क्लीवल्याण्डमा संस्कृति, एकता र संगीतको उत्सव

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अमेरिका नेवार समाजले दोस्रो पटक भेटघाट-२०२४ कार्यक्रम ओहायोको क्लीवल्याण्डमा गणेश प्रधानको सभापतित्वमा सम्पन्न गरेको छ । कार्यक्रममा रेडियो नेपालका वरिष्ठ बाँसुरी वादक सुशील विश्वकर्मा र अन्य सहयोगीहरूले मौलिक नेवारी बाँसुरीको धुनबाट र समाजसेवी तथा कार्यक्रम आयोजक भूपति प्रधानले स्वागत मन्तव्यमा एक पुस्तादेखि नयाँ पुस्तासम्म यस कार्यलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेवारी संस्कृतिको धिमी नृत्यका साथै अमेरिकाका विभिन्न राज्य र क्यानडाबाट पनि युवाहरूले अभिनय, गायन, र नृत्य प्रस्तुत गरेका थिए । नेवार समाज ग्रेटर क्लीवल्याण्डले ६५ वर्षभन्दा माथिका सत्तरीजना ज्येष्ठ नागरिकलाई सम्मान गरेर नेवारी समुदायका नयाँ पुस्तालाई प्रोत्साहित गरेको थियो । कार्यक्रममा अमेरिका, क्यानडा, र न्युजिल्याण्डका नेवार समुदायको व्यक्तित्वहरूको उपस्थिति थियो । बालबालिकादेखि ज्येष्ठ नागरिकहरूले नेवारी पोशाकमा आएर कला, साहित्य, र सांस्कृतिक पहिचान देखाएका थिए, जसप्रति प्रचारप्रसार संयोजक कमल प्रधानले खुशी व्यक्त गर्नुभयो ।

नेवार समुदायको नेतृत्व गर्दै आउनुभएका किशोर प्रधानले सबैलाई धन्यवाद दिँदै ‘नेवार जातिहरूको एकतामा बल छ, र यसलाई निरन्तर अघि बढाउन युवाहरूको महत्वपूर्ण भूमिका रहनुपर्ने’ भन्दै नयाँ समितिका लागि स्वेच्छाले सहभागिता दिन आग्रह गर्नुभएको थियो । यसैक्रममा सात केन्द्रीय समितिलाई आयोजकले कदरपत्रबाट सम्मान गरेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै अर्जुन प्रधानले नेवार जातिहरूको विकाश र भाषा, साहित्य प्रतिको अभियास सम्बन्धि कार्य–पत्र पेश गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यमा निरन्तर योगदान पुर्‍याएकोमा साहित्यकार लीला निशा प्रधान (सुब्बा), नर प्रधानद्वरा निर्देशित नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’मार्फत चलचित्रमा डेब्यु गर्नुभएकी आयुषा समाल, र नेपाली चलचित्रकी सफल नायिका मेलिना मान्धरलाई सम्मान गरिएको थियो । त्यस्तै, गीतसंगीतमा भक्त प्रधान, ललिता प्रधान र गायिका मिलन नेवारलाई र कला, साहित्य, र सांस्कृतिक पत्रकारिता तथा समाजसेवामा योगदान पु¥याएकोमा अर्जुन प्रधानलाई कदरपत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा नेवारीहरूमा साझा लक्ष्यहरू प्राप्त गर्न र चुनौतीहरू पार गर्नमा नेवारी युवाहरूको भूमिका र योगदानका विषयमा अंकित प्रधान, एन्जल प्रधान, मैसमी प्रधान, हिरण प्रधान, अकाश प्रधान, सन्तोश प्रधान, जेम्स प्रधानलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो । शिक्षा, कला, खेलकुदमा उत्कृष्ट स्थानमा रहेका युवालाई युवा संयोजक द्रौपदी प्रधान र लाल प्रधानका साथ विशेष अतिथिहरूले सम्मान गर्नुभएको थियो ।

नेवार समाज ग्रेटर क्लीवल्याण्डका सचिव भक्त प्रधान र कमल प्रधानले सहजीकरण गर्नुभएको कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति र गायिका मिलन नेवारलाई मञ्चमा सम्मान गरिनुका साथै उहाँले आफ्ना चर्चित गीत गाएर सबैलाई नचाउनुभएको थियो । मिलनले नेवारी पोशाकमा सजिएर मञ्चबाट आफ्नो अनुभव र युवाहरूलाई गीतसंगीतमा लाग्न प्रेरणा दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *