सुर्खेत । बर्सेनि बढ्दो सडक दुर्घटनाका कारण कर्णालीले ठूलो सक्रिय जनशक्ति गुमाउँदै गएको छ । सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा विभिन्न कामका लागि सवारी साधनमा आउजाउ गर्ने सक्रिय जनशक्ति नै सडक दुर्घटनामा पर्ने गरेका छन् । कर्णालीमा सडक दुर्घटनाले बर्सेनि सयौँ यात्रुको अकालमा मृत्यु मात्रै भएको छैन । प्रदेश र राज्यले नै सक्रिय जनशक्ति गुमाउँदै गएको छ । यहाँको कर्णाली राजमार्गमा मात्रै पछिल्लो नौवटा आर्थिक वर्षमा ९९१ जनाले ज्यान गुमाएका छन् ।
अकालमा ज्यान गुमाउनेहरूमा ७० प्रतिशत बढी व्यक्ति सक्रिय युवा जनशक्ति नै रहेको पाइन्छ । सो अवधिमा एक हजार ८२१ सवारी दुर्घटना हुँदा ९९१ जनाले अकालमा ज्यान गुमाएका हुन् । उक्त दुर्घटनामा एक हजार ५२७ जना सक्रिय जनशक्ति नै गम्भीर घाइते भई अंगभंग भएका छन् ।
यो तथ्यांक आर्थिक वर्ष २०७१/०७२ देखि २०७९/०८० सम्मको कर्णाली राजमार्गको मात्रै हो । तर, कर्णाली राजमार्ग सञ्चालनमा आएको १८ वर्ष पुगिसकेको छ । १८ वर्षको अवधिमा यो राजमार्ग र कर्णालीका अन्य सडकमा हजारौं सक्रिय जनशक्तिको दुर्घटनामा परी ज्यान गएको छ । हजारौँ घाइते व्यक्तिहरू पनि दुर्घटनाकै कारण अपांगता तथा अशक्त बनेका छन् । कर्णालीका कमजोर र कच्ची सडक नै यहाँका नागरिकको काल बन्न थालेका छन् । अन्य प्राकृतिक प्रकोपसँगै सडक दुर्घटनामा कर्णालीले ठूलो सक्रिय जनशक्ति गुमाउनु विडम्बना हो । तर, यसबारे तीन तहका सरकारको खासै ध्यान गएको छैन ।
कर्णाली राजमार्ग एउटा उदाहरण मात्रै भए पनि यहाँका दशवटै जिल्ला जोड्ने सडकको अवस्था निकै नाजुक छ । वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने कर्णालीका सडकमा यात्रा गर्दाको पीडा र बाध्यता भनिसाध्य छैन । जो यहाँका नागरिकले अप्ठ्यारोलाई पनि सहजै लिनुपर्ने बाध्यकारी पीडा छ ।
अकालमा जान्छ ज्यान
कर्णाली राजमार्गमा सुर्खेत-जुम्ला २३२ किमी दूरीमा हुने सडक दुर्घटनाले बर्सेनि सयौं यात्रुले अकालमा ज्यान गुमाउनुपरेको छ । कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतका अनुसार सवारी दुर्घटनाको तथ्यांक हेर्दा विगत एक दशक अवधिमा मात्रै कर्णालीले ठूलो जनशक्ति गुमाउनु परेको छ । तथ्यांकअनुसार आव २०७१÷७२ मा कर्णाली राजमार्गमा दुर्घटनामा परी १३९ जनाको मृत्युु भएको थियो । यस्तै, गम्भीर घाइते हुनेको संख्या १७२ रहेको छ । सवारी दुर्घटनामा परेको जम्मा संख्या १३९ रहेको थियो ।
त्यस्तै, आव २०७२/७३ मा ७६ वटा सवारी दुघर्टना हुँदा ६५ जना गम्भीर घाइते भए भने मृत्यु हुनेको संख्या ५६ जना रहेको छ । ०७३/०७४ मा १०१ वटा सवारी दुर्घटना भएकोमा ११७ जनाले ज्यान गुमाए भने १५३ जना गम्भीर घाइते भए । ०७४/०७५ कुल ८८ वटा सवारी दुर्घटनामा परी ९१ जनाको मृत्यु भएको थियो भने १२० जना गम्भीर घाइते भएका थिए । त्यस्तै, ०७५/०६७ मा १४६ वटा सवारी दुर्घटना हुँदा ११९ जनाको मृत्यु भयो । भने १५० जना गम्भीर घाइते भए ।
०७६÷०७७ मा कुल २३६ सवारी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९७ जना रहेको छ । उक्त वर्ष १३१ जना दुर्घटनामा परी गम्भीर घाइते भएको उल्लेख छ । ०७७/०७८ मा २९१ वटा सवारी दुर्घटनामा परेकोमा ९८ जनाको ज्यान गयो । १६९ जना गम्भीर घाइते भए । आव ०७८/०७९ मा सबैभन्दा धेरै ४०३ वटा सवारी दुघर्टनामा परेको उल्लेख छ । उक्त वर्ष १८० जनाको मृत्यु भएको थियो । ३६२ जना गम्भीर घाइते भएका थिए । ०७९/०८० मा ३४१ सवारी दुर्घटना हुँदा ९४ जनाले ज्यान गुमाएका थिए । उक्त वर्ष सवारी दुर्घटनामै परी २०५ जना गम्भीर घाइते भएका थिए ।
