पाल्पा । पछिल्लो समय तिज गीतमा मौलिकता हराउँदै गएका बेला पाल्पाका केही महिलाहरु भने त्यसलाई जोगाउन लागि परेका छन् । भाइरल हुने लोभमा केही अश्लील शब्दसहितका गीत गाउने र नाँच्ने प्रचलन बढ्दै गएको अवस्थामा जिल्लाको सदरमुकाम तानसेनका चेली (दिदीबहीनी)हरु भने मौलिक गीत र नाँच प्रदर्शन गरेर मौलिकता जोगाउन कस्सिएका हुन् ।
यहाँका चोक चोकमा महिलाहरु भेला भएर आफै तिजका बेदना गीतमार्फत गाउँदै नाँच्ने गरेका छन् । तानसेनस्थित कैलाशनगरमा माछापुच्छे्र टोलविकास संस्थामा आवद्ध चेलीहरु चोकमा भेला भएर आफै मादल बजाउने र दुखःपिडाका बेदनाहरु गीतमार्फत पोख्दै नाँच्ने गरेको पाइन्छ । कैलाशनगर र पाल्पाको ऐतिहासिक भगवती मन्दिर परिसरमा चेलीहरु जम्मा भएर छुट्टाछुट्टै मौलिक तिज गीतमा नृत्य गर्दै गरेका दृश्यहरुले धेरैको मन खिच्ने गरेको छ । चेलीहरुले ‘तिजमा आमा नहुने छोरीको वेदना’ र सासु बुहारीका विषयमा मनै रुवाउने बोलका तिजगीत गाएर नाचगान गरेका छन् । तिजका बेला उटपट्याङ र छाडा गीतको बाहुल्य बढ्दै गएको समयमा यहाँका चेलीले तिजको मौलिक भाका र गीत संरक्षणको राम्रो प्रयास गरेको कैलानगरका प्रदीप अधिकारीले बताउनुभयो ।
सबै चेली माइतीमा जम्मा भएर आफ्ना मनका पीरव्यथा पोख्ने पर्वकारूपमा मानिएको हरितालिका तिज पछिल्लो समयमा भने परिवर्तन हुँदै गएको छ । तिज कै गीतमार्फत सासु बुहारीका बिलौना पोखिन्थे । आफ्ना भोगाइ र पीडा गीतको मध्यमबाट प्रस्तुत हुन्थे । अहिले बजारमा तिजका नाममा अधिकांश मायाप्रीतिका गीत आउने गरेका कारण तिजको मौलिकता र संस्कृति ओझेलमा पर्दै गएकाले त्यसको संरक्षणमा टोलका दिदीबहिनीहरु भेला भई जुुटेको स्थानीय मालती पौड्यालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘तिज पर्वलाई सन्देशमूलक बनाउन जरुरी छ, यो पर्वमार्फत आपसी सद्भाव, एकता र लैङ्गिक समानताको सन्देश दिनु पर्छ भन्ने लागेर हामी टोलमा आफै गीत गाउने र नाच्ने गरेका छौं ।’
तानसेन भगवती टोलकी रेनुका न्यौपानेले विगतका दिनमा आफूले तिज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्नुहुन्छ, ‘म सानो छँदा गाउँघरमा दिदीबहिनी भेला भएर मादलको तालमा छमछमी नाचेर तिज मनाएको आज पनि झल्झली सम्झना छ ।’ विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उहाँको भनाइ छ । न्यौपाने सानो छँदा तिज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झदै भन्नुहुन्छ, ‘खै आजभोलि त हामीले मनाउने तिज, तिजजस्तै लाग्दैन, तिजमा उच्छृङ्खल, तडकभडक र देखासिकी धेरै छ ।’
कैलाशनगरकी मीना ज्ञवालीलाई पनि तिजका पुराना भाका असाध्यै मन पर्छ । ‘पहिले–पहिले चेलीबेटी जम्मा भएर आफना पीर, व्यथा, वेदना गीतको माध्यमबाट प्रस्तुत गथ्र्याँै, त्यसको छुट्टै मजा थियो तर अहिले कहाँ सुन्न पाउनु ? तिजको भाका गाउँदै भन्नुभयो, ‘हाम्रा बाबाले दिएको दाइजो थाल र कचौरा झालेमाले गाई, कहिलेकाहीँ म माइत आउँदा हाँसेर बोले है कान्छा मेरा भाइ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच