हिरापाटा लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्याङ्जाको पुतलीबजार १३ अन्तर्गत रहेको हिरापाटा लिफ्टिङ खानेपानी आयोजनाको संघीय सांसद् राजु थापाले उद्घाटन गर्नुभएको छ ।

एक कार्यक्रमका बीच आयोजना गरिएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पहिल्यै सम्पन्न भई कार्यन्वयनमा आउनुपर्ने आयोजना ढिलै भए आफ्नैै पहलमा निर्माण सम्पन्न भएर उपभोक्ता माझ खानेपानी वितरण गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।

तीजको अवसरमा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्दै उहाँले नेपालको संविधान नै नारीमैत्री संविधान भएको स्मरण गराउँदै राज्यको मूलधारमा नारीहरु समेत पुगिरहेको उल्लेख गर्नुभयो। ५१ प्रतिशत जनसंख्या रहेको नारीको प्रतिनिधित्व राज्यमा जम्मा ३३ प्रतिशत पनि हुन नसकेको बताउँदै उहाँले महिलाहरूलाई चुल्हो, चौको, घरभित्रका कामबाट बाहिर आउन समेत अनुरोध गर्नुभयो । घरभित्रै समेत नारीहरु हिंसामा परेको कुराले आफूलाई बेलाबेलामा दु:खी बनाउने गरेको बताउँदै नारी जागरण, सशक्तीकरणमा हरपल आफूले साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

डिभिजन खानेपानी कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले आयोजना सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उक्त आयोजनाको जम्मा लागत रकम ३ करोड ४९ लाख हो । जसमध्ये संघीय सरकारले ३ करोड र ४९ लाख स्थानीयले बेहोर्ने गरी काम सुरु गरिएको थियो I १६५ घरधुरी लाभान्वित हुने तथा एक घर एक धारा जडान हुने गरी सर्वे गरिएको उक्त आयोजनाको आर्थिक वर्ष २०७९/८० मा निर्माण सम्पन्न भई १६० घरधुरीलाई खानेपानीको सुविधा प्रदान गरिरहेको छ।

पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाको सिमाना ठाडाखेत स्थित दरौंखोला नदीबाट पानीलाई लिफ्टिङ गरी हिरापाटा स्थित ट्यांकीमा पुर्याएर प्रशोधन गरी वितरण गर्ने भौतिक संरचना सहित उक्त आयोजना निर्माण भएको हो I हाल यस आयोजनामा आरसीसी पम्प वेल (इनार) १ वटा, एउटा पम्प हाउस, प्लान्ट सेनिमेटेसन १ वटा, शुद्धीकरण फिल्टर १ वटा, ७५ घनमिटरको पानी ट्यांकी तथा लाम्पाटामा खानेपानी वितरण गर्ने प्रयोजनका लागि २५ घनमिटरको वितरण ट्यांकी तथा एक चौकीदार घर समेत निर्माण भएको छ I

कम्ल, रिटेनिङ वालसहितको ट्यांकी, जीआई पाइपलाइनसहितको वितरण लाइन तथा विद्युतीकरण सहितको सुविधा उपलब्ध रहेको उक्त खानेपानी आयोजनाबाट हाल १६० घरधुरीले खानेपानीको सेवा लिईरहेका छन् I

Leave a Reply

Your email address will not be published. Required fields are marked *