नागरिकदेखि सांसदसम्म आक्रोशित
कर्णाली राजमार्ग स्तरवृद्धिका लागि सरकारको ध्यान नजाँदा नागरिकदेखि प्रतिनिधिसभा सांसदसम्म आक्रोशित बनेका छन् । यही विषयलाई लिएर प्रतिनिधिसभा सांसदहरूले छलफलका लागि सदनमा जरुरी सार्वजनिक महत्वको प्रस्तावसमेत दर्ता गरेका छन् ।
सरकारले कर्णाली राजमार्गको अवस्था र नागरिकका पीडा नदेखेझँै गरी सरकार मौन बसेको भन्दै अन्य दलका सांसदहरूको समर्थनमा रास्वपाकी सांसद विनिता कठायतले गत बुधबार सदनमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको हो । कांग्रेस सांसद कान्तिका सेजुवाल, नेकपा एसका सांसद अम्मरबहादुर थापालगायत सांसद गणेश पराजुली, सोविता गौतम लगायतका १३ जना सांसदको समर्थनमा कठायतले प्रस्ताव दर्ता गर्नुभएको हो ।
प्रस्ताव दर्तापछि बोल्दै सांसद कठायतले भन्नुभयो, ‘कर्णाली राजमार्ग दुर्गम कर्णाली क्षेत्रलाई मध्यपश्चिम र नेपालको अन्य भूभागसँग जोड्ने एक मात्र प्राथमिक सडक हो । तर, हाल यस सडकको पनि अवस्था नाजुक भएका कारण त्यहाँका जनताले दैनिक रूपमा आवतजावत गर्दा जोखिम मोलेर गर्नुपर्ने अवस्था छ । यही अवस्था परिवर्तनका लागि सदनमा बृहत छलफलका लागि आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छु ।’
वि.स.२०६३ चैत ३० गतेका दिन कर्णाली राजमार्ग हुँदै सुर्खेतबाट पहिलोपटक जुम्लामा गाडी पुगेको थियो । यो राजमार्ग विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको हो । पश्चिम सुर्खेतबाट दैलेख र कालिकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्न २३२ किलोमिटर दूरी पार गर्नुपर्छ । कर्णाली क्षेत्रबाट नेपालको अन्य भूभागसँग जोड्ने एक मात्र प्राथमिक सडक हो ।
वर्षौंदेखि यातायातबाट विमुख कर्णालीका जनताले सडक सञ्चालनमा आएपछि गौरव महसुस गरेका थिए । तर, बर्सेनि हुने सडक दुर्घटनाले गर्दा त्रास र निराशा बढाएको छ । प्रत्येक वर्षको पहिरोले सडक अवरुद्ध गर्दै यस क्षेत्रलाई धेरै हदसम्म दुर्गम बनाएको छ । साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन् । राजमार्गलाई दुई लेनको बनाउन चट्टानी भाग छिचोल्न सकेमा जोखिम यात्रा र दुर्घटना कम हुने देखिन्छ । यस्तै, यस राजमार्गमा पहिरोको जोखिममा रहेका क्षेत्रहरूको व्यवस्थित पहिचान गर्ने प्रयास गरेमा सार्वजनिक यातायत सेवा सुरक्षित बनाउन सकिन्छ ।
टालटुलका लागि फाट्टफुट्ट बजेट आउने गरे पनि राजमार्ग स्तरोन्नतिका लागि आवश्यक बजेट आउन सकेको छैन । जसले गर्दा सवारी दुर्घटनाको जोखिम कायमै रहेको छ । सांसद कान्तिका सेजुवाललले भन्नुभयो, ‘राजमार्ग पुनःस्थापना मात्र नभई सडक कालोपत्रेका लागि सरकारले पर्याप्त बजेट छुट्याउनुपर्छ । राजमार्गको अवस्था सुधार्न राज्यको ध्यान जावोस् ।’ यो राजमार्गअन्तर्गत दैलेखको तल्लो डुंगेश्वरदेखि पालेतडासम्मको सडकखण्ड बेहाल अवस्थामा छ । पुरानो कालोपत्रे पूर्ण रूपमा उप्किएको छ भने ठाउँठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढाएको छ । कहिले सुख्खा त कहिले हिलो पहिरोले पटक-पटक सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौँ यात्रुहरू अलपत्र पर्ने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच