काठमाडौं । विशेष अदालतमा भ्रष्टाचार मुद्दा झेलिरहेका बागमती नगरपालिकाका मेयर भरत थापा मुद्दालाई प्रभावित गर्ने गरी नक्कली कागजपत्र बनाउन सक्रिय भएका छन् । मुद्दा दायर भएसँगै निलम्बनमा परेका मेयर थापा अहिले मुद्दा प्रभावित गर्ने गरी पुरानै मिति राखेर नयाँ कागजपत्र बनाउन सक्रिय भइरहेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध पहिलोपटक चैत २७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । थापाले पाँच करोड ३३ लाख बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी सहितको सो मुद्दा विशेष अदालतमा विचाराधीन छ । जेठ २९ मा माछा पोखरीमा करोडौँ अनियमितता गरेको भन्दै अख्तियारले थापाविरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो । बागमती नगरपालिकाका एक कर्मचारीका अनुसार गैरकानुनी सम्पत्ति आर्जनको मुद्दालाई प्रभावित बनाउन उनले नगरपालिकाकै माओवादी पार्टीका कार्यकर्ताहरूसँग लेनदेनको कागजपत्र बनाई जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गर्न लगाएको स्रोतको दाबी छ ।
कुनै वैध व्यवसाय नभएका सर्लाही बरहथवा वडा नं ९ का सुमन थापालाई आफूविरुद्ध साँवा ब्याज भराई पाऊँ भन्दै वैशाख २४ गते मुद्दा दायर गर्न लगाएको स्रोेतले बतायो । सो मुद्दा जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको इजलासमा पेसी परे पनि थापाले असार ३१, भदौ ५ र भदौ १६ मा पेसी स्थगित गराएका छन् । न्यायाधीश थापा इमानदार न्यायाधीशका रूपमा परिचित छन् । सो मुद्दामा अर्को पेसी भदौ २३ गते का लागि तोकिएको छ ।
त्यस्तै, थापाले कानुनअनुसार कोही कसैसँग लेनदेन गर्दा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने भए पनि गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अदालतलाई छल्न विभिन्न व्यक्तिसँग ऋण लिएको नक्कली तमसुक बनाइरहेका छन् । सामान्य आर्थिक अवस्था भएका बागमती नगरपालिका वडा नं १२ का झुलनाथ दाहाल लगायतसँग करोडौँको लेनदेनको कागजपत्र तयार गरिएको स्रोतको दाबी छ । त्यस्तै, जेठ २९ गते दायर भएको करिब ३० करोड बिगो माग गरिएकोे बागमती माछा पोखरीको अर्को मुद्दामा पनि मेयर थापा नक्कली प्रमाण बनाउन लागिपरेका छन् । काठमाडौंका विभिन्न स्थानमा बसेर केही इञ्जिनियरहरूको टिमले पुरानै मितिमा धमाधम नक्कली कागजपत्र बनाएको स्रोतको दाबी छ ।
थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको र पाँच करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको अख्तियारको अनुसन्धानबाट खुलेपछि थापाविरुद्ध विशेष अदालतमा दुईवटा मुद्दा विचाराधीन छन् ।
त्यस्तै, थापाले मेयर रहँदा नगरपालिकाको विकास निर्माणको कामहरू मध्ये करिब ८० प्रतिशत कार्यहरू उपभोक्ता समितिमार्फत आफ्नो व्यापारिक साझेदार रामकृष्ण केसी र भाई रामकुमार थापामार्फत गराएर करोडौँ रकम अनियमितता गरेको स्थानीय बताउँछन् ।
उसो त मेयर थापा लगायतले गलत कागजात तयार गरेको र नगर कार्यपालिकाबाट माछा पोखरीको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार नगरेको यसअघि नै आरोप लागेको थियो । नगरपालिकाले सागरनाथ वन परियोजना र नेपाल सरकारको स्वीकृतिबिना बागमतीको बहाव प्रयोग गरेर ताल निर्माण गरेको थियो । पहिलो पोखरीबाट १७ लाख ८८ हजार र दोस्रो पोखरीबाट २१ लाख ८४ हजार गरी कुल ३९ लाख ७३ हजार नदीजन्य पदार्थ उत्खनन गरेको अख्तियारको दाबी छ । त्यसमा अरू गणना गर्दा थप ७ लाख घनमिटर नदीजन्य पदार्थ नगरपालिकाले बिक्री गरेको भन्दै ३३ लाख ५९ हजार घनमिटर रोडाढुंगाको मात्रै हिसाब देखाएको अख्तियारको अनुसन्धानमा भेटिएको थियो । त्यसमा १३ लाख ४० हजार घनमिटर रोडाढुंगा नदेखिएको र त्यसले नगरपालिकामा हानि नोक्सानी पुगेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसबाट २६ करोड ८० लाख नोक्सान भएको र भ्याटसमेत जोड्दा त्यो रकम ३० करोड २९ लाख पुग्ने अख्तियारको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच