सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यले आज मेयर रमेश बुढाथोकी (कमल) लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
तत्काल कार्यपालिकाको बैठक बोलाएर बजेट ल्याउन माग गर्दै मेयर बुढाथोकीलाई दोस्रो पटक ध्यानाकर्षण पत्र बुझाइएको हरिवन २ का वडाध्यक्ष अर्जुन कुमार योन्जनले जानकारी दिए । वडाध्यक्षहरुले यसअघि गएको असार १९ गते नै समयमै बजेट ल्याउन माग गर्दै मेयर बुढाथोकीलाई पत्र बुझाएका थिए ।
वडाध्यक्ष र कार्यपालिका सदस्यले दोस्रो पटक बुझाएको ध्यानाकर्षण पत्रमा समयमै बजेट नआएको र हरिवनको समृद्धिसँग जोडिएका व्यवसायिक भवन, आन्तरिक राजस्व लगायतका विषय माथि व्यापक रुपमा बढ्दै गएको जनगुुनासो प्रति कार्यपालिकाका जनप्रतिनिधि संवेदनशील हुँदा हुँदै पनि कार्यपालिका बैठक नबोलाउने, ठोस निर्णय नदिने र दीर्घकालिन योजना बेगर नगरपालिकाको अन्य गतिविधि संचालन गर्ने लगायत मेयर बुढाथोकीको अकर्माण्यताको कारण नगरपालिका अनिर्णयको बन्दी बन्दै गएको भन्दै दुःख व्यक्त गरिएको छ ।
समयमै बजेट ल्याउन नसक्दा नगरपालिकाको कार्य सम्पादन मूल्यांकनमा नकारात्मक असर पर्ने, विकास निर्माणमा प्रभाव पर्ने, ज्येष्ठ नागरिकसहित सामाजिक सुरक्षा भक्ता समयमै नपाउने, तलबहरु रोकिने जस्ता समस्या पर्ने भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यले चिन्ता व्यक्त गरेका छन् । आफूहरु समयमा बजेट ल्याउन प्रयासरत् रहे पनि मेयर बुढाथोकीले नगर कार्यपालिकाको बैठक बोलाउन नै आलटाल गर्ने गरेको वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको आरोप छ ।
मेयरलाई बुुझाइएको ध्यानाकर्षण पत्रमा सात दिनभित्र समस्या समाधानका निम्ती निर्णायक भूूमिका खेल्न अनुुरोध गर्दै अन्यथा पहिलो चरणको संघर्षको कार्यक्रम अन्तर्गत मेयर, उपमेयरले चढ्ने गाडी नियन्त्रणमा लिई पालिकामा बुझाउने चेतावनी दिइएको छ । हरिवनका क्रियाशील ६ राजनीतिक दलले हिजो मात्रै बैठक बसेर तत्काल बजेट ल्याउन नगरपालिकासँग माग गरेका थिए ।
हरिवनमा गत वर्ष पनि दशैँको मुखमा अर्थात् असोजमा मात्रै बजेट पारित भएको थियो ।