काठमाडौं । तीव्र उतारचढावबीच ग्रुजिएको सेयर बजार साताभर २२.२५ अंकले घटेको छ । गत सातादेखि घट्न थालेको सेयर बजार यस साता पाँच कारोबार दिनमध्ये तीन दिन घटेको थियो भने दुई दिनमात्रै बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार २७४९.५७ अंकमा बन्द भएको बजार यस साता २७२७.३६ अंकमा बन्द भएको छ । यस साता बजार २२.२५ अंकले घटेको छ । अघिल्लो साता २२४.८९ अंकले घटेको थियो ।
यस साता कुल ५९ अर्ब ७७ कारोड रुपैयाँ बराबरको कारोबार भएको छ भने अघिल्लो साता ६४ अर्ब ३६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । बजार र कारोबार पनि घटेकाले बजार पुँजीकरण ४३ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो साता बजार पुँजीकरण ४३ खर्ब ६६ अर्ब रुपैयाँ थियो । बजार घटेकाले बजार पुँजीकरण पनि ३० अर्ब रुपैयाँले घटेको छ ।
त्यसो त सेयर विश्लेषकहरू भने सेयर बजार घटेको नभई करेन्सन भएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताउँछन् । उनीहरूका अनुसार अघिल्लो साता २२५ अंकले घटेको बजारमा यस साता भने २२ अंकले मात्रै करेक्सन आएकाले आगामी साता बजारमा सुधार आउने सम्भावना छ । यस साता विकास बैंक, जीवन बिमा, निर्जीवन बिमा र लघुवित्त समूह बढेका छन् । समग्र बजार घट्दा पनि यस साता निर्जीवन बिमा समूह ५.०३ प्रतिशतले बढेको छ भने एनएलजी इन्स्योरेन्स शीर्ष १० कम्पनीमा परेको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार यस साता रकमका आधारमा उच्च कारोबार भएका कम्पनीमा गुडविल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, अपी पावरलगायत छन् । सेयर संख्याका आधारमा उच्च कारोबार भएका कम्पनीमा अपी पावर, अरुण भ्याली हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, माथिल्लो तामाकोशीलगायत छन् भने कारोबार संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, माथिल्लो तामाकोशी, निफ्रा, हिमाल दोलखा हाइड्रोपावरलगायत रहेका छन् ।