आठ महिनामा सात लाख पर्यटक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि अगस्टसम्म सात लाख २० हजार तीन सय ३४ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । अगस्टमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ । सो महिनामा मात्रै ७२ हजार सात सय १९ पर्यटक आएका छन् । सन् २०२३ को अगस्टको तुलनामा पाँच हजार पाँच सय ६६ बढी पर्यटक आएका हुन् । गत वर्ष कुल ६७ हजार एक सय ५३ जना पर्यटक आएकामा सन् २०२४ को अगस्टमा ७२ हजार सात सय १९ पर्यटक आएका बोर्डको तथ्यांक छ । छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य संख्यामा पर्यटक आउने विश्वास बोर्डले गरेको छ ।

बोर्डको तथ्यांकअनुसार अगस्टमा भारतबाट सबैभन्दा बढी २५ हजार आठ सय ३२, चीनबाट छ हजार छ सय १४, अमेरिकाबाट पाँच हजार छ सय १४, श्रीलंकाबाट चार हजार आठ सय ५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक आएका छन् । सन् २०२२ को अगस्टमा ४१ हजार तीन सय चार, सन् २०२१ को सोही अवधिमा छ हजार ९३ र सन् २०१९ को अगस्टमा ९४ हजार सात सय ४९ पर्यटक आएका थिए ।

मार्चमा सबैभन्दा बढी एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटक आएका छन् । अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् । कोरोना महामारीपछि पर्यटक आगमन निरन्तर बढिरहेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६-२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्यटकीय गन्तव्यको विकास, विस्तार तथा पहिचान, पदमार्ग निर्माण, पर्यटकीय उपजबारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार तथा प्रवद्र्धनात्मक कार्यक्रम निरन्तर हुँदै आएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *