाडिबाट त्यत्रो नरसंहार भयो अनि श्रीकृष्णले त्यसलाई मानव कर्मको अंग र कर्तव्य कर्मको अनिवार्यताको परिणामसँग जोडेर प्रारब्धको जुन भयावह अवस्थाको दृश्य देखाए के ती पनि मानव कर्म र कर्तव्य कर्म नै हुन् त ? भन्ने गम्भीर प्रश्न कोइरालामा उब्जेको पाइन्छ । त्यही कर्म गर जुन तिमीलाई निर्देश गरिएको छ भनेर आपूm उहिले नै कर्ता बनेर मानव जातिको भाग्य लेखेको र अहिले तिमी (अर्जुन) निमित्त भएर कौरवका पक्षका सबै सेनालाई मारेर कर्तव्य पूरा गर भन्दा उठेका तमाम प्रश्नहरूले बीपीलाई भगवद्गीताप्रति असहमति जनाउने आँट पैदा भयो र मोदिआइनमा कौरव सेना र हिटलर र यहुदीमा यहुदीहरूका पक्षपाती बनायो ।
तर, यहीँनेर बीपी असजिलोमा परेको कुरा के हो भने बीपीले नियतिलाई मानिसको प्रयत्नभन्दा माथिको तत्व माने । नियति भनेको भगवद्गीताको आशयमा प्रारब्ध कर्म हो । मानिसले अघिल्लो अघिल्लो जन्ममा गरेका कर्मको परिणाम जुन मानिसले भोग्नै पर्ने हुन्छ ।श्रीकृष्णका अनुसारका प्रारब्ध पीडित कौरव र यहुदीहरू हुन् । यहाँ समूहमा आएका धेरै हुनाले हाम्रो सम्बेदना पनि बलियो बनेर आएको मात्र हो अन्यथा बीपी व्यक्तिका जीवनमा नियतिलाई मानिसको सामथ्र्यभन्दा माथि राखेकै थिए । स्वैच्छिक निर्णयकी धनी इन्द्रमायाले आफ्ना जीवनका निर्णयलाई अपरिहार्य नियतिको शक्ति (पृ.३) भनेर मान्नु, उसले निर्णय लिएको भनेको नियतिले कोरेको बाटोमा हिँडेको हो (पृ.२५) भनेर सोच्नु प्रारब्धकै पक्षमा बोलिएका अभिव्यक्ति हुन् ।
यस्तै अभिव्यक्ति नरेन्द्र दाइकी आमाले म पात्र र सान्नानीलाई पूर्वजन्ममा नअघाएर यस जन्ममा पनि सँगसँगै हुन पुगेका (पृ.१८) ठान्नु, नरेन्द्र आपूmबाट टाढिनुलाई सबै पूर्वजन्मको भोग हो (पृ.१८) भनेर मान्नु, गौरीले आफूले नगरेको पापको परिणाम भोग्न पर्नुको बाध्यतालाई नियतिको दोष ठान्नु (पृ.३३) म पात्रले आफूले खाँदै नखाएको विष लागेर छट्पटिने नरेन्द्र, गौरी र मुनरियाको जीवनमा कोही पनि दोषी नहुँदा नहुँदै पनि दण्ड बेहोर्न बाध्य हुनु (पृ.५०)लाई नियतिकै दुश्चक्र मान्ने प्रसंगमा कोइरालाले नियतिलाई मानेकै छन् ।
त्यतिमात्र होइन बाबु, आमा र छोराकी उमाको विवाहमा नियति भीषणताको रूपमा उपस्थित भयो (पृ.८३) भन्ने उमाको भनाइ ‘नियतिको अवज्ञा म गर्दिन । म अपरिहार्यतासँग सहयोग गर्छु’ (पृ.८३) भन्ने उमाको भनाइ आदिमा कोइरालाले नियतिलाई प्रारब्धकै रूपमा व्याख्या गरेर स्विकार गरिसकेका थिए । इत्यादि कारणले उपन्यासकार बीपी कुरुक्षेत्रको मानव संहार र निर्दोष यहुदीको मृत्युमा द्रवित भएका छन् र गीतादर्शनको आडमा भएको नरसंहार भनेर असन्तोष गरेका छन् तर नियतिबाट छुट्कारा नमिल्ने मानव अवस्थाबाट पनि उत्तिकै परिचित छन् ।
तापनि बीपीको कर्मयोग र मानव धर्मले मानव जातिका असल कर्म र ती कर्मलाई कर्तव्य सम्झिने मानव धर्म नै श्रेष्ठ हो । कलियुगमा सत्य, त्रेता वा द्वापर युगीन दृष्टान्त दिएर मानिसलाई क्षति हुने कर्म र मानवता खण्डित हुने मानव धर्मका विषयमा गरिएको गीतोपदेशलाई समय सान्दर्भिक तुल्याउनुपर्छ भन्ने मान्यतासहित पौरस्त्य दर्शनका विचारमा आफ्ना अनुभूतिका व्यावहारिक सत्यहरूलाई सम्मिश्रण गरेर सबैले मानेजस्तो समर्थक नभएरै बीपीपौरस्त्य दर्शनका अनुयायी पनि बनेका छन् । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच