सर्लाही । सर्लाहीको हरिवन नगरपालिकालाई तत्काल बजेट ल्याउन नगरभित्र क्रियाशील राजनीतिक दलले दबाब दिएका छन् ।
हरिवनमा क्रियाशील प्रमुख ६ राजनीतिक दलको आज बसेको बैठकले हरिवनका जनताका विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न तुरुन्त आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउन माग गरेको हो ।
बैठकपछि राजनीतिक दलले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा हरिवन नगरको नगरसभा सम्पन्न भएको लामो समय बितिसक्दा पनि चालू आर्थिक वर्षको बजेट नआएको प्रति सबै दलको ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेसका नगर सभापति रामशरण उप्रेती, नेकपा एमालेका नगर अध्यक्ष सीताराम पोखरेल, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष अर्जुन पन्त, नेकपा एकीकृत समाजवादी पार्टीका नगर इन्चार्ज भरतकुमार कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष विनय न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश कमिटी सदस्य दीपेन्द्र प्रसाद मैनली र जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष सन्तोष भुजेलले हस्ताक्षर गर्नुभएको छ ।
नयाँ आर्थिक वर्ष प्रारम्भ भएको दुुई महिना भइसक्दा समेत नगरपालिकाले बजेट ल्याउन नसकेपछि नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष पन्तको अध्यक्षतामा हरिवन नगरभित्र क्रियाशील ६ राजनीतिक दलको बैठक बसेर नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् । हरिवनमा मेयर रमेश बुढाथोकी (कमल) र वडाध्यक्षबिच बजेट बाँडफाँडका विषयमा कुरा मिल्न नसक्दा बजेट पारित हुन सकेको छैन् । यहाँ माओवादी केन्द्रबाट निर्वाचित मेयर बुढाथोकी नगरभित्र माओवादी पार्टीको तर्फबाट एक्लो जनप्रतिनिधि हुनुहुन्छ ।
माओवादीबाट निर्वाचित मेयर बुढाथोकी र अन्य पार्टीका वडाध्यक्षबिच सुरुदेखि नै मतभिन्नता रहँदै आएको छ ।