✍️ मनोहर कार्की
आदर्श र मूल्यको राजनीतिक मियोलाई आत्मसात गर्ने र त्यसलाई संस्कार तथा जीवन पद्धतिका रूपमा स्थापित गर्ने उच्चकोटिका नेतामा बीपी कोइरलाको अग्रस्थान रहेको छ । वैचारिक नेता, समाजवादी चिन्तक, समन्वयकारी नेताको उच्च पंक्तिमा सायद बीपीको नाम लिइन्छ । नेपाली कांग्रेसका आदर्श व्यक्तित्व बीपी कोइरालाको एक सय एघारौं जन्मजयन्ती आमकांग्रेसीजनले विशेष संस्मरण गर्ने अवसरका रूपमा लिँदै रहँदा, उहाँका विचार, आदर्श र मूल्यलाई केन्द्रमा राख्ने परम्पराले निरन्तरता पाउनुपर्दछ । निकै महत्वका साथ यो दिनलाई संस्मरणीय बनाउन विचारगोष्ठी, चिन्तन, अन्तक्र्रिया, वृक्षरोपणलगायत कार्यक्रमका साथ देशव्यापी रूपमा मनाइँदैछ ।
विसं २००७ सालको ऐतिहासिक प्रजातान्त्रिक आन्दोलनको सफलता दिल्ली सम्झौतामा टुंगिएपछि गठित आन्दोलनकारी शक्ति नेपाली कांग्रेस, राणाशाही पक्षीय तथा राजा त्रिभुवनका मान्छेहरू सम्मिलित त्रिपक्षीय सरकारको गठन र मुलुक सञ्चालन अघि बढ्यो । विसं २०१७ सालको शाही ‘कू’पश्चातको अत्यन्त विषम परिस्थितिजन्य अवस्था मुलुकमा सिर्जना भयो । राजनीतिक शून्यता र दलीय जीवन पद्धतिको तेजोबधको अवस्था सिर्जना भयो । दलमाथिको प्रतिबन्धका साथै बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत शीर्ष नेताको गिरफ्तारी निरंकुश सरकारले गर्यो ।
ऐतिहासिक जनमत संग्रहको परिणामलाई बीपीले उच्च राजनीतिक संस्कारका रूपमा लिई स्वीकार गर्नुभयो । नेपाली कांग्रेस तथा नेपालको तात्कालिक राजनीतिका उहापोह तथा प्रताडनासँगै प्रजातन्त्र र यसका मूल्यको दृढताका साथ रक्षाकवचको कठिन समयमा पनि निर्भीक र वैचारिक पैरवीका नायकका रूपमा बीपी कोइराला रहनुभयो ।
करिब आठ वर्षको जेलजीवनपश्चात बीपीलगायताका शीर्ष नेताहरू भारतमा निर्वासनमा जानुभयो । भारतमा निर्वासनकाल र २०३३ साल पुसमा राष्ट्रिय मेलमिलाप तथा एकताका नीति लिएर बीपी कोइरालालगायत नेकाका शीर्ष नेताहरूको नेपाल आगमन तत्पश्चातका राजनीतिक जटिल मोड लिँदै गयो । विसं २०३६ सालको विद्यार्थी आन्दोलनको उभारले ल्याएको ऐतिहासिक जनमत संग्रहको राजनीतिक घटनाक्रमलाई तात्कालिक नेपालको राजनीतिका विशेष घटनाक्रमका रूपमा राजनीतिका जानकार, राजनीतिका जिज्ञासु तथा सामान्य जनताले महत्वपूर्ण परिघटनाका रूपमा लिन्छन् ।
तिनै ऐतिहासिक क्रम र तिनका परिणामका मिहिन विश्लेषण गर्ने हो भने बीपीले नितान्त मूल्य र आदर्शको राजनीतिलाई केन्द्रमा राख्नुभयो । ऐतिहासिक जनमत संग्रहको परिणामलाई उहाँले उच्च राजनीतिक संस्कारका रूपमा लिई स्वीकार गर्नुभयो । नेपाली कांग्रेस तथा नेपालको तात्कालिक राजनीतिका उहापोह तथा प्रताडनासँगै प्रजातन्त्र र यसका मूल्यको दृढताका साथ रक्षाकवचको कठिन समयमा पनि निर्भीक र वैचारिक पैरवीका नायकका रूपमा बीपी कोइराला रहनुभयो । बीपीको लौकिक जीवनको अवसानपश्चातका समयमा पनि नेपाली कांग्रेसलाई नेतृत्वको शून्यता र पार्टी पंक्तिमा ऊर्जा दिने कार्य गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताले लिनुभयो । मूल्य र संस्कारको राजनीतिलाई बीपीले सधैं आत्मसात गर्नुभयो ।
