सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या आरोपमा दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ।

गत बिहीबार बिहान ९ बजे गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा भेटिएकी महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

उनको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

एसपी अधिकारीका अनुसार मृतक सिराहा घर भई काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्दै आएकी राम दुलारी छिन्। उनको परिवार तथा आफन्त प्रहरीको सम्पर्कमा आइसकेका छैनन्।

घटनास्थलमा अनुसन्धान गर्दा श‌ंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको हो।

हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरालाई पक्राउ गरेको हो।

दुबै जनाले मृतक राम दुलारीलाई घटनास्थलसम्म लगेर उचाइबाट धकेलेर घाइते बनाएको एसपी अधिकारीले बताए।

मृतक दुलारीलाई दुबै जनाले पालैपालो ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका रामविनय र सन्तोषमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *