काठमाडौं । योगेश्वर अमात्यको स्वरमा रहेको गीतको भिडियो ‘कुनै दिन’ सार्वजनिक भएको छ । शनिबार साँझ काठमाडौंको दरबारमार्गमा एक विशेष कार्यक्रमबीच अमात्यको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
फरक शैलीमा गरिएको कार्यक्रममा केही प्रतिष्ठित व्यक्तित्वहरू, केही मिडिया पर्सनालिटी तथा गीत र भिडियो टिमको मात्र उपस्थिति थियो । गीतको भिडियो अमात्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा उहाँको गीत पर्दामा देखाइएको थियो । जुन एकैदिनमा राम्रो टे«डिङमा गएको छ ।
योगेश्वरको यो गीत करिब १२ वर्षपछि सार्वजनिक भएको हो । यसबीचमा उहाँले कुनै गीत बजारमा ल्याउनुभएको थिएन । सरोज बास्तोलाले रचना गर्नुभएको यस गीतलाई सुरुवातमा विसं २०५१ सालमा यसका संगीतकार ओमविक्रम विष्टले आफ्नै आवाजमा रेकर्ड गर्नुभएको थियो । तर, विभिन्न कारणले गीतलाई त्यतिबेला सार्वजनिक गर्न सकिएको थिएन । हाल गीतलाई पुनः एरेन्ज गरी योगेश्वरले आफ्नो आवाजमा रेकर्ड गरेर भिडियोसहित प्रस्तुत गर्नुभएको हो ।
‘कुनै दिन’ गीतको भिडियोमा सुव्रत आचार्यको कन्सेप्ट र निर्देशन छ भने क्रिएटिभ निर्देशक जया शर्मा रहनुभएको छ । योगेश्वरसँग सुव्रतको यो पहिलो म्युजिक भिडियो हो । म्युजिक भिडियोमा कलाकारहरू प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकास लामिछानेले अभिनय गर्नुभएको छ ।
भिडियोमा आशिम रानाभाटको विशेष उपस्थिति छ । भिडियोको निर्माण व्यवस्थापन दीपेन्द्र गौतम ‘माइकल’ ले गर्नुभएको छ भने सहनिर्देशन साइव्रत आचार्यको छ । उत्सव दाहालले छायांकन गर्नुभएको भिडियोका सम्पादक तथा रंग संयोजक विकास दाहालले गर्नुभएको छ । मेकअप र हेयर डिजाइन सुप्रिया आरएल शाहको छ भने स्टाइलिस्टमा अशिम रानाभाट रहनुभएको छ । गीतको भिडियोको पोष्टर डिजाइन विजय बस्यालले तयार पार्नुभएको छ ।
गीतको संगीत संयोजन गोपाल रसाइलीले गर्नुभएको छ भने गीतको रेकर्डिङ र भिडियोको ब्याकग्राउण्ड स्कोर जेम्स प्रधानको छ । अडियो मिक्सिङ र मास्टरिङ दीपेश प्रधान (रक योगीज)द्वारा सम्पन्न भएको छ । रेकर्डिस्टको रूपमा बिजेन श्रेष्ठले योगदान दिनुभएको छ ।
अमात्यका यसअघि ‘जब सन्ध्या हुन्छ,’ ‘लैजा चरी,’ ‘सिन्धुली गढी,’ ‘म मरे पनि मेरो देश,’ ‘मलाई प्यारो लाग्छ’ जस्ता कालजयी गीतहरू लोकप्रिय छन् । अमात्यको यस नयाँ गीतले दर्शकहरूलाई पुनःउहाँप्रति आकर्षित गराउने विश्वास गरिएको छ ।