तर, आजको समसामयिक राजनीतिमा कता कता मूल्य र राजनीतिक संस्कारको खडेरी पुर्ने सत्प्रयासका जिजीविषा बचाउने प्रयास जारी राख्नुछ । जसलाई निक्र्यौल गर्ने र छिचोल्न पथमा असल अभ्यासलाई केलाउनु र छिचोल्नु छ । बीपी कोइरालालाई नेपाली राजनीतिमा अग्रज समाजवादी चिन्तक तथा पथपर्दशकका रूपमा आमनेपाली तथा राजनीतिक बृत्तमा लिइन्छ । वास्तवमा बीपी विश्व समाजवादी आन्दोलनमा समेत अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो । विश्वको राजनीतिक इतिहासमा दोस्रो विश्वयुद्धपछिको चरम शीतयुद्धको समयमा विश्व अनुदार कम्युनिष्ट खेमा र खरो पुँजीवादी खेमामा ध्रुवीकरण भएको अवस्थामा यी दुवै परस्पर प्रतिस्पर्धी राजनीतिक र आर्थिक विचारधाराभन्दा नितान्त पृथक विचारधारा बोकेर उदाएको उदार समाजवादी चिन्तनको संस्थापन तथा विकासमा विश्वका अग्रज उदार समाजवादी विचारधाराको नेतृत्वकर्तामध्ये बीपी कोइराला पनि हुनुहुन्थ्यो । तसर्थ विचार र आस्थाको एक धरोहरका रूपमा बीपीलाई संस्मरण गरिन्छ ।
तात्कालिक राजनीतिक घटनाक्रमको विश्लेषण गरिएको खण्डमा विश्व कम्युनिष्ट खेमा र पुँजीवादी खेमामा ध्रुवीकरण भएको अवस्था थियो । पुँजीवादी प्रजातान्त्रिक खेमाको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरिआएको थियो भने साम्यवादी कम्युनिष्ट खेमाको नेतृत्व तात्कालिक साम्यवादी देश सोभियत संघले गरेको थियो । विश्व राजनीतिक परिवेश वैचारिक राजनीतिक ध्रुवीकरणको अवस्थाबाट गुज्रिरहेको थियो । परिणमतः कुनै पनि राष्ट्र-राज्यले आफ्नो राजनीतिक विचार, आर्थिक विकास तथा सामरिक सुरक्षाका नितान्त अलग रणनीति र वैदेशिक नीतिका मान्यता बोकेका विश्वव्यापी दुई खेमाका सदश्यका रूपमा अस्तित्व रक्षा, सामरिक सुरक्षा तथा आर्थिक विकास र रूपान्तरणका यावत कार्यका लागि प्रयत्न गर्नु स्वाभाविक आवश्यक थियो ।
असंलग्न आन्दोलन त्यसैको उभार थियो । तेस्रो विश्वका विकासोन्मुख तथा अल्पविकसित मुलुकका अस्तित्व, सामरिक सुरक्षा तथा विकाससँग सामिप्यता कायम गरी फरक शक्ति गुटका रूपमा असंलग्न आन्दोलन अस्तित्वमा आयो र यसको औचित्यतालाई बल दिने कार्यमा नेपालको आफ्नै योगदान रहृयो । साझेदारी, सहअस्तित्व र पञ्चशीलका सिद्धान्तमा अघि बढेको यो आन्दोलनको नेपालको हित प्रवर्धनमा बीपी कोइरालाको नेतृत्वको सरकारले थप उचाइ दिने कार्य गर्यो ।
यस्तो विषम तथा संवेदनशील राजनीतिक कालखण्डबाट गुज्रिरहेको अवस्थामा बीपी कोइरालाले माथिका प्रमुख राजनीतिक तथा वैचारिक गुटभन्दा विल्कुलै पृथक पहिचान, राजनीतिक आस्था र सिद्धान्तलाई आत्मसात् र अनुशरण गरेर चरम साम्यवादी कम्युनिष्ट वैचारिकधार र नितान्त खुला पुँजीवादी धारभन्दा पृथक विचार अंगीकार गरी उदार समाजवादी विचारधाराका मौलिक मूल्य र मान्यतालाई अवलम्बन गर्ने लोकतान्त्रिक समाजवादी विचारलाई अघि बढाउनुभयो । निम्नतम् तथा आधारभूत आवश्यकताबाट वञ्चित रहेका किसान तथा मजदुर वर्गको सामाजिक आर्थिक रूपान्तरणलाई पहिलो प्राथमिकता दिएर यस्ता वर्ग र पेशाका जनताको सर्वत्तोमुखी विकासलाई केन्द्रमा राखेर विकास र योजनालाई अघि बढाउने मान्यतालाई उजागर गर्ने दिशामा अघि बढ्ने प्रयासको थालनी गरियो ।
उदार समाजवादी नीतिका जगमा उभिएको आर्थिक विकास र सामाजिक रूपान्तरण कार्यक्रमलाई तात्कालिक बीपी कोइरालाको जनमुखी सरकारले प्राथमिकताका साथ लागू गर्ने कार्यको थालनी भयो । जननिर्वाचित बीपी कोइरालाको छोटो समयको सरकारले उहाँकै समाजवादी चिन्तन र नीति अनुसारको राज्य व्यवस्था सञ्चालनको कार्य तथा विकासका यावत् क्रियाकलापलाई अघि बढाउन सकेको थियो । जनताबीच बीपी कोइरालाका आर्थिक विकासका नीतिगत कार्यक्रम तथा त्यसैको जगमा उठेको सामाजिक, सांस्कृतिक परिवर्तनका कार्यहरूले मुलुकको विकासमा नयाँ बिहानीको सुरुवात गर्न सक्यो ।
आजको समसामयिक परिवेशमा पनि नेपालको आर्थिक विकास, सामाजिक परिवर्तन तथा राजनीतिक स्थायित्वका लागि बीपी कोइरालाले आजभन्दा पाँच दशकअघि प्रतिपादन गर्नुभएको लोकतान्त्रिक समाजवादी आर्थिक नीतिबाट अनुप्राणित भएकै छ र त्यो समाजवादी आर्थिक विकासको नीति आजको सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक छ ।
लोकतान्त्रिक समाजवादको सार वर्ग समन्वयको आधार, समाजवादी चिन्तक तथा दार्शनिक मान्यता हो । वर्गीय चरित्रको विश्लेषण गर्दा हितको प्रवर्धनका समचीनी आधार रहन्छन् । वर्ग समन्वय तथा उदार आर्थिक विकासका आयाम लोकतान्त्रिक समाजवादको आधारशीला हो । तेस्रो विश्व, अतिकम विकसित वा विकासशील मुलुक जुन नाम दिए पनि अबको मार्ग समन्वयकारी राजनीतिक विचारधारा र त्यसको मिहिन प्रयोग नै हो । समसामयिक सन्दर्भमा उदार समाजवादी राजनीतिक आर्थिक तथा यससँग जोडिएका पहलुले विश्वमञ्चमा जनमत सिर्जना र अनुमोदन पाइआएको छ ।
गरिबी, अशिक्षा तथा विकासका समग्र क्रियाकलापबाट विमुख जनताका सामाजिक आर्थिक रूपान्तरणका दिशामा लोकतान्त्रिक समाजवादी विचार निकै हदसम्म सफल भएको आभाष पाउन सकिन्छ । यस दिशामा नेपालको समूल आर्थिक राजनीतिक इतिहासको विश्लेषण गरिएको खण्डमा उदार समाजवादी विचारका नीति तथा कार्यक्रमले जनताको आर्थिक उत्थान, सामाजिक रूपान्तरण र विकासमा योगदान दिइआएको छ । जसलाई नजरअन्दाज र अवमूल्यन गर्नु समयलाई मिहिन विश्लेषण गर्न नसक्नु हो ।
बीपी कोइरालाले प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्दा उदार समाजवादी विकासको खाकालाई प्राथमिकता दिई कार्यान्यनमा ल्याउने सत्प्रयास गर्नुभयो । समाजवादी आर्थिक नीतिलाई वकालत गर्ने अग्रणी सरकार प्रमुखका रूपमा बीपी कोइराला नै रहनुभयो । आफू प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी प्रमुख भइसकेपछि उहाँको अध्यक्षतामा बसेको योजना आयोगको बैठकमा नेपाल किसान, मजदुरको देश भएकाले जबसम्म हाम्रा किसान र मजदुरको उत्थान र विकास गर्न सकिँदैन तबसम्म यो मुलुकको विकास तथा राजनीतिक परिवर्तनले मूर्तता पाउन सक्दैन भन्दै विकासका योजना बनाउँदा तिनै किसान र मजदुरलाई आत्मसात गरेर योजना बनाउन उहाँले निर्देश गर्नुभयो । बीपी कोइरालाले अघि सार्नुभएको वैचारिक मान्यता आजपर्यन्त पनि समय सान्दर्भिक छ ।
आजको समसामयिक परिवेशमा पनि नेपालको आर्थिक विकास, सामाजिक परिवर्तन तथा राजनीतिक स्थायित्वका लागि बीपी कोइरालाले आजभन्दा पाँच दशकअघि प्रतिपादन गर्नुभएको लोकतान्त्रिक समाजवादी आर्थिक नीतिबाट अनुप्राणित भएकै छ, त्यो समाजवादी आर्थिक विकासको नीति आजको सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक र महत्वको रहेको विश्लेषण गर्न सकिन्छ । नेपालको समृद्धि र विकासका लागि सबैभन्दा अचुक अस्त्र भनेकै गरिबी, असमानता तथा विकासका अवसरबाट वञ्चित निम्नतम् जीवनयापन गरिआएका नेपाली गाउँघर तथा पाखापहराहरूमा जीवन संघर्ष गरिआएका जनताको आर्थिक विकास तथा सामाजिक रूपान्तरण हो जसमा लोकतान्त्रिक सरकारले ध्यान दिनुपर्दछ । (कार्की मानवशास्त्री तथा अधिवक्ता हुनुहुन्छ ।)