एडिनबर्घ । अस्ट्रेलियाले दोस्रो टी-२० मा स्कटल्याण्डमाथि शानदार जित निकालेको छ । विकेटकिपर जोस इंग्लिसको कीर्तिमानी शतकको मद्दतमा अस्ट्रेलियाले दोस्रो टी-२० मा ७० रनको जित हात पारेको हो । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले जितेको थियो । जितसँगै अस्ट्रेलियाले एक खेलअगावै सिरिज २-० ले जितेको छ । अस्ट्रेलियाले दिएको १९७ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १६.४ ओभरमा अल आउट हुँदै १२६ रनमात्र बनाउन सक्यो ।
टोलीका लागि ब्रेन्डन म्याकमुलनले ४२ बलमा ४ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५९ रन जोड्नुभयो । ओपनर जर्ज मुन्सेले ९ बलमा १९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनसले चार, क्यामरन ग्रिनले दुई तथा सन एबोट, जेभियर बार्टलेट, एडम जाम्पा र आरोन हार्डीले समान एक विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९६ रन जोडेको थियो ।
अस्ट्रेलियाका लागि विकेटकिपर इंग्लिसले सर्वाधिक १०३ रनको शतकीय इनिङ खेल्नुभयो । उहाँले ४९ बलमा ७ चौका र ७ छक्का प्रहार गर्नुभयो । उहाँले अस्ट्रेलियाका लागि टी ट्वान्टी आईमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान पनि बनाउनुभयो ।
इंग्लिसले ४३ बलमा शतक पूरा गर्दै यो कीर्तिमान आफ्नो नाम गर्नुभयो । यसअघि यो कीर्तिमान आरोन फिन्च, ग्लेन म्याक्सवेल र इंग्लिसको नाममा रहेको थियो । फिन्चले २०१३ मा इंग्ल्याण्डसँग तथा म्याक्सवेल र इंग्लिसले गत वर्ष भारतविरुद्ध समान ४७ बलमा शतक पूरा गर्नुभएको थियो । क्यामरन ग्रिनले २९ बलमा ३६, मार्कस स्टोइनेसले नट आउट २० तथा टिम डेबिडले नट आउट १७ रन जोड्नुभयो । स्कटल्याण्डका लागि ब्राड करीले ३ तथा क्रिस सोलले १ विकेट लिनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच